Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई अलमल्याउने रविको रणनीति

काठमाडौं । यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा ठूलो निशाना एमालेमाथि दागिरहेको छ भने त्यसका अध्यक्षलाई झापामै पराजित गर्ने लक्ष्य लिएको छ । नेपाली राजनीतिमा यसपालि गएको भूकम्पको केन्द्रविन्दु झापा देखिए पनि यसको कम्पन देशभरि महसुस भइरहेको छ। काठमाडौँ महानगरको मेयर र राजधानीको तामझाम त्यागेर जब बालेन शाहले झापा–५ को चुनावी मैदान रोजे, तब धेरैलाई लागेको थियो– यो केवल एउटा लहड हो। तर, निर्वाचनको राप बढ्दै जाँदा यो लहड मात्र नभएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै आँगनमा अल्झाउन बुनिएको राजनीतिक चालजस्तो देखिन थालेको छ। बालेनको लक्ष्य यसपालि मेयर मात्र होइन, देशकै प्रधानमन्त्री बन्ने छ। प्रधानमन्त्री बन्ने त्यो हुटहुटी बोकेर ओलीको वर्षौँदेखिको किल्ला मानिने झापा–५ मा उनी ओर्लिएपछि त्यहाँको राजनीतिक सन्तुलन एकाएक खल्बलिएको छ। बालेनले आफूलाई सहज हुने काठमाडौँ वा मधेसका कुनै क्षेत्र रोजेका भए ओली यसरी आफ्नै निर्वाचन क्षेत्रमा नजरबन्द हुनुपर्ने थिएन। तर, आज दृश्य फेरिएको छ– हिजो देशैभरि हेलिकोप्टरमा उडेर भाषण गर्ने ओली आज आफ्नै निर्वाचन क्षेत्रमा मतदाताको दैलोदैलो पुग्न व्यस्त छन्। मतदाताको प्रश्न, गुनासो र आलोचना सुन्न विवश छन्। अघिल्ला निर्वाचनहरूमा ओली पार्टीको कमान सम्हालेर देशका विभिन्न कुनामा पुग्थे। तर, यसपालि झापा–५ मा बालेनको उपस्थितिले उनलाई आफ्नै किल्ला जोगाउन मुस्किल पारिदिएको देखिन्छ। ओली आफैँ मतदाताको घरदैलोमा पुगिरहेका छन्। मतदाताले गर्ने आलोचना र आक्रोश स्वयम् आफैँले सुनिरहेका छन्। मतदाताको घरदैलोमा पुगिरहेका भिडिओमा देखिने उनको छटपटी हेर्दा लाग्छ, बालेनले उनलाई आफ्नै साख जोगाउन धौ–धौ पारिदिएका छन्। यो बदलिँदो परिदृश्यलाई राजनीतिक विश्लेषक लोकराज बराल एउटा गम्भीर मोडको रूपमा व्याख्या गर्छन्। बराल भन्छन्, केपी यसपालि एमालेको दबाबमा छन्। पार्टी बिगार्ने र एमालेलाई यहाँसम्म पुर्‍याउनेमा जवाफदेही उनी आफैँ हुन्। उनी त म त्यत्रो अधिवेशन गर्छु भन्थे, तर आफ्नै लागि समर्थन गराउन मात्रै त्यो अधिवेशन भयो। अहिले एमालेमा त्यस्तो उत्साह देखिँदैन। यता रास्वपाबाट झापा–५ मा बालेनका चुनावी कमान्डर तोकिएका विरोध सुवेदी ओली छटपटाएको बताउँछन्। राजनीतिक विश्लेषक कृष्ण खनाल त ओलीको यो दौडधुपलाई उनको राजनीतिक अवसानको संकेतका रूपमा हेर्छन्। एमालेका केन्द्रीय सदस्य तथा झापा ५ का चुनावी कमान्डर देवेन्द्र दाहाल भने ओलीको सक्रियतालाई हार्ने डर नभई मतदाताको सम्मान र भ्रम निवारणको अभियान मान्छन्। दाहालले ओली सातै प्रदेशमा बालेनजस्तै घुम्न जरुरी नभएको बताए। एमाले उपमहासचिव योगेश भट्टराईको प्रतिक्रियाले भने पार्टीभित्रको मनोविज्ञान अलि फरक देखाउँछ। पार्टी महाधिवेशनमा पदाधिकारीमा जित्दाजित्दै यसपटक ताप्लेजुङबाट टिकट नपाएका भट्टराईको यो तटस्थ जवाफले ओली कतै यसपटक आफ्नै गढभित्र एक्लै संघर्ष गरिरहेका त छैनन् भन्ने प्रश्न उब्जाएको छ। यो निर्वाचनको सबैभन्दा रोचक पक्ष भनेकै राजनीतिका एक पुराना महारथी आफ्नो भूगोलमा कैद हुँदा अर्का नयाँ विद्रोहीले देशैभरि पखेटा फैलाउनु भएको विश्लेषकहरू बताउँछन्। रास्वपाले बालेनलाई झापा पठाउनुको मुख्य उद्देश्य नै ओलीलाई आफ्नो क्षेत्रबाट बाहिर निस्कनै नदिने गरी अल्झाउनु थियो। ओली एमालेका एक मात्र यस्ता नेता हुन्, जसले देशभरि भीड जम्मा गर्न सक्थे। यदि उनी झापाबाट निस्किएर देशभरि चुनावी सभामा हिँड्ने हो भने बालेनले झापामा ओलीको विरासत भत्काउन सक्ने खतरा हुन्छ। आफ्नै निर्वाचन क्षेत्र गुमाउनु भनेको ओलीको राजनीतिक अवसान हो। त्यसैले, अहिले ओली देशभरिका कार्यकर्तालाई ढाडस दिन जानुभन्दा आफ्नो घर बचाउनु पर्ने बाध्यात्मक स्थितिमा देखिन्छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल