Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीतन्त्र चलाउँदाको परिणाम

यस पटकको निर्वाचनमा नेताहरूले गाउँ तहलाई हेप्दाको परिणाम देखियो । नेता गाउँमा गएनन्, सबै शहरमै थिए । सत्ता गठबन्धनका संसदमा रहेका ५ भाईसँगै गए । देउवा, प्रचण्ड, माधव, उपेन्द्र, चित्रबहादुरहरू केपी ओलीको संसद भंग काण्डले एक ठाउँमा आए । महन्त र राजेन्द्र पनि संसद भंग विरोधी मोर्चामै थिए । तर स्थानीय चुनावमा उनीहरूलाई भारतले एमालेसँग मिल्न पठायो । केपीले ठूलो गठबन्धनको रिसले पार्टी बन्न नसकेको परिवारदल, कमल थापा, सिके राउत, नेत्रविक्रम चन्दसम्मलाई गोलबन्द गराए । लोसपा र राजेन्द्र उनका सारथी नै थिए । सत्ता गठबन्धनले केन्द्रीय तहबाट ६ महानगर र ११ उपमहानगरमा गठबन्धन गरी प्रमुख, उपप्रमुख पद भाग लगायो । वडा तहमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्न भन्यो । काँग्रेसले धेरै ठाउँमा एक्लै लड्यो ।

एक्लै लड्दा पराजित भयो पनि । तर ओलीसँग गठबन्धन गरेका ९ टुक्राहरूले पार्टीको हैसियत थन्क्याएर सूर्य चिन्हमा चुनाव लड्ने कबोल गरे पनि व्यवहारमा तीनको धरातल थिएन । अधुरो क्रान्ति सफल पार्न निस्किएका नेकपा चन्दलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएर अधिकांश स्थानमा एमालेले खर्च ग¥यो । राप्रपा नेपालको सबै खर्च व्यहोरेकै हो । तर परिणामले सिके राउतलाई भन्दा तराईमा अन्यलाई पत्याएन । क्रान्तिकारी लफ्फाबाजीमा सिंगारिँदै आफ्नै गृहजिल्ला कालिकोटमा बसेर चुनाव हाकेका खड्ग विकले आफ्नो अस्तित्व बचाउन कहिले एमाले, कहिले काँग्रेससँग गुहार निकै मागे । चुनवामै जानु थियो भने माओवादीसँगै गएको भए रुकुम, रोल्पा र कालिकोटमा चन्दको अस्तित्व बच्थ्यो । तर माओवादीको विरोध गर्दा सौताको रिसले पोइको काख चिसो बनाउने भनेको यही हो ।

क्रान्तिकारी बनेर एमालेको पुच्छर हुँदा जहाँ एमाले कमजोर छ त्यहाँ फल पाउने अवस्था नेकपा चन्दलाई भएन । चन्द र विकको राजनीति सकियो भने पनि धाक धम्की दिएर कुम्ल्याउने दिन भने गए । यस पटक काँग्रेस र एमालेका धेरै नेताको थातथलो मै चुनाव परिणाम विपक्षमा गयो । डा. आरजु म्याडमले काँग्रेसलाई नजिताए एमालेले बृद्ध भत्ता, आफ्नै पार्टी कोषबाट बाँडे झैं बजेट नदिने र दिने भाषण गर्दा डडेलधुरामा आफ्नै वडामा पराजय भोगिन् । जसले बोल्न जान्दैन त्यो नाइके हुँदाको फल डडेलधुराले आरजु र देउवालाई नै चखायो । यस्तै दण्ड एमालेका केपी ओली, ईश्वर पोखरेल, शंकर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल, प्रदीप ज्ञवाली, महेश बस्नेत, गोकुल बास्कोटासम्मले पाए । शेरधन राईले पाउनु सामान्य थियो । उनी पनि एमाले कार्यकर्ता बालिका खड्काको पीडक थिए । ठूलो नेताको धरातल जिल्ला क्षेत्र र नगर गाउँमा कस्तो छ ? उसले केन्द्रमा कस्तो राजनीतिक अहंकार देखाउँछ भन्ने देखियो । ओलीले चुरे भावरसम्मलाई छाडेनन् जसको अस्तित्व कतै छैन ।

