Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘ऐंचो पैंचो’ ट्रेलरमा राजनीतिक कथा

काठमाण्डौ । पछिल्लो समय राजनीतिक विषयवस्तुमा आधारित भएर चलचित्र निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलर राजनीतिलाई नै मियो बनाएर घुमेको छ । चुनावमा हुने रस्साकस्सी र युवाको राजनीतिमा उपस्थितिलाई चित्रण गरिएको छ ।
ट्रेलरको २ मिनेट १ सेकेन्डमा अभिनेत्री स्वस्तिमा खड्का भोट माग्न हात जोड्दै पर्जा बाँडिरहेकी छन् । यसले राजनीतिज्ञको रुपमा उनको चरित्र चित्रण गर्छ । ट्रेलरमा अन्तिममा उनको संवाद छ, ‘यसको पोलिटिकल करिअर त म यस्तो ध्वस्त बनाइदिन्छु नि ।’ यो संवादले स्वस्तिमा चुनावी मैदानमा उत्रिनुको कारण कसैसँगको प्रतिशोधको रुपमा बुझाउँछ । ट्रेलरमा कमेडीको चुस्की पनि छ ।
कृषा चौलागाईंद्वारा निर्देशित चलचित्रमा मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको पनि अभिनय छ । केपी फिल्मस्को ब्यानरमा बनेको चलचित्र निर्मातामा प्रितम लामिछाने र आध्या लामिछाने छन् । फिल्ममा अभिमन्यु निरवीको लेखन तथा पुरुषोत्तम प्रधानको छायांकन छ ।
कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोको कलर करेक्शन, सत्यम राणको भीएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन तथा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ । निर्देशक चौलागाईंले चलचित्र निर्माणबाट सिकेको अनुभवबाट एउटा स्तरीय चलचित्र बनाउने कोशिश गरेको जानकारी दिएकी छन् ।