Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले असोज ५ देखि केन्द्रीय कमिटी बैठक बोलायो, कार्यदलको प्रतिवेदनमा छलफल हुने

काठमाडौं । नेकपा एमालेले असोज ५ देखि तीन दिनसम्म बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक असोज ५, ६ र ७ गते बस्ने तय भएको हो। बैठकस्थल भने अझै टुंगो लागिसकेको छैन।

बैठकका एजेन्डा सचिवालय बैठकबाट तय गरिने आचार्यले जानकारी दिए। उनका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन बैठकको प्रमुख विषयमध्ये एक हुनेछ।

वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलमा पार्टीको आगामी दिशाबारे फरक धारणा समेटिएका दुईवटा प्रतिवेदन पेस भएका छन्।

कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्तावसहित ६५ पृष्ठको प्रतिवेदन तयार पारेका छन्। त्यसको विपरीत धारणा राख्दै संयोजक बादलले ३९ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका छन्।

हालै बसेको कार्यदल बैठकमा दुवै प्रतिवेदन पेस भएपछि त्यसलाई एउटै प्रतिवेदन बनाउने सहमति भएको थियो। असोज १ गते बस्ने कार्यदलको बैठकमा संयुक्त प्रतिवेदन पेस गर्ने तयारी छ।

दुई प्रतिवेदनलाई एउटै बनाउने जिम्मेवारी संयोजक बादल, उपाध्यक्ष विष्णु पौडेल र सदस्यसचिव पोखरेललाई दिइएको छ। तीन नेताबीच बुधबार नै यस विषयमा छलफल हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ।

फरक धारणा समेटिएका दुई प्रतिवेदनलाई तीन नेताले कसरी एउटै दस्तावेजमा समेट्छन् भन्ने विषयलाई एमालेभित्र चासोका साथ हेरिएको छ। केन्द्रीय कमिटी बैठकमा संयुक्त प्रतिवेदन पेस भएपछि त्यसमा हुने छलफलले पार्टीभित्रको आगामी पुनर्गठन प्रक्रियाबारे थप दिशा तय गर्ने अपेक्षा गरिएको छ।