जनताले चाहेन भने केपी ओली र ईश्वरको दास भएर केही हुँदैन भन्ने कुरा यहाँ देखियो । जनताको सेवक बन्नका लागि नेताको चाकडी र भक्ति देखाएर पुग्दैन भन्ने बुझ्नुपर्दछ । चुनावी गठबन्धनको नाउमा लादिएको परिवारवादभित्र नेकाँ र एमाले मात्र होइन माओवादी समेत दास प्रथामा रमाउँछ भन्ने देखायो । संघीयताभित्र पार्टीको अस्तित्व बचाउनु प्रमुख कुरा हो । जहाँ विचार र सिद्धान्तले काम गर्दैन । यस पटक व्यवस्थासँग जोडिएको गठबन्धनमा केपी ओलीको दम्ब र अहंकार नै कारक थियो । कम्युनिष्ट शक्तिलाई तहसनहस बनाएर नीतिगत लुटको चमत्कारमा सधैं रमाउन सकिँदैन भन्ने शिक्षा तिनले लिनुपर्छ जसले संसद भङ्ग गर्ने काम अग्रगामी छलाङ हो भन्ने ठानेका थिए । संसदमा ३ घण्टा लाज घिन नमानी भाषण गरेका बा का झड्केला सन्तानहरूलाई राम्रै भो । सत्ता गठबन्धनले फाइदा लिएको काँग्रेसभित्र संघीय चुनाव हराउनु पर्ने डा. शेखर कोइराल, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङहरूसम्मका अहङ्कार मंसिरमा तोडिनुपर्छ । जहाँ यिनले समयको बाध्यतालाई लत्याएका थिए ।

२३ सिट प्रत्यक्ष, ४० सिट सुमानुपातिक गरी ६३ सिटको काँग्रेसलाई मुलुकको प्रधानमन्त्री दिलाउँदा सांसद नै नरहेका डा. शेखरलाई पचेन । बीपीको आदर्शको कुरा गर्दा आफ्नै परिवारभित्रका डा. शशांक र सुजाताको साथ नपाउने यी शेखरले सभापति देउवासँग रोएर विराटनगरमा नागेश कोइरालालाई टिकट दिलाएको अवस्थाको पनि स्मरण गरेनन् । उनको नागेशलाई माओवादी र समाजवादीले मत नदिएको भए जित्न सक्दैनथे । जहाँ कोइराला परिवारको बिरासतलाई स्व. गिरिजा कोइरालाले ध्वस्त बनाएका थिए । नेताले जनताको समस्या हेर्ने कि दलाल र विचौलियाको खान्कीमा रमाउने हो ? विचौलिया, दलाल र लुटाहाको समूहले कम्युनिष्ट आन्दोलनलाई गुटको भरिया बनाउन खोज्दा आफ्नै वडा तहमा ध्वस्त भएको पनि छ । केपी ओलीको बार्दली आदेश र डा. शेखरको काँग्रेस बचाउने तर्क र सूत्र बीचमा अन्तर छैन । किनकि यस पटक व्यवस्था बचाउन, संसदको मर्यादा राख्दै लोकतन्त्रमाथि प्रहार गर्नेहरूलाई तह लगाउने एजेन्डामा गठबन्धन बनेको कुरा बुझेर बुझ पचाउने डा. शेखरलाई संघीय संसदको चुनावमा गठबन्धनको महत्व थाहा हुनेछ । गरिबको आहारा खोस्ने गगनका खुसीका दिन पनि त्यो बेला रात पर्ने गरी झुल्किने छन् जुन बेला डा. राजन भट्टराईले जनताको मन जितेर गगनलाई पराजित गराउनेछन् । त्यतिखेर बल्ल गगनले महामन्त्रीको हैसियत र गठबन्धनको मर्म सम्झनेछन् ।