Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमरेड ओलीको अहंकारले कहाँ पुग्ला एमाले ?

काठमाडौँ । बाहिर मात्रै होइन पार्टी भित्र पनि आफ्नो विकल्प नदेख्दा एमालेको कमाण्ड सम्हालिरहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पहिलो स्थानबाट दोस्रो स्थानमा पु¥याइसकेका छन् । उनको अहंकार र घमण्ड अझै चूर भएको छैन । अझै उनलाई भ्रम छ जनता आफ्नै पक्षमा छन् । उनका उखान टुक्का सुन्न आएका सबै जनतालाई आफ्नो मतदाता देख्दा उनमा अहंकार बढेको हो । पार्टीभित्रै उनको निरंकुशताविरुद विद्रोहका ज्वाला फुटन लागिसक्दा पनि उनी एमाले भनेकै केपी ओली हो भन्ने अभियानबाट पछि हटेका छैनन् । स्थानीय निर्वाचन परिणामबाट झस्किएका एमाले आन्तरिक समीक्षामा जुटेको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा ०७४ को विरासत गुमेपछि एमालेले समीक्षासहित आगामी निर्वाचनकेन्द्रित रणनीति तय गर्न सोमबार सचिवालय बैठक बोलाएको छ । स्थानीय निर्वाचनको मतगणना भइरहेका बेला धाँधली भएको दाबी गरेको एमाले अहिले भने अन्तरघात नै हारको कारण भन्ने चरणमा पुगेको छ । अबको रणनीति बनाउन अध्यक्ष केपी शर्मा ओलीले विभिन्न औपचारिक–अनौपचारिक संयन्त्र र भेटघाटमा छन् ।
निकट नेताहरूका अनुसार आसन्न निर्वाचनलाई मध्यनजर गरेर ओली अहिले मूलतः तीनवटा रणनीति निर्माणमा केन्द्रित छन् । ती नेताका अनुसार निर्वाचनमा पराजय व्यहोर्नुको कारणबारे ओलीले देशभरबाट आफैं सूचना संकलन गरेका छन्, त्यसलाई आधार बनाएर पार्टीको आन्तरिक समीकरण र भूमिका हेरफेर गर्ने पहिलो रणनीति छ । नेताहरूका अनुसार ओली पार्टीभित्रैको घातबाट बढी चिन्तित छन् । यतिसम्म कि आफूले जसरी पनि जित्ने आकलन गरेका महानगर भरतपुर र पोखरामै अन्तरघात भएपछि उनलाई झड्का लागेको छ । संघीय र प्रदेश निर्वाचनमा यस्तै प्रवृत्ति नदोहोरियोस् भनेर उनले अन्तरघातबारे समग्र ‘रिपोर्टिङ’ लिएका छन् । एमालेको निर्वाचन विभागले देशभरको चुनावी समीक्षा गर्दै प्रतिवेदन तयार गरेको छ । उपमहासचिव एवं निर्वाचन विभागका प्रमुख विष्णु रिमालले प्रतिवेदन ओलीलाई बुझाइसकेका छन् । विभागका उपप्रमुख नीरज आचार्यका अनुसार अध्यक्ष ओलीसँग परामर्श गर्दै प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुने भएको छ । प्रतिवेदनमा विभिन्न ठाउँमा भएका अन्तरघात र हारका कारण सम्बन्धित विषय मुख्य गरी समेटिएका छन् । अन्तरघात र नेतृत्वविरुद्धको अभिव्यक्ति कारबाहीको विषय हुन सक्छ भनेर ओलीले पार्टीको अनुशासन आयोगमार्फत स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न लगाएर अन्य नेतालाई पनि सन्देश दिन खोजेका छन् । नेताहरूका अनुसार ओलीको दोस्रो रणनीति अहिलेको गठबन्धन भत्काएर निर्वाचनमा जाने छ । एमाले उच्च स्रोतका अनुसार ओलीले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय अध्यक्ष बाबुराम भट्टराईलाई समेत सन्देश दिएका छन् । अहिले नै दाहाल र नेपाललाई फकाउन नसकिए पनि एकीकृत समाजवादीका झलनाथ खनाल, जनता समाजवादीका भट्टराई र माओवादीका नारायणकाजी श्रेष्ठलाई फकाउन ओलीको प्रयत्न छ, तर उनको प्रयास अर्थपूर्ण बन्न नसकेको एमाले नेताहरूकै भनाइ छ ।
संसदीय निर्वाचनमा जानुअघि वाम गठबन्धन बनाउन कतिपय नेताले ओलीलाई सुझाव दिएका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र दसबुँदे सहमतिमार्फत एमालेमा रहेका नेताहरू वाम गठबन्धनको पक्षमा छन् तर यसलाई ओलीले प्राथमिकतामा राखेका छैनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमाले गठबन्धनको पक्षमा नरहेको दाबी गर्छन् । ‘सबैभन्दा पहिला त यो गठबन्धन मुलुकको हितमा छ कि छैन ? कम्युनिस्ट आन्दोलनको हितमा हुन्छ कि हुँदैन । गठबन्धनमा सरिक हुनेहरूले आत्मसमीक्षा गर्नुहुन्छ कि हुँदैन ? यो कुराको हल नभई हामी अगाडि बढ्न सकिन्न, उनी भन्छन् ।