Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र माधवको गोप्य भेट, राष्ट्रपतिमा अघि सार्ने तयारी

काठमाडौं । त्यसै भनिएको होइन, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनेर । पानी बाराबरको अवस्थामा रहेका पुष्पकमल दाहाललाई काँध हाल्न केपी ओली पुग्दा सबैले अनौठो माने । अहिले फरि त्यस्तै अनौठो हुँदैछ, बोलचालै बन्द भएका माधव नेपाललाई ओलीले राष्ट्रपतिमा हाल्न खोजेको काँध । नेकपा माओवादी केन्द्रले पूर्वसहमतिबाट पछि हट्दै राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने लभगभ निश्चित भएसँगै एमाले वैकल्पिक तयारीमा जुटेको छ । राष्ट्रपतिको चुनावको बहानामा गठवन्धन भत्काउने र अस्थिरता पैदा गर्ने गरी बाह्य चलखेल बढेपछि त्यसलाई असफल पार्न विभिन्न विकल्पमा छलफल भइरहेको पार्टी स्रोतले बतायो । पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सरकार गठनलाई लिएर विभिन्न सहमति भएका थिए । त्यसमध्येको एउटा सहमति एमालेले राष्ट्रपति पाउने भन्ने थियो । तर, कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत हालेसँगै राजनीतिको कोर्स फेरिएको छ । प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन दिइसकेका छन् । हिजो बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय लिने अधिकार प्रचण्डलाई नै सुम्पियो । प्रचण्ड एमालेलाई राष्ट्रपति दिन कुनै हालतमा तयार छैनन् । कांग्रेसलाई राष्ट्रपति दिएर पुरानो गठबन्धन भत्काउने उनको भित्री अभिष्ट देखिएको छ । प्रचण्डबाट धोका पाएको एमालेसँग अर्को पार्टीको राष्ट्रपति स्वीकारेर गठबन्धनलाई निरन्तरता दिने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भन्ने दुई विकल्प मात्रै छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिन एमालेलाई सजिलो छैन । त्यो अवस्थामा उ पाँच वर्षका लागि खाली हात हुनेछ । केवल सभामुखमा चित्त बुझाउनुपर्छ । त्योभन्दा राष्ट्रपति माया मारेर भए पनि गठबन्धनलाई निरन्तरता दिने विकल्पको खोजी भएको हो । विभिन्न विकल्पमध्ये नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्तावित गर्ने पनि रहेको पार्टीका एक पदाधिकारीले बताए । चुनावअघिसम्म निकै तिक्ततापुर्ण सम्वन्ध रहेका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच पछिल्लो समय सम्वन्धमा सुधार आउन थालेको स्रोतको भनाइ छ । दुई नेताबीच दुई दिनअघि गोप्य भेटसमेत भएको थियो । महाराजगञ्जको एउटा घरमा उनीहरुबीच राष्ट्रपति चुनावकै सन्दर्भमा भेटवार्ता भएको पार्टी स्रोतले बतायो । उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपति अफर गरेरनगरेको बारे स्रोतले बताउन चाहेन ।
नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बनाउनेबारे नेकपा एसमा औपचारिक छलफल अहिलेसम्म भएको छैन । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यो विषयमा अहिलेसम्म चर्चा नै नभएको बताए । साथै, ओली–नेपाल भेट भएको विषयमा पनि उनले अनभिज्ञता प्रकट गरे । हिजो मात्रै राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र नेपालको भेटवार्ता भएको थियो । उक्त भेटपछि पत्रकारहरूले नेपाललाई भावि राष्ट्पतिमा उनको पनि नाम आएको बारे सोधेका थिए । जवाफमा नेपालले भनेका थिए, ‘चर्चा त हुँदै गर्छ । जो भए पनि राष्ट्रिय सहमति हुनुपर्छ ।ओलीको प्रस्तावमा नेपाल आकर्षित भएमा माओवादी र कांग्रेस अप्ठेरोमा पर्न सक्छन् ।