Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एम्बाप्पेले खुलाए स्पेनसँग हार्नुको कारण

काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले स्पेनसँगको विश्वकप सेमिफाइनलमा २–० को हारपछि टोलीको प्रदर्शनप्रति गहिरो निराशा व्यक्त गरेका छन्।

उनले प्राविधिक, रणनीतिक तथा समग्र प्रदर्शनमा भएका कमजोरीका कारण फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने सपना अधुरै रहेको बताएका छन्।

मंगलबार डलासमा सम्पन्न सेमिफाइनलपछि फ्रान्सेली मिडिया एम–६ सँग कुरा गर्दै एम्बाप्पेले टोलीले योजना अनुसार खेल्न नसकेको स्वीकार गरे।
हामीले खेल्न चाहेको शैलीमा खेल्न सकेनौं। रणनीतिक रूपमा, प्राविधिक रूपमा र समग्र प्रदर्शनमा पनि हामी अपेक्षाअनुसार प्रस्तुत हुन सकेनौं, उनले भने।

उनले थपे, विश्वकपको सेमिफाइनलमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि जित सम्भव हुँदैन।

एम्बाप्पेले फ्रान्सको योजना स्पेनलाई सुरुदेखि नै माथिल्लो क्षेत्रमा दबाबमा राख्ने रहेको बताए। जसले स्पेनले आफ्नो परिचित शान्त र नियन्त्रणयुक्त खेल विकास गर्न नदिनु थियो।

हाम्रो लक्ष्य उनीहरूलाई माथिल्लो क्षेत्रमा नै दबाब दिनु थियो। किनभने खेल नियन्त्रण गर्ने मामिलामा स्पेन हामीभन्दा उत्कृष्ट टोली हो। तर हामी त्यो योजना कार्यान्वयन गर्न असफल भयौं, रियल मड्रिडका फरवार्ड एम्बाप्पेले भने।

प्रतियोगिताभर आठ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका २७ वर्षीय एम्बाप्पेले हारको प्रमुख कारण मिडफिल्डमा देखिएको कमजोरीलाई माने।

‘हामी बारम्बार मिडफिल्डमा ३ विरुद्ध २ को अवस्थामा परिरहेका थियौं। स्पेनजस्तो टोलीविरुद्ध यस्तो अवस्था निकै घातक हुन्छ। सबै पक्ष जोडेर हेर्दा हार स्वाभाविक बन्यो। यो हाम्रो लागि अत्यन्त ठूलो निराशा हो, उनले भने।

एम्बाप्पेले टोलीको लक्ष्य फाइनल पुगेर फ्रान्सलाई फेरि इतिहास रच्ने अवसर दिलाउने रहेको बताए। तर त्यो सपना अधुरै रहे पनि हारलाई सम्मानका साथ स्वीकार गर्नुपर्ने उनले बताए।

‘हाम्रो सपना फाइनल पुग्नु थियो, देशलाई फेरि सपना देखाउने र इतिहास बनाउने थियो। तर अहिले हामीले यो हारलाई सम्मानका साथ स्वीकार गर्नुपर्छ। जित्दा जस्तै हार्दा पनि शिर उच्च राख्नुपर्छ, उनले भने।

उनले अहिले टोली र आफू अत्यन्त निराश रहेको स्वीकार्दै भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो भएको बताए।

अहिले हामी सबै अत्यन्त निराश छौं। तर फुटबल कसैका लागि पनि रोकिँदैन। अब हामी केही समय विश्राम गर्छौं, त्यसपछि नयाँ सुरुआत गर्नेछौं। यो असफलतालाई पछाडि छोडेर त्यसबाट पाठ सिक्दै अझ बलियो भएर फर्किनुपर्छ, एम्बाप्पेले भने।