Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको यस्तो छ चुनावी दौडाहा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुन देश दौडाहा थाल्ने भएका छन्। निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना बनाएको हो। अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन्। चुच्चे नक्सा जारी गरेको भूगोल दार्चुलाबाट कात्तिक १८ गते अध्यक्ष ओलीले यसपालीको चुनावी आमसभामा सम्बोधन थाल्दैछन्। चुनावी आससभाको सुरुवात राष्ट्रवादको मर्मलाई ख्याल गरेर दार्चुलाबाट गर्न लागिएको हो।
अध्यक्ष ओलीले त्यही दिन बैतडी र कञ्चनपुरमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्नेछन्। यसैगरी कर्णालीका सुर्खेत र दैलेखमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने केन्द्रीय कार्यलय सचिव डा। भीष्म अधिकारीले बताए। प्रदेश १ का ७ वटा जिल्लामा ठूला आमसभाको तयारी भएको छ। प्रदेश अध्यक्ष तुलसी न्यौपानेका अनुसार ती आसभासभाहरु मौन अवधिको अघिल्लो दिन गरिनेछन्। झापा, सुनसरी, उदयपुर, खोटाङ, संखुवासभा, मोरङ र पाँचथरमा आमसभा तयारी गरिएको छ। कात्तिक ३१ र मंसिर १ गते प्रदेश १ का आमसभालाई सम्बोधन गर्ने तयारी छ।
लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार त्यहाँका ६ जिल्लामा सम्बोधन प्रस्ताव गरिएको छ। यस्तै मधेश प्रदेशमा पनि आमसभाको टुंगो लगाउने तयारी भएको प्रदेश कमिटी अध्यक्ष रामवतार यादवले जानकारी दिए। त्यहाँका जनकपुरसहितका मुख्य स्थानमा आमसभा हुनेछ। गण्डकी प्रदेशका ६ वटा जिल्लामा कार्यक्रम प्रस्ताव गरिएको छ। जसमा तीन जिल्लामा पक्का भइसकेको पार्टीका प्रदेश अध्यक्ष नवराज शर्माले बताए। उनका अनुसार स्याङ्जा,कास्की र लमजुङका आमसभालाई अध्यक्ष ओलीले कात्तिक २० गते सम्बोधन गर्दैछन्।
बागलुङ, पर्वत र नवलपुरका आमसभा २१ गते गर्ने तयारी छ। पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार विभिन्न जिल्लाले कार्यक्रमसहित मिति प्रस्ताव गरेका छन्। ओली गृहजिल्ला झापाका चुनाव केन्द्रित कार्यक्रममा भाग लिएर सोमबार काठमाडौं आएका छन्। उनी आएपछि सबै आमसभास्थल र मिति पनि तय गरिँदैछ।