Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा कति धेरै प्रधानमन्त्री ?

काठमाडौं । सातौं पटक प्रधानमन्त्री बन्न गठबन्धनको टेको लगाएका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न पार्टीभित्रैबाट रोक्न सकिने अवस्था आएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक गठबन्धनका नेताहरूलाई प्रश्न सोधिरहेका छन्–हाम्रो प्रधानमन्त्री उम्मेदवार केपी ओली हुन् । गठबन्धनको उम्मेदवार को हो ? सत्ता गठबन्धन भावी प्रधानमन्त्री कसैलाई पनि घोषणा नगरी चुनावमा उत्रिँदा गठबन्धनको मुख्य घटक कांग्रेसबाटै आधा दर्जनले प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । माओवादी केन्द्रले पनि प्रचण्डलाई भावी प्रधानमन्त्री भनेको छ । ४ मंसिरमा हुने आम निर्वाचनले आगामी पाँच वर्ष देशको नेतृत्व र भविष्य कोर्नेछ । मंसिर ४ को परिणामले देशको नेतृत्व कसले गर्छ भन्ने टुंगो लगाउला ? उम्मेदवारी दर्तासँगै दलहरूमा भने भावी प्रधानमन्त्रीको चर्चा सुरु भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट भावी प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड होलान् भनेर सामान्य अनुमान आम जनताको हुन्छ । तर अहिले अवस्था फरक छ । नेकपा एमालेबाट केपी शर्मा ओली, माओवादीबाट दाहाल निर्विकल्प जस्तै भए पनि नेपाली कांग्रेसमा भने प्रधानमन्त्रीको दाबी गर्ने नेताहरूको लाइन देखिन्छ । आगामी निर्वाचनमा नेकपा एमालेले केपी शर्मा ओलीलाई अगाडि सारेको छ । पार्टीको निर्णय नै गरेर एमालेबाट ओली प्रधानमन्त्रीको एक मात्र र निर्विकल्प उम्मेदवार बनेका हुन् । यस्तै माओवादी केन्द्रबाट पनि पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीको भावी उम्मेदवार भएको नेताहरूले बताइरहेका छन् । माओवादीले औपचारिक रूपमा घोषणा नगरे पनि प्रचण्डविरुद्ध माओवादीमा प्रधानमन्त्रीका लागि दाबी गर्ने हिम्मत कसैले गर्दैनन् । अहिले माओवादीसँग सहयात्रामा रहेका पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाउँदै लगेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट जित निश्चित नभएपछि गोरखा २ पुगेका प्रचण्ड यो पटक जसरी पनि निर्वाचन जित्ने र फेरि एक पटक देशको नेतृत्व गर्ने सपना देखिरहेका छन् । माओवादी नेताहरू भन्छन्, मंसिर ४ को निर्वाचनपछि पहिलो प्रधानमन्त्री प्रचण्ड हुन् । अहिले सरकार र गठबन्धनको नेतृत्व गरिरहेको दलमा भने प्रधानमन्त्रीको आधा दर्जन आकांक्षीहरु देखिएका छन् । ज्योतिषले नै सात पटक प्रधानमन्त्री हुने योग रहेको बताएका देउवा कांग्रेसमा प्रधानमन्त्रीको बलियो आकांक्षी हुन् । डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा निर्वाचन लड्न आइतबार उम्मेदवारी दर्ता गराएका देउवा अहिले प्रधानमन्त्रीको पाँचौँ कार्यकालमा छन् ।
निर्वाचन पछि उनले छैटौँ प्रधानमन्त्रीको कार्यकालका लागि पार्टीभित्र संघर्ष गर्नेछन् । सके एकल बहुमत नभए पहिलो पार्टी बनेर गठबन्धन सरकारको नेतृत्व गर्ने लक्ष्य राखेको कांग्रेसमा देउवाजस्तै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाउने नेताहरूको संख्या बाक्लो छ । वरिष्ठ नेता रामचन्द्र पौडेल एक पटक आफूले सरकारको नेतृत्व गर्ने चाहना रहेको लामो समयदेखि बताउँदै बताएका छन् । तनहुँबाट निर्वाचन लड्न लागेका रहेका पौडेलले एक पटक देशको सेवा गर्न चाहेको आफ्नो सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
