Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा विद्याको नयाँ भूमिका : नेतृत्वमै छ नजर

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै अब उनको आगामी राजनीतिक भूमिकाबारे एमालेभित्र व्यापक चासो बढेको छ। सदस्यता पुनः प्राप्त गरेपछि भण्डारीलाई पार्टीमा कुन तहको जिम्मेवारी दिइन्छ र उनी सक्रिय राजनीतिमा कसरी प्रस्तुत हुन्छिन् भन्ने विषय अहिले एमाले वृत्तको मुख्य बहस बनेको छ।

कतिपय नेताहरूले भण्डारीलाई पार्टीको उच्च तहमा स्थान दिन सकिने अनुमान गरिरहेका छन्। तर हाल सचिवालयमा छलफलमा रहेको पदाधिकारीहरूको वरीयता सूचीमा उनको नाम समावेश गरिएको छैन। प्रस्तावित वरीयताअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि उपाध्यक्ष रामबहादुर थापा दोस्रो स्थानमा छन् भने विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त क्रमशः तेस्रोदेखि छैटौँ वरीयतामा रहेका छन्।

एमालेले झण्डै एक वर्षदेखि रोकिएको भण्डारीको सदस्यता जेठ ४ गते नवीकरण गर्ने निर्णय गरेको थियो। पार्टीभित्र अध्यक्ष ओलीमाथि दबाब बढिरहेका बेला उक्त निर्णय गरिएको भन्दै केही नेताहरूले त्यसलाई आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेरेका छन्।

पार्टीका सचिव भानुभक्त ढकालका अनुसार सदस्यता प्राप्त गरेपछि भण्डारी अब पार्टीका अन्य जिम्मेवारीका लागि पनि योग्य भइसकेकी छन्। यद्यपि उनलाई कुन जिम्मेवारी दिने, कहिले दिने र कुन प्रक्रियामार्फत दिने भन्ने विषयमा अझै निर्णय भइनसकेको उनले बताएका छन्। पार्टीको वैधानिक व्यवस्था र संगठनात्मक प्रक्रियालाई ध्यानमा राखेर मात्र अगाडि बढ्ने उनको भनाइ छ।

यद्यपि भण्डारी निकट स्रोतहरूका अनुसार उनको रुचि केवल औपचारिक भूमिकामा सीमित छैन। उनी पार्टी पुनर्गठनको बहससँग जोडिएर आवश्यक परे नेतृत्वको भूमिकामा समेत आउन तयार रहेको सन्देश दिइरहेकी छन्। स्रोतका अनुसार भण्डारीले आफूलाई नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गर्न सक्ने संकेत दिएकी छन्, तर दोस्रो तहको भूमिकामा सीमित रहने पक्षमा भने देखिएकी छैनन्।

भण्डारीले निकटस्थहरूसँग आवश्यक परे पार्टी र आन्दोलन जोगाउन नेतृत्व सम्हाल्न तयार रहेको बताएकी छन्। तर नेतृत्वको भूमिका भए अग्रपंक्तिमै रहेर काम गर्ने, अन्यथा साधारण सदस्यका रूपमा रहने उनको धारणा रहेको बताइन्छ।

यसबीच एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वलाई लिएर असन्तुष्टि पनि बढिरहेको छ। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर परिणाम भोगेपछि केही सचिवालय सदस्यहरूले नेतृत्व परिवर्तनको बहस उठाइरहेका छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरूको आगामी राजनीतिक कदमले पनि भण्डारीको भूमिकालाई प्रभावित पार्न सक्ने विश्लेषण भइरहेको छ।

अब बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न उठ्छ वा उठ्दैन भन्ने विषयले मात्रै होइन, विद्यादेवी भण्डारी एमालेभित्र कुन हैसियतमा अगाडि बढ्छिन् भन्ने प्रश्नले पनि विशेष महत्व पाएको छ। एमालेको आगामी शक्ति सन्तुलन र नेतृत्वको दिशाबारे संकेत दिने बैठकका रूपमा यसलाई हेरिएको छ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल