Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टी नेतृत्वबाट हट्ने चाहना कम्युनिष्ट नेताहरुमा कहिल्यै नआएकै कारण नयाँ पुस्ताले अवसर पाएका छैनन् । नेकपा एमालेको विधानमा कुनै पनि तहको नेतृत्वका लागि उमेर हद र लगातार दुई कार्यकालपछि तेस्रोपटक दोहोरिन नपाउने प्रावधान छ। तर, २०८० जेठको पहिलो साता केन्द्रीय समितिको बैठक राखेर एमालेले ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था तत्कालका लागि निलम्बन गर्यो। नेकपा एकीकृत समाजवादी पार्टीबाट एमालेमा फर्केका मुकुन्द न्यौपाने लगायतका नेतालाई सहज बनाउन उमेर हदको व्यवस्था निलम्बन गरिएको नेताहरूको भनाइ थियो। तर, त्यसको दुई वर्ष नाघिसक्दा पनि सो प्रावधान फुकुवा गरिएको छैन। उमेर हद र दुई कार्यकाल सम्बन्धी दुवै प्रस्ताव अध्यक्ष केपी शर्मा ओली भएको उपाध्यक्ष सुरेन्द्र पाण्डे बताउँछन्। जसलाई २०७८ असोजमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको थियो। उमेर हद हटिसकेको र अब कार्यकाल सम्बन्धी व्यवस्था समेत हटाउने गृहकार्य भइरहेको सूचना पाएपछि एमालेका एकथरी नेताहरू झस्किएका छन्। उनीहरू यसका विरुद्ध बोल्न पनि थालेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको व्यवस्था सम्झाउँदै उमेर हद र कार्यकालसम्बन्धी व्यवस्था हटाउन नहुने पक्षमा उभिएका छन्। विधान संशोधन नभए तेस्रो कार्यकाल दोहोरिने ओलीको चाहना पूरा हुने छैन। यद्यपि, एमालेको विधानले बाधा अड्काउ फुकाउको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ। जहाँ ओलीको बहुमत छ। तर, यो निर्णय विधान महाधिवेशन वा राष्ट्रिय महाधिवशेनबाट अनुमोदन गर्नुपर्छ। उपमहासचिव प्रदीप ज्ञवाली भने यी विषय प्राविधिक मात्र भएकाले अध्यक्ष ओलीलाई काम गर्न दिनुपर्ने राय राख्छन्। तर, यी दुई विषय एमालेभित्र पेचिलो बन्दै गएको छ। यसमा नेताहरू नै विभाजित हुन थालेका छन्। कतिपय नेताहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने प्रयास भइरहेको पनि बताउँछन्। विधान महाधिवेशनमा संवैधानिक पदमा रहेका व्यक्तिलाई राजनीतिमा फर्कन नपाउने प्रावधान समेत राख्ने तयारी भइरहेको उनीहरूको भनाइ छ। भण्डारीले एमालेमै सक्रिय राजनीति गर्ने बताइसकेकी छन्। पछिल्ला दिन उनी प्रदेश र जिल्ला दौडाहामा छिन् र उनले एमालेका नेताहरूसँग भेटवार्ता र छलफल गरिररहेकी छन्। ६२ वर्षकी भण्डारी ७० वर्षे उमेर हद र कार्यकाल सम्बन्धी प्रावधान कायम राख्नुपर्ने पक्षमा छिन्। उनीनिकट स्थायी कमिटी सदस्य कर्णबहादुर थापा आफैँले स्थापित गरेको विधानको पालना अध्यक्ष ओलीले गर्नुपर्ने बताउँछन्। ७० वर्षे उमेर हद कायम रहे अब एमालेका १८ पदाधिकारीमध्ये अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा उम्मेदवार नै बन्न पाउने छैनन्। तेस्रोपटक अध्यक्ष बन्ने अप्ठेरो पारेपछि ओली विधान महाधिवेशनबाट त्यसलाई हटाउने वा संशोधन गर्ने गृहकार्यमा छन्। त्यसबारे उनले सार्वजनिक रूपम बोलिसकेका छन्। आगामी भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले यसबारे निर्णय लिनेछ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल