Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सुनसरीमा विद्रोह

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने केन्द्रको निर्णयविरुद्ध एमाले कार्यकर्ताले विद्रोह गरेका छन्। एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष केपी शर्मा ओलीले जसपालाई दिने निर्णय गरिसकेका छन्। ओलीको त्यही निर्णयअनुसार सुनसरी १ मा जसपा नेता राई उठ्ने भएका छन्। एमाले सुनसरीले १ नम्बर क्षेत्रका लागि निवर्तमान सांसद जयकुमार राईको नाम सिफारिस गरेको थियो। स्थानीय कमिटीको सिफारिसविपरीत सुनसरी १ जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरेका छन्। हाम्रो बलियो जनमत भएको ठाउँमा अर्कैलाई टिकट दिएपछि कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ, उनले भने, स्वतन्त्र उठ्न ममाथि दबाब परेको छ, आजै दिउँसोसम्म हामी उम्मेदवारी घोषणा गरेर मनोनयन तयारीमा जुटेका छौँ। स्थानीय कमिटीको सिफारिसमा परेर पनि टिकट खोसिएका सांसद राईले पनि जसपालाई सघाउने पार्टी केन्द्रको निर्णयमा रोष प्रकट गरेका छन्।
‘एमाले चुनावी तालमेलपछि प्रदेश १ का मोरङ ५ र सुनसरी १ जसपालाई दिने निर्णय गरिसकेको छ। त्यस्तै झापा ३ राप्रपालाई छाडेको छ। सुनसरी १ मा २०७४ को निर्वाचनमा एमालेका जय राई विजयी भएका थिए। त्यहाँ पराजित अशोक राई एमालेको साथ लिएर फेरि उठ्न लागेका हुन्।