Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताएका छन्।
निर्वाचनमा व्यहोरेको पराजयलाई गम्भीर धक्का का रूपमा चित्रण गर्दै उनले यसलाई अस्थायी असफलतामा सीमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने बताए ।
उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र बाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताए । उनले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिए ।
सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक गृहकार्य सुरु भइसकेको बताए ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रस्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उनको भनाइ छ ।
अहिले प्रश्न खडा भएको छ । जनताबाट अनुमोदित भएका नेता–कार्यकर्ताको पार्टीको प्रश्न, हामीले यसलाई थ्योराइज गरेका छौँ । तर अहिले हामीले यो निर्वाचनमा गम्भीर धक्का खाएका छौँ । यो समस्यालाई हामी कसरी सम्बोधन गर्छौँ त भन्ने प्रश्न पनि हाम्रा सामु उपस्थित भएको छ । प्रतिस्पर्धामा श्रेष्ठता आर्जन गर्ने नेता–कार्यकर्ताको पार्टीका रूपमा यस्ता विषयहरूलाई हामीले पार्टी निर्माणका सन्दर्भमा संस्थागत गरेका छौँ । म साथीहरूसँग के राख्न चाहन्छु भने, अहिले हामीले जुन प्रकारको धक्का र असफलता व्यहोरेका छौँ, यसलाई अस्थायी मान्दै हामी स्थायी सफलतामा परिणत गर्न चाहन्छौँ, उनले भने, त्यसैले हामीले निर्वाचनपछिको परिस्थितिलाई सदुपयोग गर्दै पार्टीका केही गम्भीर बैठकहरू राख्यौँ । यसबीचमा अध्यक्षकै अध्यक्षतामा बसेको सचिवालय बैठकले केही महत्त्वपूर्ण निष्कर्ष र प्रस्तावहरू अघि सारेको छ । यो निर्वाचनमा किन धक्का व्यहोर्नुपर्यो, त्यसको आन्तरिक, बाह्य र पार्टीभित्रका कारणहरूको हामी समग्र समीक्षा गर्नेछौँ । यसबाट हामी यथोचित शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ र हामी जसरी काम गर्दैछौँ, यही रूपमा अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले सांगठनिक जीवनलाई पुनर्गठन गर्ने निर्णय गरेका छौँ । सचिवालयले निर्वाचनको समीक्षा गर्ने र पुनर्गठनको ठोस प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।
२०८३ जेष्ठ २०
ताजा नेपाल
२०८३ जेष्ठ २०
ताजा नेपाल
२०८३ जेष्ठ २०
ताजा नेपाल