Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा थप चर्कियो नेतृत्व र पुनर्गठनको विवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहप्रदेश कोशी पुगेपछि पार्टीभित्रको नेतृत्व, पुनर्गठन र संगठनात्मक बहस थप पेचिलो बनेको छ। पार्टीमा पुनर्गठन तथा नेतृत्व परिवर्तनको माग उठिरहेका बेला ओलीले त्यस्ता आवाज उठाउने नेताहरूमाथि सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेपछि एमालेभित्र असन्तुष्टि बढेको हो।

निर्वाचनपछि पहिलोपटक कोशी पुगेका ओलीले शनिबार इलाममा पार्टी नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई ‘आवारा’को संज्ञा दिएका थिए। पार्टीभित्र बहस र पुनर्गठनको माग गरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले अनुशासनमा बस्न नसक्ने भए पार्टी छाड्न वा घरमै बस्नसमेत आग्रह गरे।

इलाममा ओलीले भने, ‘अहिले पार्टीमा अलिकति अनुशासनहीनता देखापरेको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर कोही हल्ला गरेका छन्। अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ?’

उनले सामाजिक सञ्जालमा पार्टीविरुद्ध जथाभावी लेख्ने तथा अध्यक्ष परिवर्तनको माग गर्दै हस्ताक्षर अभियान चलाउने प्रवृत्तिप्रति समेत आपत्ति जनाए।

‘पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन के–के छ, त्यही गरे हुन्छ। चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ,’ ओलीले भने।

नेताहरूले बैठक मागे

ओलीको अभिव्यक्तिप्रति एमालेकै नेताहरूले असन्तुष्टि जनाएका छन्। केन्द्रीय सदस्य नरेश रोकायाले सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गर्नुभन्दा सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाएर पार्टीभित्रका विषयमा छलफल गर्नुपर्ने बताए।

‘पार्टीको जिम्मेवार तहको नेतृत्वले जथाभावी बोलेर हिँड्नुभन्दा पार्टीको सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुन्छ,’ उनले भने, ‘त्यहीँबाट आवश्यक छलफल र बहस गरौँला।’

नेता सुहाङ नेम्बाङले पनि पार्टीभित्र उठेका विषयलाई बैठकमार्फत छलफलमा लैजानुपर्ने धारणा राखेका छन्। उपाध्यक्षद्वय पृथ्वी सुब्बा गुरुङ र रघुजी पन्तले समेत सचिवालय तथा केन्द्रीय कमिटी बैठक बोलाएर सबै विषयमा छलफल गर्नुपर्ने बताएका छन्।

एमाले महासचिव शंकर पोखरेलले समेत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कम्युनिस्ट नेतृत्वका सरकारबाट भएका कमजोरीको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

उनले नेपालमा कम्युनिस्ट आन्दोलनबाट हालसम्म ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बने पनि जनमत वामपन्थी शक्तिबाट टाढिँदै गएको विषयमा आत्मसमीक्षा आवश्यक रहेको बताए।

‘कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा नै सत्ताबाट अपदस्थ हुनुपर्ने र जनताबाट समेत बहिष्कृत हुनुपर्ने अवस्था आउनु सामान्य विषय होइन,’ पोखरेलले भने।

झापामा ओलीको बोली फेरियो

इलाममा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको मागलाई कडा रूपमा अस्वीकार गरेका ओलीले आइतबार झापामा भने पार्टीमा ‘पुनर्जागरण’ आवश्यक रहेको बताएका छन्।

‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौँ। नेतृत्व फेर्ने प्रक्रियालाई मात्रै पुनर्गठन भनिँदैन,’ उनले भने।

ओलीले जनसंगठन वा कुनै कमिटीको नेतृत्व परिवर्तन हुन सक्ने संकेत गर्दै त्यसलाई सिंगो पार्टीको पुनर्गठन भन्न नमिल्ने धारणा राखे।

यसले ओली पार्टी अध्यक्षबाट हट्ने पक्षमा नरहेको र पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तनको मागलाई सीमित संगठनात्मक फेरबदलमा मात्र सीमित गर्न खोजेको नेताहरूको बुझाइ छ।

प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेको आरोप

एमालेले निर्वाचनपछि पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। महासचिव शंकर पोखरेल कार्यदलका सदस्यसचिव थिए।

कार्यदलले सातै प्रदेश, जनवर्गीय संगठनलगायत विभिन्न तहमा पुगेर सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदन कार्यदल संयोजक बादलले करिब एक साताअघि अध्यक्ष ओलीलाई बुझाइसकेका छन्।

तर प्रतिवेदनमा पार्टीलाई यथास्थितिमा सञ्चालन गर्न नसकिने र संगठनात्मक पुनर्गठन तथा नेतृत्वसम्बन्धी विषय उठाइएको भन्दै त्यसलाई कार्यान्वयन गर्न नेतृत्वले ढिलाइ गरेको आरोप नेताहरूले लगाएका छन्।

प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजान कार्यदलका सदस्य तथा पार्टीका विभिन्न तहका नेताहरूले महासचिव पोखरेल र संयोजक बादलमाथि दबाब बढाएका छन्।

आठ महिनादेखि केन्द्रीय कमिटी बैठक छैन

एमालेको केन्द्रीय कमिटी बैठक लामो समयदेखि बस्न सकेको छैन। कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय हुँदै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग नेताहरूले गरिरहेका छन्।

कर्ण थापा, नरेश रोकाया, आनन्द पोख्रेल, राजेन्द्र गौतम, ठाकुर गैरे र झपट रावललगायत नेताहरूले महासचिव पोखरेललाई भेटेर तत्काल कार्यदलको बैठक राखी प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिसकेका छन्।

त्यस्तै गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार र नबिना लामालगायत नेताहरूले समेत केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

नेताहरूले अध्यक्ष ओलीले सचिवालय वा केन्द्रीय कमिटी बैठक नबोलाई विभिन्न प्रदेशमा ‘जागरण अभियान’ सञ्चालन गर्नुले पार्टीभित्रको वास्तविक समस्या समाधान नहुने बताएका छन्।

एक सचिवालय सदस्यका अनुसार पार्टीका विभिन्न तहबाट सुझाव संकलन गरेर तयार पारिएको प्रतिवेदनलाई कार्यान्वयन नगरी अर्को अभियान सुरु गर्दा संगठनमा उत्साह आउन नसक्ने अवस्था छ।

दबाब अभियान जारी

पार्टी नेतृत्वले बैठक बोलाउन ढिलाइ गरेको भन्दै नेताहरूले दबाब अभियानलाई निरन्तरता दिने तयारी गरेका छन्। उनीहरूले कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने, त्यसपछि सचिवालय बैठक हुँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने रणनीति बनाएका छन्।

ओली नेतृत्वप्रति बढ्दो असन्तुष्टि र पार्टी पुनर्गठनको मागबीच अध्यक्ष ओली भने नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै संगठनमा ‘अनुशासन’ र ‘पुनर्जागरण’ आवश्यक रहेको बताइरहेका छन्।