Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ज्ञानेन्द्र शाह आजभोलि निकै व्यस्त छन्। पश्चिम नेपालका ठूला सहरमा उनले ‘नागरिक’ अभिनन्दन थापिरहेका छन्। मञ्चमा उभिएर भाषण पनि ठोकिरहेका छन्। र, ‘भीड’बाट उछालिएको ‘हाम्रो राजा हाम्रो देश, प्रणाभन्दा प्यारो छ’को छालले जुरुक् जुरुक् उचालिएका छन्। केही समयअघि पूर्वी नेपालको लामो बसाईंपछि ज्ञानेन्द्र पश्चिमतिर लागेका हुन्। ‘धर्म(दर्शन’मा निस्किइरहने उनी यो बेला भने सिधै आम नागरिकको माझमा भाषण दिँदै हिँडेका छन्। २०६५ जेठ अन्तिममा नारायणहिटी छोडेर नागार्जुन सरेका उनी त्यसपछि आम नागरिकको हैसियतमा छन्। तर राज्यले उनलाई केही सरकारी सुविधाहरू भने दिएको छ। उनलाई चाहनेहरूको लागि त ज्ञानेन्द्र अझै राजा हुन्, अनि कतिका लागि ‘पूर्वराजा’ हुन्। तर संविधानले उनलाई एक आम नागरिक सरह नै चिन्दछ। कसले गरिरहेछ ‘नागरिक अभिनन्दन’ यसको जवाफ अहिले नै कसैले दिइरहेका छैनन्। ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना भन्छन् ‘यो आम नागरिककै तर्फबाट भएको अभिनन्दन् हो।’ तर धेरैजसो ठाउँमा अभिनन्दन समारोहको तयारी अनि त्यसको जाँचोपाँजो राप्रपाकै शीर्ष नेताहरूले मिलाइरहेका छन्। गत वैशाख ५ गते नेपालगन्जमा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न गठन गरिएको मूल समोराहको संयोजक राप्रपाका महामन्त्री तथा बाँके क्षेत्र नं २ का सांसद धवल समशेर राणा आफै थिए। यसअघि उनीहरूले गत चैत ८मा राप्रपाका अध्यक्षलगायत बरिष्ठ नेताहरू ज्ञानेन्द्रलाई भेट्नका लागि पूर्व दमक पुगेका थिए। त्यसपछि देशव्यापी ‘नागरिक अभिनन्दन’को लहर सुरु भयो। त्यसको सुरुवात चैत २० गते सुनसरीको इनरुवाबाट गरियो। त्यसअघि गत फागुन १ गते ‘नागरिक बचाउ महाअभियान’को उद्घोष गरिएको थियो। जसको मूल मुद्दा ‘राजा ल्याउने’ हो। यो त्यही दिन सुरुवात भयो जुन दिनलाई माओवादी नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक विदा नै दिएको थियो।
‘नागरिक अभिनन्दन मूल समारोह समिति’लाई अहिले राप्रपाकै नेताहरूले ‘लिड’ गरिरहेका छन्। जसमा हिन्दुवादी संघसंस्थाहरू पनि जोडिएका छन्। यो अभियानमा अहिले सबैभन्दा धेरै जोडबलले लागिरहेका एकजना नेता हुन्, रविन्द्र मिश्र। जो राप्रपाबाटै गत मंसिरमा काठमाडौं १ मा चुनाव लडे। सफल हुन सकेनन्। ‘राजा र राजसंस्था’लाई राप्रपाबाट जर्वजस्त उठाइरहेका नेतामध्यका एक हुन् मिश्र। जसलाई राप्रपाले उपाध्यक्ष बनाएर पार्टीमा भित्र्याएको हो। सोमबार कैलालीको धनगढीमा ज्ञानेन्द्रलाई अभिनन्दन गरिएको थियो। हरेक अभिनन्दन समारोहजस्तै ज्ञानेन्द्रले आफ्नो लिखित भाषणमा अहिलेको व्यवस्था, राजनीतिक दल र वेथितिहरूका बारेमा चर्को असन्तुष्टी व्यक्त गरे। उनका भाषणमा तत्काल देखिएका वेथितिहरू समेटिएका हुन्छन्।
सोमबार धनगढीमा ज्ञानेन्द्र शाहले गरेको भाषण
तपाईहरुले आयोजन गर्नु भएको यो समारोह आफैमा एउटा संयोजनकारी महत्वपूर्ण काम हो। यहाँ आएर मलाई दुई चार शब्द बोल्ने मौका दिनु भएकोमा आयोजकहरु र उपस्थित सुदूरपश्चिमी भेगका सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
धनगढी नेपालको सुदूरपश्चिमी भूखण्डको पुरानो चहलपहलको स्थान हो। यो अहिले उद्यम इलम र व्यवसायको शहरी केन्द्र बनेको छ। आफ्नो थाकथलो र जमिन पवित्र मान्ने यस भेगका भुमीपुत्रहरु आज यस क्षेत्रको चौतर्फि विकास चाहन्छन्। त्यसका निम्ति बढ्दै गएको उत्सुकता तथा जागरुकता निश्चय पनि सहानीय छ।
राष्ट्रनिर्माणको अभियान र निरन्तरताको भौतिक, शैक्षिक तथा सामाजिक विकासको क्रममा अब नेपालका कुनै पनि भूभाग टाढा र नजिक छैनन्। राष्ट्रिय अवधारणा बुबाज्यूको राज्यकाल देखि नै उत्कर्षका रुपमा अघि बढेको हो। टिकापुर तथा महेन्द्रनगर यस क्षेत्रमा आज जुन रुपमा खडा छन्, त्यो त्यसैको उदाहरण हो। तर जुन प्रकारको राष्ट्रवादी सोच, राष्ट्रिय चिन्तन र सर्वांगिण उन्नतिको उच्च ध्येय बोकेर समग्र राष्ट्रको उत्थानको शुरुवात भएको हो त्यो त्यही गति र प्रवाहमा अघि बढ्न सकिरहेको छैन। यो हामी सबैका निम्ति सुखद् होइन। डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, आछाम र बाजुरा यो भेगका सुन्दर रमणीय र तिर्थस्थलहरु हुन् ती सबैलाई समेटेर धनगढी, महेन्द्रनगर, टीकापुर जस्ता आधुनिक चरणमा खडा भएका केन्द्रहरुले जुन प्रकारको ज्योति प्रशारण गर्नुपर्ने हो त्यो अपेक्षित रुपमा हुन नसकेको कटुसत्य हो।
हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो चार दशक अघि सम्म हाम्रो देश कृषि, वन आदी कतिपय विषयमा आत्मनिर्भर थियो। आफ्नो आवश्यकतालाई परिपूरण गरेर हामी धान चामल निर्यात गर्दथ्यौं। ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योग धन्दाहरु कता विलाए रु किन हराए रु जल जमिन जंगल जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ। हाम्रा घर आँगन पिडी र छिंडीमा चल्ने जन शिल्पीका कैयन् कुटीर उद्यम व्यवसायहरु पूरापूर लोप भएर गएका छन। हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने रु यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन्।
सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपन्च अब खुल्दै गएको छ। नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।
के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ? यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ। आजको युग विकासको युग हो। आजको युग प्रविधीको युग हो। हामी आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छौं।
त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ? सोचौं गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं, देशभन्दा ठूलो अरु केही हुँदैन।
अरुलाई अल्मल्याएर र निषेध गरेर अनि सपनालाई साकार र विपना बनाउन यसैमा हाम्रो कल्याण छ । आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य सप्रिदैन। भोलिको सुन्दर नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ सबैमा एकपल्ट फेरि हाम्रो धन्यवाद। यो भाषणको अन्त्यतिर उनले आम नागरिकलाई निकै भावुक बनाउँदै बोलेको एउटा महत्वपूर्ण कुरा हो( देशभन्दा ठूलो केही छैन।
‘राष्ट्रभक्ति’का यी भावुक वाक्यहरू उनले हरेक भाषणमा पढिरहेका छन् ‘सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिनेरु कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ? सोचौं गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं, देशभन्दा ठूलो अरु केही हुँदैन।’
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल