Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमरेड प्रचण्ड जनयुद्ध दाहाल परिवारकै लागि थियो ?

काठमाडौँ । माओवादी जनयुद्धमा १७ हजार मानिसको बलिदानी भयो हजारौं अपांग बने, सैयौं बेपत्ता छन् तर त्यो आन्दोलनको उपलब्धी कहीं कतै छ भने दाहाल परिवारको उन्ननय बाहेक केही देखिँदैन । एक थान राजा फालिएको भनिएको त्यो व्यवस्थाले अरु थुप्रै महाराजाहरुको जन्म भएको छ । माओवादी नेतृत्वको १० वर्षे द्वन्द्वमा गाउँबस्तीका किशोरकिशोरी पढाइ छाडेर ‘देश बनाउने’ अभियानमा जुटेका थिए, संयोगले आज देशमा माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार छ । तर, हिजो देश बनाउन हिँडेका कतिपय युवा आज विदेशी भूमिको रक्षार्थ रुसी सेनामा भर्ती भएका छन् । एजेन्टको भ्रममा परेर रुसी सेनामा भर्ती भएका युवालाई सिधै ‘रेडजोन’ मा पठाइएपछि कतिपय घाइते भएका छन्, कतिपयले अरू नेपालीलाई त्यता नआउन अपिल गरेका छन् । रुकुमको खारा मूल घर भएका रामचन्द्र खड्का पढाइ छोडेर तत्कालीन माओवादी लडाकुमा सामेल भएका थिए, उनी कम्पनी कमान्डरसम्म पनि भएका थिए । शान्ति प्रक्रियापछि बेरोजगार भएका उनी अफगानिस्तान पुगेर नेटो सेनाको सहयोगीका रूपमा दुई वर्षभन्दा बढी काम गरेका थिए । त्यसपछि वैदेशिक रोजगारीका लागि दुबई र कुवेतमा तीन वर्ष बिताएका थिए । २०६८ सालमा रुकुमबाट दाङ झरेका उनले तुलसीपुर–१९, थानगाउँमा व्यावसायिक कागती खेती पनि गरेका थिए । तर, खासै उपलब्धि नभएपछि विकल्प खोजीमा लागेका उनी रुसी सेनामा भर्ती हुन त्यता लागेका हुन् । अर्काको देशको रक्षार्थ लडाइँमा जाँदा पनि उनले ऋण गरेर एजेन्टलाई सात लाख बुझाउनुपरेको थियो । अहिले ३७ वर्षका खड्का तीन महिनाअघि भारतको नयाँदिल्ली, हैदराबाद हुँदै दुबईबाट रुस पुगेका थिए । भूगोल, हावापानी र रणनीति केही नबुझेका उनी युक्रेनको बागमोथमा बम आक्रमणमा घाइते भएका छन् । रामचन्द्र उपचारका क्रममा छन्, यता परिवार भने रामचन्द्रलाई सञ्चो भएपछि रुसी सेनाले फेरि लडाइँमा पठाउने हो कि भनेर चिन्तित छ । तुलसीपुरमा रहेका बुबा, श्रीमती र दुई छोरा यही असमञ्जसमा छन् । माओवादीकै अर्का पूर्वलडाकु डायमन्ड सी पनि आफ्नो विगत र वर्तमानको अन्तरविरोधबीच रुसको तर्फबाट बन्दुक बोकेर युक्रेन पुगेका छन् । उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि स्वेच्छाले रुसी सेनामा भर्ती भएको उनको भनाइ छ । पृष्ठभूमि, कथाव्यथा भिन्नभिन्न भए पनि बाध्यताले नेपाली युवाहरू रुसी सेनामा भर्ती भई युद्धको मोर्चामा खटिएको उनको भनाइ छ । रुस–युक्रेन युद्धमा लागेका नेपाली युवाको अवस्थाका बारेमा समाचारहरू आइरहेका बेला पनि त्यही जान भनेर धेरै युवाले जानकारी मागिरहेको डायमन्डले बताएका छन् । नेपाली युवालाई रुसी सेनामा भर्ती गर्ने सम्बन्धमा दुई देशबीच कुनै सन्धिसम्झौता छैन । रुसले नेपाली युवालाई गैरकानुनी रूपमा सेनामा भर्ना मात्र गरेको छैन, युवाहरूलाई आधारभूत तालिमसमेत नदिई रेडजोनमा पठाउने गरेको छ । भूगोलको अज्ञानता र प्रतिरक्षासम्बन्धी न्यूनतम सीपबिना लडाइँमा पठाइएकाले अधिक मानवीय क्षति हुने गरेको छ । कात्तिक पहिलो साता रुसी सेनामा भर्ती भएका एक नेपालीले आफूलाई १८ दिन मात्रै तालिममा राखेर हतियार बोकाई ‘रेडजोन’ मा खटाइएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रम भने दुई सय नेपाली रुसी सेनामा भर्ना भएको जानकारी आएको बताएका थिए । रुसमा रहेका नेपालीहरूको के–कस्तो अवस्थामा छन् भन्ने विषयमा भने दाहालले केही खुलाएनन् । साथै उनीहरूलाई नेपाल फर्काउन सरकारका तर्फबाट भइरहेको पहल र प्रयासका बारेमा पनि सरकारले बुधबार साँझसम्म केही बताएको छैन ।