Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र प्रचण्डको भेटघाट बन्द, पौडेल, पोखरेल र नेम्वाङले गर्छन् सन्देशको ओहोरदोहोर

काठमाडौँ । पार्टीको निर्देशनभन्दा पनि आफ्नै ढंगले सरकार र पार्टी चलाउन खोज्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका कारण नेकपामा असन्तुष्टि चुलिएको छ । नेकपाको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । शीर्ष नेताहरुबीच कुरा नमिल्दा केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता पनि पातलिएको छ ।

अहिले दुई अध्यक्षले भेटवार्ता गरेका छैनन् । यसअघि आपसी छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्थे भने अहिले झण्डै १० दिनदेखि प्रचण्डले ओलीलाई भेटेका छैनन् । भेटघाट नभएपनि दुवै अध्यक्षबीच सन्देश आदानप्रदान भने भइरहेको सचिवालयले जनाएको छ । दुवै अध्यक्षले दोस्रो तहका नेतामार्फत सन्देश आदानप्रदान गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत दुई अध्यक्षबीचको सन्देश आदान प्रदान चलिरहेको छ ।

ओलीले छलफल नै नगरी मन्त्रिपरिषद विस्तार गरेको, पार्टीका आन्तरिक गतिविधिमा परामर्श नगर्ने गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि ओलीले छलफल गर्न प्रचण्डलाई बोलाएका थिए । प्रचण्डलाई भेटवार्ताका लागि बोलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए । प्रचण्डले ओलीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।

त्यस्तै प्रचण्डले एक्लाएक्लै भेटवार्ताको अर्थ नभएको भन्दै बैठकबाट निकास खोज्ने प्रधानमन्त्रीलाई सन्देश पठाएको सचिवालयले जनाएको छ । उनले पार्टीको आन्तरिक गतिविधिदेखि रअ प्रकरण तथा पर्सा घटनालगायतका विषय टु‌ग्याउन सामूहिक निर्णय लिनुपर्ने बताएका थिए । भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरित ओलीले बालुवाटारमा भेटवार्ता गरेको भन्दै नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । त्यसअघि कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो ।

पछिल्लो समय पर्सामा नेकपाका एक स्थानीय नेताको हत्या प्रकरणले पनि पार्टीमा समस्या निम्तिएको छ । राजनीतिक दबाबमा प्रहरीले घटनामा संलग्नविरुद्धको जाहेरी लिन मानेको छैन ।


सम्बन्धित समाचार