Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली पक्षलाई धक्का दिने विद्या–ईश्वर समूहको योजना

काठमाडौं । जसरी पनि पार्टी नेतृत्व परिवर्तनको एजेन्डामा लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल प्यानल नबनाउने भएका छन्। मंसिर पहिलो साता केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका उनले बाँकी १४ जना पदाधिकारीका उम्मेदवार पनि बनाएर महाधिवेशन प्रतिनिधिसम्म पुग्ने योजना अघि सारेका थिए। मंसिर १३ गते विवादका बीच कतै मतदान त कतै सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भइसकेको छ। तर, अझैसम्म केन्द्रमा प्रतिनिधिको अन्तिम विवरण आइसकेको छैन। अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणले विद्या–ईश्वर तत्काल पदाधिकारी समूह निर्माण नगर्ने निचोडमा पुगेको निकटस्थहरू बताउँछन्। ओली तेस्रो कार्यकाल अध्यक्ष बन्नु हुँदैन भन्दै आएको यो समूहले प्रतिनिधि चयनपछि रणनीति बदल्नुपर्ने निष्कर्ष निकालेको उनीहरूको भनाइ छ। भदौ २०–२२ ललितपुरमा भएको विधान महाधिवेशनले एमालेको पदाधिकारी संख्या १९ जनाबाट १५ जनामा झारेको छ। यस्तै, स्थायी कमिटीको संरचना हटाइएको छ, केन्द्रीय कमिटी २५० मा सीमित गरिएको छ। यस्तो अवस्थामा एमालेको केन्द्रीय सदस्यदेखि पदाधिकारी बन्न चाहने संख्या अधिक छ। फेरि अध्यक्ष उठ्ने निश्चित भए पनि ओलीले कसकसलाई पदाधिकारी बनाउँछन्, टुंगो छैन। यद्यपि, आफूलाई संकट पर्दा साथ दिएका नेतालाई ओलीले जिम्मेवारी दिने गरेका छन्। यसपटक पनि भानुभक्त ढकाल, खगराज अधिकारी, हिक्मत कार्की, महेश बस्नेत लगायत केही नेतालाई ओलीले पदाधिकारीमा समेट्ने निकट नेताहरू बताउँछन्। कतिपय पुरानै नेतालाई दोहोर्‍याउने संकेत पनि ओलीले दिइसकेका छन्। ओली समूहका स्थायी कमिटी र पोलिटब्युरोमा लामो समय रहेका नेता बढुवाको पर्खाइमा छन्। तर, सबैले जिम्मेवारी पाउने सम्भावना छैन। त्यही भएर महाधिवेशन प्रतिनिधिको हिसाब गरेर मात्र होइन, ओलीको समूह गठन भएपछि मात्रै विद्या–ईश्वर समूहले उम्मेदवार बनाउने निर्णय गर्ने सो समूहका नेताले बताए। यो समूहमा अहिलेसम्म ६ जना पदाधिकारी प्रस्ट रुपमा खुलेका छन्। तिनै नेताबाट पदाधिकारी बनाउन समस्या छैन। तर, ओलीतिर रहेका नेता तानेर पदाधिकारी बनाई महाधिवेशनको नतिजा उल्टाउने कोसिस यो समूहले गर्दैछ। महाधिवेशन प्रतिनिधिको माहोल प्रस्ट भएपछि मात्र अन्य नेतालाई सार्वजनिक गराउनुपर्ने सुझाव आएपछि यो समूह कम्तीमा मंसिर २२ सम्म कुर्ने मनस्थितिमा पुगेको छ।
साउन पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकबाट एमालेमा नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णय गराएपछि पूर्वराष्ट्रपति विद्या भण्डारी ओलीसँग रुष्ट छिन्। उनलाई राजनीतिमा ल्याउन मरिमेटेर लागेका नेताहरूले सदस्यता नवीकरण रोक्ने निर्णय फिर्ता लिन जोडबल गरे। सचिवालय बैठकमा बहुमत नेताले भण्डारीको सदस्यता खुला गर्न ओलीलाई आग्रह गरे। केन्द्रीय कमिटी बैठकमा पनि ५० भन्दा बढी नेताले यो कुरा उठाए। भण्डारीको सदस्यता खुला हुने सम्भावना कमजोर बन्दै जाँदा र महाधिवेशन नजिकिएपछि यो समूहले ईश्वर पोखरेललाई अगाडि सारेको हो। ओली समूहमै रहेर लामो समय काम गरेका पोखरेल अध्यक्षमा अघि सरेपछि भण्डारीले पछाडिबाट मरिमेटेर साथ दिएकी छन्। साथै उनले संगठित सदस्यहरूलाई सन्तुलित प्रतिनिधि चयनमा ध्यान पु‍र्‍याउन पनि आग्रह गरेकी थिइन्। ‘मंसिर २७–२९ सम्म काठमाडौँमा महाधिवेशन हुँदैछ। ईश्वरलाई साथ दिइरहेकी भण्डारीको ध्यान अब महाधिवेशन प्रतिनिधि भेट्नेमा छ।
विद्या–ईश्वर समूहले ओली खेमाका तीन नेतामा नजर लगाएको छ। उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव रघुवीर महासेठलाई तान्न सके महाधिवेशनको नतिजालाई प्रभाव पार्नसक्ने सो समूहको विश्लेषण छ। पौडेल देशभरि सांगठनिक संरचना भएका नेता हुन्। यस्तै, गण्डकीका बलिया जनाधार भएका नेता गुरुङ हुन् भने मधेसमा राम्रै पकड जमाएका नेतामा पर्छन् महासेठ। गण्डकीका महाधिवेशन प्रतिनिधि चयनमा पनि गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। महासेठले धनुषा लगायत केही जिल्लाबाट राम्रै प्रतिनिधि जिताएर ल्याएको नेताहरू बताउँछन्। विद्या–ईश्वर समूहले तत्काल निर्णय गर्न नचाहनुको कारण यो पनि हो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल