Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टीभित्रै दबाबमा परेको चर्चा तीव्र बनेको छ। भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन पछि विकसित परिस्थितिले ओलीको राजनीतिक प्रभाव कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ।
भदौ २४ मा नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन ढलेसँगै ओली थप आलोचनाको केन्द्रमा पुगेका थिए। आन्दोलनका क्रममा दमन भएको आरोप लागेपछि तत्कालीन गृहमन्त्री सुधन गुरूङ मार्फत ओलीलाई गत चैत १४ गते पक्राउ गरिएको थियो। त्यसपछि उनी १३ दिन प्रहरी निगरानीमा रहेर चैत २६ मा हाजिरी जमानीमा रिहा भएका थिए।
स्वास्थ्य समस्याका कारण ओली लामो समय त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहे। पत्थरीको शल्यक्रियासमेत गराएका उनी अस्पतालबाट डिस्चार्ज भएपछि भक्तपुरको गुण्डु स्थित निवासमा आराम गरिरहेका छन्।
यसबीच पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको बताइन्छ। एमाले महासचिव शंकर पोखरेल ले ओलीलाई नेतृत्व हस्तान्तरणबारे संकेत गरेको चर्चा पनि बाहिरिएको छ। स्रोतका अनुसार पोखरेलले पार्टीलाई निकास दिनुपर्ने धारणा राखेपछि ओली असन्तुष्ट बनेका थिए।
पछिल्लो समय महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पार्टी पुनर्गठन र नयाँ नेतृत्वको आवश्यकता भन्ने धारणा नजिक देखिएका छन्। एमालेभित्र अब नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने आवाजसमेत बलियो हुँदै गएको बताइन्छ।
ओलीनिकट मानिएका केही नेतामात्र अहिले खुलेर उनको पक्षमा उभिएको विश्लेषण छ। सचिव महेश बस्नेत, उपाध्यक्ष रामबहादुर थापा बादल तथा उपमहासचिव लेखराज भट्ट बाहेक अधिकांश पदाधिकारी नेतृत्व परिवर्तनको पक्षमा देखिएको चर्चा छ।
उता सुदूरपश्चिम प्रदेश मा एमालेभित्र संसदीय दलको नेतृत्वलाई लिएर विवाद बढेको छ। वर्तमान दलका नेता राजेन्द्रसिंह रावल लाई हटाउने वा कायम राख्ने विषयमा पार्टी विभाजित देखिएको छ। यही विषय समाधान गर्न ओलीले गुण्डुस्थित निवासमा प्रदेशका सांसद र नेताहरूलाई बोलाएका थिए।
दलको नेताका लागि सन्तोष शर्मा थापा, चक्र मल्ल, वीरबहादुर थापा र धर्मराज पाठक आकांक्षी रहेको बताइएको छ। तर बुधबारको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि शुक्रबार पुनः शीर्ष नेताहरूको बैठक बोलाइएको छ।
बैठकमा गणेश ठगुन्ना, दामोदर भण्डारी र कृष्णप्रसाद जैसी लगायत सहभागी हुने जनाइएको छ। तर सुदूरपश्चिमका पूर्वअध्यक्ष कर्णबहादुर थापा लाई नबोलाइएको विषयले पार्टीभित्र थप असन्तुष्टि पैदा गरेको बताइन्छ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल