Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्णालीको कम्पनले केन्द्रसम्मै थरर

काठमाडौं। सबैतिरबाट पेलिएको नेकपा एमालेको माधव नेपाल समूहले कर्णालीमा देखाएको विद्रोहले संघीय सरकार पनि धरापमा नपर्ला भन्न सकिने अवस्था छैन । कर्णाली प्रदेशमा पार्टीको ह्वीपविरुद्ध सांसदहरु गएर अर्को दलबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मतदान गरे । यो घटनाले केन्द्रको सत्तामा समेत कम्पन आएको हो । कर्णालीमा फ्लोर क्रस गर्ने चारै जना प्रदेशसभा सांसदहरु माधवकुमार नेपाल पक्षका थिए । फ्लोर क्रस गर्ने प्रकाश ज्वालाले कारबाही हुन्छ भन्ने जानेरै कदम चालेको बताइसकेका छन् । उनले पार्टीलाई एकतावद्ध बनाउन गम्भीर नभएमा योभन्दा गम्भीर घटनाहरु घट्न सक्ने समेत औल्याए । माधव नेपाल निकट नेता युवराज ज्ञवालीले पनि अझै गम्भीर अवस्थाहरु आउनसक्ने बताए । यी सबै घटनाका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् । उनले समानान्तर कमिटी गठन गरेर सक्रियता बढाइरहेका छन् । प्रदेश देखि केन्द्रसम्म आफ्नो शक्ति प्रदर्शन गर्न थालेका छन् । हुनपनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समिकरण बन्ने संकेतहरु देखिएका छन् । कर्णाली प्रदेशमा काँग्रेस र माओवादीबीच सहमति विकास भएको देखियो । त्यहाँ काँग्रेसले मत दिएर मुख्यमन्त्री शाहीको मुख्यमन्त्री पद जोगाइदिए । गण्डकी प्रदेशमा काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीको दाबीसहित बढेका छन् । उनलाई माओवादीको साथ मिलेको छ । प्रदेशमा यसपटक तटस्थ बस्नेहरुको पनि कुनै महत्व देखिएन । जबकि एकजना मात्र सांसद निर्णायक हुने अवस्थाहरु देखिएको थियो । अब फ्लोर क्रसको अभियान नै चल्ने संकेतहरु देखिन थालेको छ । सत्ता समिकरणका लागि अंकगणितको विश्लेषण गर्दा अब माधवकुमार नेपाल पक्षीय सांसद समेत गन्नुपर्ने भएको छ । संघीय संसदमा नेकपाको १२० सांसद रहेकोमा अब माधव नेपाल पक्षधरको समेत गणना छुट्टै गर्नुपर्ने अवस्था आएको छ । ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेसले निर्णय नै लिइसकेको छ । माओवादी केन्द्र ओलीलाई हटाउन हतारमा छ । जनता समाजवादी पार्टी अंकगणीतको हिसाबकिताब गरेर अलमलमा छ । जसपाले सरकारको नेतृत्वको दाबी गरेको छ । तर, घटना यसरी विकास भएको छ कि अब फ्लोर क्रस हुने अवस्थामा जसपा निर्णायक शक्ति नहुने भएको छ ।

काँग्रेस र माओवादी केन्द्रको गरी प्रतिनिधि सभामा ११० सिट पुग्छ । काँग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसदले मतदान गर्न पाउछन् । बहुमतका लागि २८ सिट अपुग हुन्छ । नेकपा एमालेभित्र फ्लोर क्रसको निरन्तरता भएमा माधव नेपालका ३० भन्दा बढी सांसद साथमा छन् । उनीहरु नेपालका लागि जस्तोसुकै जोखिम मोल्न पनि तम्तयार छन् । ओलीलाई कुनैपनि हालतमा हटाउन काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्ष सक्रिय भइरहँदा अब फ्लोर क्रसको सम्भावना नकार्न सकिदैन । कुनैपनि बेला काँग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरिहालेमा जसपा अब निर्णायक शक्ति नहुने देखिएको छ । जसपाले ओलीलाई साथ दिएपनि विश्वासको मत लिन कठिन हुने देखिइसकेको छ । जसपाभित्रको उपेन्द्र यादव र डा। बाबुराम भट्टराई ओली हटाउने पक्षमा उभिएका छन् । महन्थ ठाकुर ओलीसँग सहमति बनाउन सक्रिय छन् । तर, अब ठाकुरको साथले मात्र ओलीले विश्वासको मत लिनसक्ने या सम्भावित अविश्वासको प्रस्तावको सामना गर्दा सफलता हासिल गर्न सक्ने सम्भावना कमजोर देखिइसकेको छ ।