Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको प्रस्ताव प्रचण्डले किन पत्याएनन् ?

काठमाडौं । चुनावी परिणामले फेरि वामपन्थी गठबन्धन र सरकारको सम्भावना देखाए पनि एमालेले माओवादीलाई फकाउन गरेको प्रयास सफल हुन सकेको छैन । केही सातायता नेकपा एमालेका उच्च तहका नेताहरुले नयाँ गठबन्धन सरकार बनाउने उदेश्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवाद गरिरहेका छन्। प्रचण्डलाई भेट्ने कतिपय एमाले नेताले मिलेर जान प्रस्ताव गरेका छन्। तर, प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा विश्वस्त नभएपछि त्यसको कुनै निष्कर्ष निस्किएको छैन। प्रचण्डलाई विश्वास दिलाउन एमालेका उपाध्यक्षद्वय विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठसमेत खुमलटार पुगिसकेका छन्। उनीहरुबीच टेलिफोनमा पनि पटकपटक कुरा भइरहेको छ। ४ मंसिरको चुनावी नतिजा सार्वजनिक भएलगत्तै एमाले–माओवादीबीच सम्बन्ध सुधार्न खरेलसहित अन्य केही नेता पनि सक्रिय छन्। माओवादीसँग एमालेले गम्भीर र निर्णायक वार्ता गरेर सहमति गराउने कोसिस गरिरहेको ओलीनिकट अर्का नेताले बताए। विगत दुई हप्तामा माओवादीसँग बाक्लो छलफल भएको उनको भनाइ छ। २०७७ पुस ५ देखि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सम्बन्ध राम्रो छैन। त्यही बिग्रेको सम्बन्ध राम्रो बनाउने प्रयासमा एमाले छ। त्यतिमात्र होइन प्रचण्डलाई विश्वास दिलाउन दलबाहिरका केही व्यक्ति समेत लागेका छन्।
माओवादीका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीलाई बालकोट निवासमै पुगेर बधाई दिए। त्यसयता पनि प्रचण्ड ओलीको मनस्थिति विश्लेषण गरिरहेका छन्। संसदमा कसैको बहुमत नपुगेपछि दुई ठूला पार्टी कांग्रेस र एमाले अन्य दलको सहयोगमा सरकार बनाउने कसरतमा छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अहिलेसम्म गठबन्धनमा सँगै भएकोले कांग्रेस सरकार निर्माण आफैँले गर्न सकिने विश्वासमा छ। एमालेले पनि माओवादी सहितका दल मिलाएर अर्को गठबन्धन बनाउने कोसिस थालेको हो। जसमा बलियो बहुमत बनाउन वाम मात्रै नभएर गैरवाम पार्टीहरू पनि समावेश गर्ने तयारी छ। गठबन्धनमा रहेको माओवादीलाई आफूतिर तान्न सके सरकार बन्ने सम्भावना बलियो हुने एमालेको हिसाबकिताब छ। त्यही भएर एमाले अध्यक्ष ओलीले आफ्ना विश्वासिला नेताहरुलाई प्रचण्डसँग संवाद गराएका हुन्।
‘जनताले एमालेलाई लोकप्रिय मत र कांग्रेसलाई केही बढी सिट दिए,’ प्रचण्डसँग निरन्तर संवादमा रहेका एमालेका एक पदाधिकारीले भने, ‘माओवादीसँग मिल्न सके हाम्रै सरकार बन्छ। कि कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउनुपर्यो, त्यस्तो त नहोला किनकि संसदमा एउटा दह्रो प्रतिपक्षी चाहिन्छ।’ दोस्रो तहका नेताहरुले ओली र प्रचण्डबीच भेटवार्ता गराउने प्रयास पनि गरिरहेको स्रोतको दाबी छ। निर्वाचन सम्पन्न भएयता ओली र प्रचण्डबीच फोनमा बधाई साटासाट भएपनि प्रत्यक्ष संवाद भएको खुलेको छैन।
प्राकृतिक गठबन्धन बनाउनुपर्ने भन्दै एमालेले वाम शक्ति एक ठाउँमा उभिनुपर्ने तर्क गरेको छ। त्यसो हुँदा आफुले राष्ट्रपति लिएर प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन सकिने प्रस्ताव एमालेले दिएको विभिन्न उच्च स्रोतहरूले पुष्टी गरेका छन्। कांग्रेससँगको गठबन्धनमा प्रचण्डले पहिले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गरिरहेका छन्। यदि पहिले प्रचण्डलाई प्रधानमन्त्री दिन शेरबहादुर देउवा सहमत भए उनी एमालेतिर नजाने धेरैको अनुमान छ। ‘हामीले सोचेजस्तो सरकार निर्माण गर्न सकिएमा प्रचण्डलाई प्रधानमन्त्री दिन समस्या छैन,’ खुमलटार पुगेका अर्का एमाले नेताले ठोकुवा गर्दै भने, ‘अन्य पदहरुको बाँडफाँट सहमतिका आधारमा गरिन्छ।’ एमालेले कांग्रेसका नेताहरुसँग पनि संवाद गरिरहेको छ। ‘हाम्रा केही साथीहरुले कांग्रेसका केही नेतासँग छलफल गरिरहनुभएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘चुनावी परिणामपछि हामी कांग्रेसको मुड बुझ्ने कोसिस गरिरहेका छौँ।’ तर, कांग्रेससँग मिलेर सरकार बनाउन तत्काल सम्भव नदेखिएको उनको दाबी छ। एमाले–कांग्रेस नेताबीचको छलफलबारे प्रचण्ड जानकार छन्। कांग्रेस गठबन्धन तोड्ने पक्षमा नभएको, गठबन्धनबाट सरकार निर्माण गर्ने वचन दिएकोले विकल्प सोच्ने पक्षमा आफू नभएको प्रचण्डले निकटस्थहरुलाई बताउँदै आएका छन्। एमालेका नेताहरूसँग निरन्तर भेटपछि पनि उनले आफ्नो यो भनाइ परिवर्तन गरेका छैनन्। प्रचण्डलाई माधव नेपालले रोकिराखेको विश्लेषण एमालेका केही नेताहरुको छ। ‘शेरबहादुर देउवाले माधव नेपाललाई असाध्य विश्वास गर्नुहुँदो रहेछ, त्यही आधारमा माधवले प्रचण्डलाई मिलाइरहनुभएको छ,’ एमालेका अर्का नेताले भने, ‘तर, प्रचण्डसँग सहमति भए माधव नेपाल सहजै हामीतिरै आउनुहुन्छजस्तो लाग्छ।’
पार्टी विभाजन गरेर २०७८ साउन ९ गते नयाँ पार्टी एकीकृत समाजवादी बनाएका माधव नेपालसँग आक्रामक रुपमा प्रस्तुत हुँदै आएका एमाले अध्यक्ष ओली पछिल्ला दिन उनीप्रति नरम बनेको नेताहरु बताउँछन्। ‘चुनावी परिणाम पनि आयो, जनमतबाट उहाँहरुको हैसियत पनि देखियो, अब पुरानै आँखाले हेर्न हुँदैन भन्ने रियलाइजेसन अध्यक्षलाई भएको छ,’ ओलीनिकट एक नेताले भने, ‘माधवजीसँग अध्यक्ष अहिले कुल हुनुहुन्छ।’ मुलुकमा अस्थिरता ल्याउन विभिन्न गतिविधि भइरहेकोले राष्ट्रहितका लागि एक ठाउँमा उभिनुपर्ने एमालेका उपाध्यक्ष सुवास नेम्वाङ बताउँछन्। ‘देशलाई राष्ट्रपति, प्रधानमन्त्री दिने काम दलहरुको हो,’ नेम्वाङले भने, ‘दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर मिलेरै निकास दिनुपर्छ।’