उनले हरेक कार्यक्रममा ‘देशको सेवा गर्न चाहन्छु । अरूले बिगार्दै गएका छन् । देश बनाउन मलाई एक पटक मौका चाहियो । भन्दै आएका छन् । मनोनयन दर्ता गर्दैगर्दा आइतबार पनि उनले केही गर्न बाँकी रहेकाले यो उमेरमा पनि सक्रिय छु भन्दै आफ्नो दाबेदारी प्रस्तुत गरे । उनले भने, केही काम बाँकी छ भनेर नै यो उमेरमा सक्रिय राजनीतिमा छु । केही गर्ने मिसन पूरा गर्न बाँकी छ । त्यसैले म तपाईँहरूको अघि छु । कांग्रेसबाट तेस्रो पटक प्रतिनिधिसभा निर्वाचन लड्न आइतबार उम्मेदवारी दर्ता गरेका महामन्त्री गगन थापाले यो पटक आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाएर मतदाता रिझाइरहेका छन् ।
काठमाडौं ४ बाट उम्मेदवारी दर्ता गरेपछि उनले सांसदको रूपमा आफ्नो विकास निर्माणका जिम्मेवारी सम्हालेको उल्लेख गर्दै अबको प्रयास सरकारको नेतृत्व गर्ने रहेको बताए । सांसदका रूपमा बहन गर्ने जिम्मेवारीका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै भने, यो पटक चाहिँ अनुभवको आधारमा मौका पर्दा मूल जिम्मेवारी लिनुपर्छ । उनको चाहना आगामी पाँच वर्ष नेपाली कांग्रेसबाट कार्यकारी भएर देश हाँक्ने हो । अब मूल राजनीतिमा बस्ने प्रयास गर्ने उल्लेख गर्दै थापाले काठमाडौं ४ का मतदाताहरूसँग भने, म यहाँबाट सांसदको रूपमा निर्वाचित भएर गएपछि सांसदको रूपमा पुरा गर्ने जिम्मेवारी छँदैछ। मैले नेपाल सरकारको नेतृत्व गर्ने प्रयत्न गर्छु। मलाई त्यसको लागि अनुभव र जोस मसँग छ ।
थापासँगै १३ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा सहयोग गरेका नेता शशांक कोइराला पनि प्रधानमन्त्रीको दाबी गर्दै चुनाव लडिरहेका छन् । उनले आफ्ना मतदाताहरूलाई यो आफ्नो अन्तिम चुनाव रहेको बताउँदै यो पटकको उम्मेदवारी प्रधानमन्त्रीको लागि हो भनेका छन् । नवलपुर १ मा चौथो पटक उम्मेदवारी दर्ता कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए । पार्टीले निर्णय गर्ने विषय भए पनि आफू यो पटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताए । कोइराला २०६४, २०७० र २०७४ तीन वटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।

पौडेल, गगन, शशांकले देउवालाई भावी प्रधानमन्त्रीको प्रतिस्पर्धामा चुनौती दिइरहेका बेला १३ औँ महाधिवेशनमा सभापतिमा चुनौती दिएका शेखर कोइराला पनि पछि हट्ने पक्षमा छैनन् । उनले भावी प्रधानमन्त्रीको दाबेदार भन्दै आफूलाई मैदानमा उतारेका छन् । मोरङ ६ बाट उम्मेदवार बनेका कोइराला यो पटक चुनाव जित्दै पार्टीको संसदीय दलको निर्वाचनमा देउवालाई टक्कर दिने मुडमा देखिन्छन् । यसको छनक समानुपातिक निर्वाचनको मनोनयन दर्ता र प्रत्यक्षतर्फको टिकट बाँडफाँटको समयमा देखिइसकेको छ ।
पार्टी महाधिवेशनमा देउवालाई सहयोग गरेका नेता प्रकाशमान सिंह पनि आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिरहेका छन् । उनी काठमाडौं १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । कांग्रेसभित्र प्रधानमन्त्रीका दाबी गर्ने आधा दर्जन नै भए पनि देउवाले जसरी सीट बाँडफाँट र टिकट बाँडफाँट गरेका छन्, त्यो हिसाबले बाँकी पाँच जनाको प्रयास भने दाबीमै सीमित रहन सक्छ । कांग्रेसबाट प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ । देउवाले टिकट बाँड्दा नै आफूलाई भोलि दलको नेतामा कसैले चुनौती दिन नसक्ने गरी मिलाएका छन् ।