Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कपनको ढलमा खसेका उज्ज्वलको शव ललितपुरमा भेटियो

काठमाडौं । निर्माणका क्रममा लथालिंग छाडिएका ढल, सडक, खाल्डा खुल्डी ठूला दुर्घटनाका कारण बन्दा थुप्रै मानिसको ज्यान जाने गरेको छ । कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा वागमती नदी किनारामा भेटिएको छ । गत सोमबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेको बताइन् । अनुहार चिन्न नसकिने भए पनि उनले लगाएको शर्टमा कपन मावि लेखेको छ । अहिले शव भएको स्थानमा आफन्तलाई बोलाएर पहिचान गराउन लागिएको छ । यसैबीच कपन प्रहरीले पनि उज्ज्वलको शव भेटिएको पुष्टी गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले नेपालप्रेससँग भनिन्, हामीलाई बच्चाको शव भेटिएको खबर आएको छ । बच्चाको शव पुरै गलिसकेकोले थप पहिचानको लागि परिवारलाई बोलाएका छौं । उनका अनुसार बालकको शव लतितपुर र मकवानपुरको सीमानामा फेला परेको थियो । हिजो साझै बालकको शव फेला परेको थियो । तर पहिचान हुन नसकेपछि ललितपुर प्रहरीलाई खबर गरेको थियो । ललितपुर प्रहरीले पनि कपनबाट हराएको बालक हुन सक्ने आशंकामा कपन प्रहरीलाई खबर गरेको थियो ।
कपन प्रहरीले पनि बेपत्ता उज्ज्वलको परिवारलाई बेलुकै खबर गरेको थियो । शव भेटिएको ठाउँमा पुग्दा रात पर्ने भएपछि प्रहरीले उज्जवलको परिवारलाई बिहान शव ल्याइदिने बताएको थियो । सोही अनुसार ललितपुर प्रहरीले घटनास्थलबाट शव ल्याएर पोस्टमार्टमको लागि ल्याउँदै गरेको उज्जवलकी फूपु अनिता विश्वकर्माले बताइन् ।