Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्फ्यूबीचमै हुँदैछ रातो मच्छिन्द्रनाथको क्षमापूजा

काठमाडौं । कोरोनाको कहरबीचमा पनि निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा सम्बन्धी निर्णय गरेको छ । ठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको छ।

बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ। यसअनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गरिनेछ। यसको निम्ति ललितपुर महानगरको रिङरोडभित्र पर्ने क्षेत्रमा बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ। कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ। सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ। त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ। यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन। बुंगद्यःलाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ रथ तान्न खोजिँदा बिहीबारको घटना भएको स्थानीय बताउँछन्। कार्यदलको बैठकले बिहीबार भएको घटनाप्रति खेद पनि व्यक्त गरेको छ।