Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
समाज रूपान्तरण गर्ने मुलुकको विकास निर्माणको खाका कोर्ने त्रिभुवन विश्वविद्यालयभित्र कस्ता शिक्षक छन् र कस्ता विद्यार्थी छन्, त्यसको भण्डाफोर यस पटक त्रिवि सेवा आयोगले गरिदिएको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा अध्यापन गराउने उपप्राध्यापक तहको परीक्षामा सहभागी डिग्री होल्डरहरूको घाँस खाने बुद्धि र विवेकले नेपालको शिक्षा क्षेत्रको समेत इज्जत बचाएन । राजनीतिक आडमा यस्तो भएको हो । परीक्षार्थीले आफ्नो उत्तर पुस्तिकामा फोन नम्बर र नाम राखेर त्रिविकै संस्थागत संरचनाको बदनाम गरे । ती ठालुहरूको निम्ति राज्यले उच्च सम्मान गर्ने कहिले ? किनकि आफैँलाई शिक्षा दिने गुरुमाथि कुटपिट गर्ने काँग्रेसका कार्यकर्ता पनि त्यही त्रिभूवन विश्वविद्यालयमा छन् । राजनीतिले गुण्डागर्दीको संरक्षण गर्ने, गुण्डा प्रयोग गरेर चुनाव जित्ने नेताहरू हाम्रो देशका शासक छन् । नेता नै गुण्डाका संरक्षक, डन र टोले गुण्डाका रक्षक भएको अहिलेको राजनीतिले सिकाएको शिक्षा नै शैक्षिक संस्थाहरूमा मौलाएको छ । राजनीतिक मियो ठीक भएको भए उपप्राध्यपकको जागिर खाने परीक्षामा सामेल भएको वर्ग आफ्नै बेइज्जत हुने गरी नाङ्गिने थिएन । त्रिवि सेवा आयोगले जुन हिम्मत देखायो, त्यसको समर्थन गर्नुपर्छ ।
मुलुकमा शिक्षा क्षेत्रको सुधार गर्ने, विकासको कल्पना गर्ने, राज्यलाई बाटो देखाउने, अध्यापन अनुसन्धनका नाममा विश्वविद्यालय जस्तो संस्थामार्फत् राज्यको राजस्व हरेक वर्ष खर्चिन्छ । सत्तामा विकास र समृद्धिको ढोंग बजाएर नीतिगत लुटको खाका कोर्ने बादसाह भएको बेला शिक्षा क्षेत्रको धरातल उदाङ्गो हुनु नौलो होइन । कहाँ छैन यस्तो विकृति, प्रशासन क्षेत्र त्यस्तै छ । चिकित्सा क्षेत्रको सुधार गर्न डा. गोविन्द केसीले उठाएको योजना कम्युनिस्ट पार्टीले सहजरूपमा लिँदैन किनकि केसीले माफियाको विरोध गरे । सरकार माफियाको पक्षमा छ भन्ने कुरा त त्यसले गरेका निर्णय बारम्बार फिर्ता लिने गर्नाले छर्लङ्ग भएको छ ।
सरकारले सबैतिर ध्यान दिन नसक्ने भएकाले विषयगत संरचना बनेका हुन् । तर त्यहाँ पठाइएका सरकारलाई विश्वास लागेका मान्छे बेइमानी भएकाले गलत चिन्तन, गलत धन्दाले ठाउँ पाएको हो । गल्ती गर्नेलाई कानुनसम्वत् कारबाही गर्ने चलन नै भएन । जसले अपराध गर्छ, त्यसलाई राजनीतिक संरक्षण दिएर बचाउने गलत प्रवृत्ति हटाउने दृढ अठोट नेतृत्वबाट व्यक्त नहुँदासम्म त्रिवि सेवा आयोगले भण्डाफोर गरेका काण्ड सेलाउने छैन । किन पक्राउ पर्दैनन् त्रिविमा नेविसङ्घको राजनीति गरेर प्राध्यापकलाई कुटाउने डन ? काँग्रेसले यस्तै गुण्डा दलबाट प्रजातन्त्रको सुधार हुन्छ भन्ने चाहेको हो ? सरकार प्रमुख केपी ओलीका गुण्डा र छुद्र र माफिया नै सारथि छन् । गुण्डा पाल्ने हौस्याउने काममा प्रधानमन्त्री केपी ओली पनि माहिर छन् । त्यही कारण तत्कालीन एमालेको युथफोर्सको सदस्यता दिलाएर रमेश पौडेल, पर्शुराम बस्नेतहरूको जगजगी थियो एक समय । दीपक मनाङेलाई प्रदेश सांसद बनाएर सुधार्ने प्रयास भए पनि उनले पोखरामा काँग्रेसका सहयोगी फुटबल खेलाडीमाथि मुक्का प्रहार गरेर आफ्नो चरित्र देखाए । काँग्रेसका केसी खलकले संरक्षण गरेका कुमार घैंटे होऊन् कि एमालेले पालेका दिनेश अधिकारी चरी किन नहून् समाजलाई आतङ्कित बनाएकै थिए । उनीहरूलाई प्रहरीले इन्काउन्टरमा मारेको भने पनि सत्ताको साथ थियो । मनोज पुनहरू पनि कम चोरीलाई र सत्ताको बोझिला पात्र हुन् ।
काँग्रेसका गणेश लामा नै पटक–पटक हातहतियारसहित पक्राउ परेका जुवान हुन् । विजय गच्छदारको संरक्षणमा यिनले ज्यान बचाए । तर काभ्रे जिल्लाको प्राकृतिक दोहन अहिले पनि लामाकै संरक्षणमा भइरहेको छ । देशमा कम्युनिस्ट सरकार छ । त्यसले समृद्धि र विकासका कुरा त गर्छ तर गुण्डागर्दी र ठगीसमेत नियन्त्रण गरेको छैन । शैक्षिक क्षेत्रको विकृति र विसङ्गतिको अन्त्य त परै जाओस् । दुई तिहाइको दम्भ पार्टीमा गुटबन्दी सरकारमा लुटबन्दीको निम्ति नै प्रयोग भयो । मुलुक बनाउन भ्रष्टाचार रोक्नुपर्छ । क्षमतावान् र कर्तव्यनिष्टहरूलाई आवश्यकताका आधारमा जिम्मेवारी दिनुपर्छ । तर ओली सरकारले कतै विवादरहित काम गरेको छैन । कसैलाई खातैखात कोही रित्तै । आखिर यो भद्रगोल हटाउन ध्यान नदिने मुलुकको आवश्यकतालाई महत्व नदिने सधैँ दम्भ देखाउनेहरूबाट समाज कस्तो हुन्छ र यिनले देशलाई सुधार्छन् भन्ने आश गर्नु ?
प्रम ओलीलाई छोटे वादशाह बनेकोमा गर्व छ, उनको स्तुति गाएर नथाक्नेहरूले लुटिरहेका छन्, तिनलाई खबरदारी पनि हुँदैन अनि विसङ्गति हट्छ कसरी ? सरकारको चरित्र त्यसको स्वरूप त्रिवि सेवा आयोगका परीक्षार्थीहरूको देखाइहालेका छन् । राजनीतिमा अपराधीकरण र अपराधमा राजनीति लेपन भएपछि फल यस्तै फल्छ । अहिले देशमा जस्तो घामट र गुटबन्दीको राजनीति छ । राज्यका प्रत्येक स्थानमा प्रमुख त्यसकै छ । यस्तो भएपछि देशकै इज्जत र मान बढ्छ कसरी ? चिन्ता लिनेले नलिने हो भने अधिकारविहीनहरूको आवाजको अर्थ न बर्थ हुन्छ, त्यो सत्यताको अनुशरण कसले गर्छ खै ?
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल