Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसभित्रै शेखरको विद्रोह

काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन सम्बन्धमा असन्तुष्टी जनाउँदै कांग्रेस नेता डा।शेखर कोइराला नेतृत्वको समूहले तरुण(विद्यार्थीहरुको भेला आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरुलाई काठमाडौं बोलाउने निर्णय गरेको हो । कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भएपनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो । बैठकमा नेता कोइराला, केन्द्रीय सदस्यहरु डा।गोविन्द पोखरेल, प्रतिमा गौतम , नेताहरु गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, टेकराज पौडेल, दिनेश राई, डिल्लीराम सुवेदी, हिक्मत न्यौपाने लगायत उपस्थित थिए ।
बैठकमा विद्यार्थी नेताहरुको पनि बाक्लो उपस्थिति थियो । उनीहरुले पार्टी विधि र थितिअनुसार चलोस् भन्ने चाहेपनि एकपक्षीय निर्णय गर्न लागिएकोले संघर्षको विकल्प नरहेकोमा जोड दिएका थिए । ‘हामीले चै बरु भागबण्डा चाहिदैन, सबैलाई समेटेर विधानअनुसार निर्णय होस् भन्ने, सभापतिले चै मनपरी ढंगबाट निर्णय लिने हो भने प्रतिवाद गर्नुको विकल्प छैन’, बैठकमा सहभागि एक तरुण नेताले भने । बैठकमा बोल्ने अधिकांशले संस्थापन पक्षविरुद्धको संघर्षमा खुट्टा नकमाउन शेखरसँग आग्रह गरेका थिए । बैठकको सुरुमै नेता कोइरालाले तरुण दल र नेविसंघमा मनोनयन लगायतका विषयमा सुझाव लिन चाहेको बताएका थिए । कोइरालाले परामर्शमै गठन गर्ने भनिएका भ्रातृ संस्थाबारे एकपक्षीय ढंगले निर्णय भएको भन्दै सुझाव दिन आग्रह गरेका थिए ।
बैठकले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यहरुले समूहको धारणा सशक्त ढंगले राख्ने, शुक्रबार नै तरुण विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गर्ने तथा ३ दिनभित्र नेविसंघ, तरुण दल , महिला संघ लगायतका संगठनमा आवद्ध नेताहरुको भेला बोलाउने निर्णय गरेको हो । भेलालाई कोइरालासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने सहमति समेत भएको एक नेताले बताए । भेलाको मिति, समय र स्थानबारे निधो गर्न कोइराला पक्षका नेताहरुको बैठक शुक्रबार समेत बस्नेछ ।