Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा असन्तुष्टि चुलिँदो, गगनसहित कांग्रेसका ३ पदाधिकारीले चुनावी मैदान छाडे

काठमाडौं । निर्वाचन अघि गर्ने भनिएको महाधिवेशन टार्ने छेकछन्द पार्टी संस्थापनले गरिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् । महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले आगामी निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए । अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् ।कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए । ‘पावर’ले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्नेदेखि एक क्षेत्रमा हार्दा अर्को क्षेत्रमा, एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुञ्जेल क्षेत्र कब्जाको सोच राख्ने र श्वासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने राजनीतिक प्रवृत्ति भत्काउन जरूरी रहेको उनको भनाइ थियो ।यसअघि सहमहामन्त्री पाण्डेले गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका थिए । २६ मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदावर बन्न इच्छुक नरहेको बताएका थिए । बैठकपछि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको प्रतिक्रिया दिएका थिए । निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस बाजुराले पाण्डेको नाम उम्मेदवारको आकांक्षीका रूपमा केन्द्रमा सिफारिस गरेको छैन । उनी प्रतिनिधिसभा निर्वाचन–२०७९ मा बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । जेनजी आन्दोलनका बेला उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री थिए ।


सम्बन्धित समाचार