Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको दुई प्रतिवेदन विवाद कायमै, ओलीको निम्तो पौडेल र पोखरेलले अस्वीकार गरे

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदनलाई लिएर चर्किएको विवाद अझै समाधान हुन सकेको छैन। दुई प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिने जिम्मेवारी पाएका तीन नेतामध्ये उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो निम्तोसमेत अस्वीकार गरेका छन्।

अध्यक्ष ओलीले बुधबार कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’, महासचिव पोखरेल र उपाध्यक्ष पौडेललाई भक्तपुरको गुन्डुस्थित निवासमा बोलाएका थिए। प्रतिवेदनको भाषा र विषयवस्तुमा सहमति जुटाउने उद्देश्यले तीनै नेतालाई बोलाइएको बताइएको छ। तर बादल गुन्डु पुगे पनि पौडेल र पोखरेल भने गएनन्। उनीहरूले ओलीलाई आफूहरू गुन्डु नआउने र प्रतिवेदनमार्फत नै आफ्नो धारणा स्पष्ट गर्ने सन्देश पठाएको बताइएको छ।

दुई प्रतिवेदनलाई एकीकृत गरी अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी पाएका तीन नेताबीच नै सहमति नजुटिरहेका बेला ओलीले उनीहरूलाई भेटका लागि बोलाएका हुन्।

बल्थली बैठकमा पनि जुटेन सहमति

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल शनिबारदेखि सोमबारसम्म काभ्रेपलाञ्चोकको बल्थलीमा बसेको थियो। तीन दिनसम्म दुई छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भए पनि एउटै निष्कर्षमा पुग्न सकेन।

त्यसपछि कार्यदलले संयोजक बादल, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल सम्मिलित तीन सदस्यीय सम्पादन टोली गठन गरी दुवै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी दिएको थियो। कार्यदलको बैठक असोज १ गतेसम्मका लागि स्थगित गर्दै त्यतिन्जेल अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिइएको थियो। तर सम्पादन टोलीमा समेत सहमति जुट्न सकेको छैन।

पोखरेलको प्रतिवेदनमा नेतृत्व र कार्यकालको विषय

महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको बताइएको छ।

एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि पोखरेलको प्रतिवेदनमा रहेको बताइएको छ। त्यस्तै, विशेष महाधिवेशन बोलाउने प्रस्तावसमेत समेटिएको स्रोतको भनाइ छ। यी प्रस्तावले पार्टी नेतृत्व र आगामी संगठनात्मक संरचनासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले ओली पक्ष असन्तुष्ट रहेको नेताहरू बताउँछन्।

बादलको प्रतिवेदनमा फरक प्रस्ताव

कार्यदल संयोजक बादलले भने छुट्टै प्रतिवेदन तयार गरेका छन्। उनको प्रतिवेदनमा तत्काल अध्यक्ष ओलीको विकल्प खोज्न नहुने धारणा समेटिएको बताइएको छ।

७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था र विशेष महाधिवेशनलगायत विषयमा दुवै प्रतिवेदनका प्रस्ताव फरक भएपछि कार्यदलभित्र विवाद चर्किएको हो। कार्यदलका बहुमत सदस्य पोखरेलको प्रतिवेदनका पक्षमा रहेको दाबी गरिएको छ।

बल्थलीमा कार्यदलको बैठक चलिरहेका बेला अध्यक्ष ओलीले संयोजक बादललाई फोन गरी विशेष महाधिवेशन र प्रतिनिधि परिषद्को विषयमा सहमति नगर्न आग्रह गरेको स्रोतको दाबी छ।

च्यासलमा छलफलपछि गुन्डुको निम्तो

बुधबार दिउँसो एमाले केन्द्रीय कार्यालय च्यासलमा बादल, पौडेल र पोखरेलबीच दुई प्रतिवेदनलाई एकीकृत गर्ने विषयमा छलफल भएको थियो। तर सहमति नजुटेपछि ओलीले साँझ तीनै नेतालाई गुन्डु बोलाएका थिए।

बादल गुन्डु पुगे पनि पौडेल र पोखरेल नजानुले दुई प्रतिवेदनबीचको मतभेद सम्पादन टोलीमा समेत कायमै रहेको देखिएको छ।

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गत जेठ १० गते बसेको सचिवालय बैठकबाट गठन भएको हो। फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्दै वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा पार्टीलाई पुनर्गठन गर्ने कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको थियो।

कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ छन् भने महासचिव पोखरेल सदस्य–सचिव छन्। कार्यदलमा पोखरेलसहित १५ जना सदस्य छन्।

गत शुक्रबार च्यासलमा बसेको कार्यदल बैठकमा दुई छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएपछि मतभेद सतहमा आएको थियो। त्यसपछि बल्थलीमा तीन दिनसम्म छलफल भए पनि सहमति नजुटेपछि बादल, पौडेल र पोखरेललाई प्रतिवेदन एकीकृत गर्ने जिम्मेवारी दिइएको थियो। तर असोज १ गतेको बैठकअघि नै सम्पादन टोलीभित्र समेत सहमति जुट्न नसकेपछि एमालेको पुनर्गठनसम्बन्धी विवाद थप लम्बिएको छ।