Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कति दिनको प्रहरीको शुद्धिकरण ?

काठमाडौं । आईजीपी नयाँ आउनासाथ नयाँ एजेन्डा, नयाँ योजना चम्काउने प्रतिस्पर्धामा मुस्कानसहितको सेवा र प्रहरी जनताको साथी अर्थात् सर्वेन्द्र खनालले ल्याएको टोलटोलमा प्रहरी मेरो साथी अभियान त टोले गुण्डा, पकेटमारा, तस्कर र अपराधी उम्काउने र जोगाउने हतियार भयो । नमच्चिने पिङको सय झड्का भन्छन् । आईजीपी दानबहादुर कार्कीले संगठन सुद्धिकरण गरेको हल्ला चलाएका छन् । उनको शुद्धिकरणमा पोशाक बिनाका जिल्ला घुमुवा केही दिनका लागि तानिएका हुन् । जो जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी प्रमुखदेखि आईजीपी सचिवालयकै श्रोत हुन् । राजनीतिक पहुँच तिनकै हुन्छ । अपराध जहाँ धेरै हुन्छ त्यहाँ घुमुवा हुन्छन् । काठमाडौंमै त्यस्तो टोली तीनै जिल्ला प्रमुखले राख्छन् । तिनको काम मासिक उठाउने हो । आईजीपी कार्की काठमाडौं प्रमुख हुँदा त्यस्तो कति थिए ? घुमुवाको कैफियत जति पनि हुन्छ । काठमाडौंका हरेक प्रभागले नयाँ डिएसपी आउनासाथ लज, रेष्टुरा, होटलमा आतंक मच्चाउँछ । जिल्ला प्रमुख र उपत्यका प्रमुख नयाँ आउनासाथ व्यवसायी आतंकित पार्ने चलन जेनजी आन्दोलनको खरानी हेर्न उपत्यका आएका दानबहादुर कार्कीले भेउ पाएनन् भन्नै हुन्न । किनकि उनी पनि यो मामिलाका राम्रा खेलाडी हुन् । एमाले र काँग्रेसको भगिनी संगठन प्रहरीले नयाँ आईजीपी आउँदा नयाँ नाटक गर्छ भन्ने कुरा कार्कीलाई ज्ञान छ त्यसैले ८२ जना मध्येका मुद्दा शाखामा टिक्ने सोर्सफोर्स बिनाको होइन । किनकि घुमुवा र मुद्दा शाखालाई चाँदी कटाई केन्द्र बनाएका हटेका हुन् । त्यहाँ नयाँ ल्याइन्छ । कार्की जस्ता व्यवसायी, सर्वेन्द्र र रमेश खरेल पनि थिए । तिनको हालत के छ ? पदमा हुँदाको लुट थन्क्याउन राजनीतिमा आउँदा ती घमण्डी भए । आफूलाई काँध हाल्नेले राम्रो कामको लागि स्यावासी कति दिन्छ ? उसको स्वार्थ बाझिएपछि त्यो शत्रु हुन्छ । एमालेमा दानबहादुर कार्कीको खुट्टा तान्ने पनि छन् । रेष्टुरा र लजलाई सताउने घुमुवा तान्दैमा अपराध कमजोर बनाउने मुद्दा शाखा शुद्ध हुँदैन । पहुँच नहुनेलाई अपराधी करार गर्र्ने निर्मला पन्त बलात्कार र हत्या गर्नेलाई जोगाउने त्यही फाँट हो भन्ने कुरा आईजीपी कार्कीले बुझेका छन् ? जहाँ प्रहरी जोडिन्छ त्यहाँको छानविन निर्मला पन्त प्रकरण बन्दै आएको कुरा किन लाज पचाएर लुकाइन्छ ?

व्यवसायी कर्मठ, जुझारु आईजीपी कार्कीसँग जवाफ छ ?
एमालेका गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाका तिनै पंक्तिका प्रमुखले लगेको फाइल सदर गरेका होलान् । तर तिनले दीर्घकालिन असर त हेरेका छैनन् । स्वार्थ त उनको पनि देखियो । १४ जना दरबन्दी भएको ठाउँमा काकालाई डिआईजी बनाउन तम्सनु जस्तो लाजको पसारो अरु केही हुन्न ? सशस्त्रका काँग्रेसी आईजीपी राजु अर्यालले मौन सााधेपछि एआईजी नारायणदत्त पौडेल, वंशी दाहाल, गणेश ठाडा मगरले भनेको नमाने पनि जय नेपाल भनेर बुट बजार्नु बाहेक केही थियो ? १४ जनामा त्यो हुन्न भन्न सक्ने कानुनी आधार त्यहाँ पक्कै थिए । तर केपी ओलीको हुकुमबाट चलेकाहरूले त्यस्तै सोचे । आज केपी ७६ जनाका हत्यारा नै हुन् । प्रहरीले आदेश मानेको हो ।

फुर्किनु पर्दैन आईजीपी सा’ब
काँग्रेस र एमालेको भगिनी संगठन बनेको नेपाल प्रहरी अहिले फुक्काफाल भएको छ । चुनावपछि त्यो फुर्काइ टिक्दैन । आईजीपी दानबहादुर कार्कीले संगठन चुस्त सक्रिय बनाएर प्रहरीलाई जनताका सेवक बनाएको गर्व धेरै गर्नु पर्दैन । किनकि एमालेको फुर्ति धेरै जाग्दैन । अहिलेको प्रहरीमा उपल्लो तहदेखि निरीक्षकसमम्को समूह काँग्रेस, एमालेकै छत्रछायाँमा रमाएको पंक्ति हो । त्यो रौनक अझै छ । यो समूह ओलीको निर्देशनमा कोरोनाकालमा संसद अपहरण गर्ने सर्वेन्द्रको दाजोमै छ । नेपाल प्रहरीमा सत्ता हस्तक्षेपको निशाना बन्नु नौलो होइन । आज गृहमन्त्रालयले हस्तक्षेप गरेको छैन भने प्रहरीले गरेका सरुवा बढुवा विवादरहित हुनपर्छ । राजनीत निर्देशन पर्खेर बढुवा र सरुवा गर्ने विगतको चरित्र आजको अन्तरिम कालमा नहुन सक्छ । किनकि गृहमन्त्री हिजोका एमाले छन् । त्यही कारण शसस्त्र, गुप्तचर र नेपाल प्रहरीका प्रमुखले लगेको फाइल गृहमा भटाभट सदर गर्ने गरिएको बताइन्छ । गृहमन्त्रीको स्वार्थ सशस्त्रको कानुन शाखामा काकालाई डिआईजी बनाएर १४ जनाको दरबन्दीकानायक बनाउनमा रहेकै हो । सशस्त्रको लुम्बिनी प्रदेश देउवाका ज्वाईकै लुटतन्त्रमा चलेको भए पनि उनी फिर्ता भएका छैनन् । किनकि सत्तामा काँग्रेस आउँदैछ भन्ने आईजीपी राजु अर्याललाई छ । दलीय स्वार्थकै कारण प्रहरीले जघन्य अपराधसँग जोडिएका चरित्रहरू फरार सूचिमा राखेर मुद्दा नै अपांग बनाएका दर्जनौं काण्ड छन् । प्रहरी मार्फत् भेदभाव र पक्षपाती निर्णय गर्ने काँग्रेस र एमाले हुन् । यी दलका नेता शासक हुँदा देशका कुनै पनि निकाय र संस्थाहरू आफ्नो कानुन र नियममा चल्न पाएका थिएनन् । अहिले हस्तक्षेपकारी चरित्रका ओली र आरजु कमजोर छन् । चुनावी परिणाम यिनको राम्रो आउँछ भन्ने आईजीपीलाई छ ।

संगठित लुटेरा झ्याप्पै
चुनावी सरकारले दलीय रंग दिँदैन । त्यही कारण तिनवटै सुरक्षा निकायका प्रमुखहरूले संस्थागत संरचना ऐन र कानुनका परिधिभित्रबाट चलाएमान भएका हुन् । प्रहरीले लुटेरा समूह नियन्त्रण गरी चुनवाकै मुखमा जनताको साथ पाएको छ । रातको १० बजेटबाट बिहान ४ बजेसम्म लुटपाट मच्चायो, दिनभरि ट्याक्सी चालक बनेर बेलुकीको योजना बनाउने १२ जनाको ग्याङ प्रहरीको फन्दामा परेपछि उपत्यकामा जनचेतना पनि बढेको छ । प्रहरीको दायित्व चुनौतीसँग जुधेर निर्वाचन सम्पन गर्न राज्यले दिएको त्यो जिम्मेवारी बहन गर्नेै पनि रहेको छ ।

क्षमतावानकै देखियो तुजुक ?
विगतमा त्यही प्रहरीमा नवराज सिलवाल, जयबहादुर चन्दको डिआईजीबाट आईजीपी बन्ने प्रतिस्पर्धामा तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की प्रयोग भइन् । त्यो बापत कार्कीमाथि महाअभियोग लाग्यो । काँग्रेसी प्रपोगण्डा थियो त्यो । लडाइँले प्रकाश अर्याल आईजीपी भए । सर्वेन्द्र खनाल पनि डिआइजीबाट आईजीपी हुँदा रमेश खरेलले राजीनामा दिएर हिँडेकै हुन् । बरु पुष्कर कार्कीले सघाए । आज खरेल पनि राजनीतिमा छन् खनाल पनि राजनीतिक प्रतिस्पर्धामै छन् । यी दुवैका दलहरू छन् । नवराज एक पटक एमालेबाट संसद भए । आज नेकपा एमालेको बागमती प्रदेशको पार्टी सचिव छन् । काँग्रेसी कुलायनलाई ७ करोड बुझाउन नसक्दा आईजीपी बन्न नपाएका विश्व पोखरेल चुनाव जित्दैछन् । नेपाल प्रहरीभित्रको खरिद र भौतिक पूर्वाधारको खर्चमा तलमाथि हुन्छ । अपराधीसँग प्रहरीको सम्बन्ध बलियो छ । संगठनको गोप्य सूचना अपराधीसम्म पु¥याउने र पैसा खाने प्रहरी थुप्रै छन् । जमिम शाह हत्याकाण्डमा भारतीय सार्पसुटरलाई सघाउने प्रहरी डिएसपीले पद त्यागेर हिँडेकै हुन् । आईजीपी कार्कीले त्यो कति बुझ्छन् ? निर्मला पन्त बलात्कार र हत्या छानविन खै ? मुखले प्रहरी जनताको साथी भनिन्छ । तर त्यही प्रहरीले पीडितलाई भन्दा पीडकलाई सेवा पु¥याएको छ । ट्राफिक प्रहरी र प्रहरी प्रभाग त्यसै जलेको होइन आईजीपी साब । ठूला प्रकरणमा प्रहरी निष्पक्ष बन्न सक्दैन । किनकि त्यहाँ झन पैसा र राजनीतिक हस्तक्षेप बढेको छ । एमालेको त्यो भष्मासुर समूहलाई अझै सरकारमा हालीमुहाली गर्ने कुरामा विश्वास छ । महेश बस्नेत गृहमन्त्री हुन्छु भन्दैछन् । जुन समूहले भाद्र २३ गतेको कत्लेआमको घटना बिर्सेको छ । त्यो अपराधलाई सामान्य ठान्ने राजनीति कस्तो होला ?


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल