Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको छ। पार्टीका केही शीर्ष नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन कठिन हुने निष्कर्ष निकाल्दै संगठनात्मक पुनर्संरचनाको तयारी थालेका छन्।
पार्टीभित्रको एक धारले वडादेखि केन्द्रसम्मका सबै कमिटी विघटन गरी आयोजक समिति गठन गर्ने तथा विशेष वा अर्ली महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। यसका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोजक समितिको नेतृत्व दिने विषयमा समेत आन्तरिक छलफल भइरहेको बताइएको छ।
उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरू पार्टी पुनर्गठनको पक्षमा सक्रिय रहेको स्रोतहरूको दाबी छ। प्रदेशस्तरबाट प्राप्त सुझावहरूका आधारमा नेतृत्व परिवर्तनको माग बढ्दै गएको उनीहरूको भनाइ छ।
हाल एमालेले चुनावी समीक्षा र पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न १५ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले विभिन्न प्रदेशमा पुगेर पार्टी कार्यकर्ताको धारणा संकलन गरिरहेको छ। बागमती प्रदेशबाट प्राप्त सुझावमा अध्यक्ष ओलीको नेतृत्वमा पार्टीलाई अगाडि बढाउन कठिन हुने निष्कर्ष व्यक्त भएको बताइएको छ।
पुनर्गठन पक्षधर नेताहरूका अनुसार केन्द्रीय कमिटी बैठकमा पार्टी संरचना पुनर्गठनसम्बन्धी प्रस्ताव पेश गरिने तयारी छ। प्रस्तावअनुसार टोलदेखि केन्द्रसम्मका कमिटीलाई आयोजक समितिमा रूपान्तरण गरी नयाँ अधिवेशन र महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने योजना रहेको बताइएको छ।
यता अध्यक्ष ओली भने आफू निर्वाचित प्रक्रियाबाट नेतृत्वमा आएको भन्दै पद नछोड्ने अडानमा रहेका छन्। उनले पार्टी संकटमा परेका बेला नेतृत्व त्याग नगर्ने धारणा राख्दै आएका छन्।
महासचिव शंकर पोखरेलले पनि पार्टीलाई यथास्थितिमा एकताबद्ध राख्न कठिन रहेको उल्लेख गर्दै सुझाव संकलनपछि प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरिने बताएका छन्। उपाध्यक्ष रघुजी पन्तले समेत कार्यदलको प्रतिवेदनलाई महत्वपूर्ण दस्तावेजका रूपमा हेर्नुपर्ने बताएका छन्।
कार्यदलले असार २० गतेसम्म देशभरबाट सुझाव संकलन गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि केन्द्रीय कमिटी बैठकमार्फत पार्टीको आगामी संगठनात्मक दिशा तय हुने अपेक्षा गरिएको छ।
पुनर्गठन पक्षधर नेताहरूले विशेष वा अर्ली महाधिवेशनमार्फत नयाँ पुस्ताको नेतृत्व स्थापित गर्दै पार्टीलाई नयाँ कार्यक्रम, विचार र रणनीतिसहित जनतामाझ लैजानुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूका अनुसार समयानुकूल परिवर्तन नगरे पार्टीलाई पुनः सशक्त बनाउने लक्ष्य हासिल गर्न कठिन हुनेछ।
२०८३ असार ३
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल