Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट आवरणमा मिसन रअ

  • अर्जुन ज्ञवाली

नेकपा मसालको मुखपत्र युगदर्शनमा मेरो लेखनमा रहेको प्रस्तुति पुस्तक नारायणहिटी हत्याकाण्ड सेना र माओवादी पुस्तकको विषयमा मित्र मनोज भट्टले बद्नाम गर्ने सिआइए शैली (२०७७ फागुन ३ गते) शीर्षकमा मोहनविक्रम सिंहको बचाउमा लेखेको लेख हेर्दा हाँसो लाग्यो र बहसमा ल्याएकोमा खुशी पनि लाग्यो । मोहनविक्रम सिंह र पुष्पलाल भारतीय जासुसी निकाय रअको संरक्षणमा भारतबाट पालित हुन् भन्ने कुरा बीपीको राजा, राष्ट्रियता, राजनीति पुस्तकको उद्धृत अंश हो । करिब करिब बीपीको यो अन्तिम कृति पनि हो भन्दा अत्युक्ति हुँदैन । हाम्रो विश्वास के छ भने जीवनमा मानिसले जतिसुकै अपराध गरेको किन नहोस् मृत्युको मुखमा उसले झूट बोल्दैन । यो पुस्तक वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा टेप गरिएको र त्यसको भाषा जस्ताको तस्तै छापिएको पुस्तक हो ।
२०३६ सालको जनमत संग्रह बहिष्कार गरेर तत्कालिन पञ्चायतलाई सहयोग गरेको तत्कालिन नेकपा चौम र मोहनविक्रम सिंह उहाँका दासजस्तै बँधुवा बनेर बसेका कार्यकर्ताले तथ्यमा बहस गर्नेहरूले राजापरस्त गद्दार र सीआईडी भन्नु नौलो कुरा होइन । मोहनविक्रमले लेखेको गद्दार पुष्पलाल र निर्मल लामा सीआईडी आरोपित दस्तावेज अहिले पनि सुरक्षित रहेका छन् । मलाई खुशी लागेको छ । कम्तिमा पनि पुस्तक पढेर टिप्पणी गर्नुभएकोमा । एमबीले पञ्चायतलाई जनमतसंग्रह जिताउन बहिष्कार गर्ने क्रममा बहुदलको प्रचारप्रसारमा जाँदा डा. केशरजंग रायमाझी र कृष्णप्रसाद भण्डारीलाई गोरखामा आक्रमण गर्ने बाबुराम भट्टराई र बाचस्पति देवकोटा थिए । उनीहरूले मोहनविक्रमकै निर्देशनमा आक्रमण गरेका थिए । कृष्णप्रसाद भण्डारीलाई एभरेष्ट नेपालको एउटा अन्तर्वार्तामा हामीलाई रसियन भन्दै सीआईएको योजनामा आक्रमण गरेको कुरा खुलासा गरेका छन् । त्यसैगरी एमबीको रिमदेखि सिआइएसम्मको सम्बन्धको खुलासा पनि भण्डारीले गर्नुभएको छ । यसैकारण होला कुनै समय माले, मसाले र मण्डले एकै हुन् भन्ने शब्दाबली प्रचलित रहेको छ । राष्ट्रवादी विद्यार्थी मण्डलका संस्थापक अध्यक्ष र २०३६ को जनमतसंग्रहमा निर्दललाई जिताउन देशैभरि क्याम्पियन गरेका वरिष्ठ पत्रकार पदम ठकुराठीले कमलराज रेग्मीमार्फत् मोहनविक्रम सिंहले त्यतिबेला पञ्चायती सरकारबाट ३० लाख रूपैयाँ लिएको खुलासा गरेका छन् । जुन कुरा यो पंक्तिकारद्वारा लिखित बाइबल र माओवादमा ठकुराठीलाई उदृत गरेर दस्तावेजीकरण गरिएको छ । २०६२/०६३ पछि नागरिकता लिनुभएका मोहनविक्रम सिंह र मसाल सीआइएद्वारा स्थापित रिमको संस्थापक सदस्य पनि हुन् । पछि माओवादी हिंसा शुरु भएपछि त्यसमा सिंहले असहमति जाहेर गरेकाले उनलाई रिमबाट निष्काशन गरेर त्यसको सदस्यता माओवादीलाई दिलाइएको थियो । संसारभरि घुम्दा एमबीले कुन देशको पासपोर्ट प्रयोग गरे ? जबकि उनले नागरिकता ०६२÷०६३ पछि मात्रै लिएका थिए । २०५२ सालमा काठमाडौंको बानेश्वरमा ड्रेससहित भारतीय सेना प्रवेश ग¥यो । यसको खुलासा भएपछि देशभर त्यसको विरोध भयो । ती भारतीय सेनाको गाडीका ड्राइभर रामदेव पाण्डे मोहनविक्रम सिंह र मसालकै कार्यकर्ता हुन् । शायद नेकपा मसालको मुखपत्र युगदर्शनको कानुनी सल्लाहकार पनि उनै हुन् कि ? जतिसुकै भ्रम दिए पनि सत्य सत्य नै हुन्छ । नारायणहिटी हत्याकाण्ड, सेना माओवादी पुस्तकले कम्युनिष्ट क्रान्तिकारी आवरणका पात्रहरूको मुकुण्डो उतार्ने कोसिस गरेको छ । त्यो भावी पुस्तालाई खोज र अनुसन्धानका लागि प्रस्तुत गरिएको मात्र हो । यो भन्दा अगाडिको चर्चित पुस्तक बाइबल र माओवाद पनि माओवादी हिंसाको चर्च कनेक्सनको पर्दाफास हो । यसको अर्थ कम्युनिष्ट आन्दोलन र परिवर्तनप्रति जीवन बलिदान गरेका इमान्दार कार्यकर्ताप्रतिको कुनै पूर्वाग्रह होइन । यसकारण म लेखक भन्दा पनि प्रस्तोता हुँ ।
इतिहासका पाटाहरू आजसम्म आइपुग्दा धेरै कुराहरू खुलासा भइसकेका छन् । यसकारण शब्दजाल बुनेर धेरै तर्क वितर्कको आवश्यकता पनि छैन । जहाँसम्म इन्दिरा गान्धी र रअको रणनीतिमा भएको पूर्वी पाकिस्तान (बंगलादेश) विभाजन ठिक भन्ने आशयका साथ स्वयं लेखकले पुस्तकका अंशहरूको खण्डन गर्दागर्दै सत्यकुरालाई स्वीकार्नुभएको छ । रअका पूर्व निर्देशक आरके यादवले मिसन रअ पुस्तकै लेखेका छन् र त्यसमा भनिएको छ, बंगलादेश निर्माणपछि नेपालको तराई टुक्य्राउने भारतको योजना थियो । सङ्कटकाल लागेका कारण इन्दिरागान्धीको त्यो सपना पूरा हुन पाएन । इन्दिरा गान्धीको त्यो सपना पूरा गर्ने अभियानमा मोहनविक्रम र पुष्पलालहरू लागिरहेका थिए भन्ने कुरा स्वयं लेखक मनोज भट्टले नै स्वीकार गर्नुभएको छ ।
स्वयं पुस्तकमा नै दस्तावेजीकरण भइसकेको हुनाले मित्र मनोज जीको लेखको धेरै टिप्पणी गर्न आवश्यक रहेन । पुस्तकका तथ्यहरू उदृत इतिहासका तथ्य हुन् भने व्याख्या विश्लेषण घटनाक्रमले प्रमाणित गरिसकेका विषय हुन् । ढिलै भए पनि बहसको प्रारम्भ गर्नुभएकोमा भट्टजीलाई धन्यवाद दिन चाहन्छु । मोहनविक्रम जी र नेकपा मसालको मात्रै होइन प्रायोजित माओवादी हिंसा त्यसका पछाडि प्रज्वल समशेर जबराको नेतृत्वमा रहेको शैन्य हेर्डक्वार्टरको संलग्नता, रअ र सिआइएको मसाल, माओवाद र रिम कनेक्सन इसाईकरणमा कथित नेपाली कम्युनिष्ट, काँग्रेस, राप्रपा र जातिवादी एनजीओको भूमिकाका विषयमा पनि बहस हुँदै जाओस् । लेखक भट्टलाई साधुबाद छ ।