Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र तेस्रो धारबीच बालकोटमा वार्ता

पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् । उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका हुन् ।
वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् ।
‘हामीले नौ गते अगावै सकेसम्म सवै कुरा टुंग्याउनु पर्छ भनेका छौं’, उपाध्यक्षसमेत रहेका तेस्रो धारका नेता युवराज ज्ञवालीले भने,ओली पक्षका नेताहरुमार्फत हाम्रो कुरा जानकारी गराएका छौं, साथीहरुले भेट्ने समय मिलाउनुभएको छ ।’
सोमबार या मंगलबारसम्म पनि अध्यक्ष ओलीले भेट नदिए र १० बुँदे कार्यान्वयनबारे प्रतिवद्धता नजनाए पुनः आफ्नो समूहका नेताहरुबीच छलफल गरेर आगामी बाटो तय गर्ने तेस्रोधारका नेताहरुले बताएपछि ओलीले सोमबार बिहानै नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
ओली पक्षका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने ज्ञवालीले बताए ।
तेस्रो धारकै अर्का एक नेताले भने, १० बुँदे न्यूनतम् शर्त हो । त्यो कार्यान्वयन नहुने र त्यसमा छलछाम हुने हो भने हामी जाँदैनौं । हामी केही नपाएर कसैको टाङमुनि छिर्ने भन्ने कुरा हुँदैन
ज्ञवाली भने आफूहरु एकताकै पक्षमा रहेकाले मिलनबिन्दु १० बुँदे हुन सक्ने भन्दै त्यसको अक्षरशः पालना हुनुपर्ने बताउँछन् । माधव नेपाललगायत १४ जनाको कारवाही फिर्ता हुनुपर्ने र अलग दल दर्ताका लागि गरेको प्रयासबाट माधव नेपाल पछाडि हट्नुपर्ने आफूहरुको बटमलाइन भएको ज्ञवालीले बताए ।
माधव नेपालले एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उक्त निवेदनमा आयोगले आउँदो बुधबार सनाखत गर्न बोलाएको छ । आयोगले त्यसै दिन दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेकाले त्यसअघि नै तेस्रो धारका नेताहरुले ओलीसँग भेटेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।