Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू महाधिवेशनको हतारोमा देखिएका छन् । महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण नहुँदै नेताहरू १५औँ महाधिवेशनका लागि विभिन्न पदको आकांक्षा राख्दै आन्तरिक तयारीमा जुटेका छन् ।
आगामी महाधिवेशनका लागि कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका बनाएको छ । क्रियाशील सदस्यता नवीकरण पूरा भएपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी कांग्रेसको छ । आन्तरिक तयारीस्वरूप महिनौँ अगाडिदेखि नै स–सानो झुण्डमा जिल्ला दौडाहामा निस्किने र आन्तरिक भेटघाटका कार्यक्रम हुँदै आए पनि ‘प्रणय दिवस’ (भ्यालेन्टाइन डे)बाट कांग्रेसका नेताहरूलाई देखिने गरी महाधिवेशनको चटारोले छाएको छ । भ्यालेन्टाइन डे अर्थात् फागुन २ गते संस्थापन पक्षीय ११ भाइ नेताहरूले बूढानीलकण्ठ पुगेर सभापति शेरबहादुर देउवालाई संस्थापन समूहबाट उम्मेदवारबारे चासो राखेपछि कांग्रेसमा महाधिवेशनको सिरेटो चलेको हो । गत महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका, तत्कालीन समयका आकांक्षी नेताहरूदेखि त्यसअघिदेखि नै सभापति देउवासँग रहेर राजनीति गर्दै आएका ११ भाइले भ्यालेन्टाइन डे को छेको पारेर समूहका तर्फबाट भावी सभापतिको खोजी गरेका थिए । जसको नेतृत्व पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए । उनी फागुन २ गते बिहान १४औँमा सभापतिको उम्मेदवारी दिएका पूर्वउपसभापति विलेन्द्र निधि, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपसभापति पूर्णबहादुर खड्का, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा। शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा। प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र एनपी साउदका साथ बूढानीलकण्ठ पुगेका थिए ।
यसअघि नै संस्थापन इतर समूहबाट १४औँमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भने आन्तरिक तयारी थालिसकेका थिए । आशन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेबारे नेता कोइरालाले सार्वजनिक रूपमै अभिव्यक्ति दिइसकेका छन् । महामन्त्री थापाले भने औपचारिक रूपमा घोषणा गरिसकेका छैनन् । तर, थापा सभापतिको दौडमा लागिसकेका उनका गतिविधि र उनीनिकट नेता–कार्यकर्ताका अभिव्यिक्तिले पुष्टि गर्छ । इतर समूहका नेताद्वय कोइराला र थापाले १५औँ महाधिवेशनमा सभापतिका लागि तयारी बढाएसँगै संस्थापन समूहमा पनि भावी सभापतिको खोजी सुरू भएको छ । संस्थापन समूहका ११ भाइ नेताहरूले सभापति देउवासँग आगामी महाधिवेशनका लागि उम्मेदवारको टुंगो लगाउन आग्रह गरेयता महाधविशेनको तयारी स्वरूप तीनवटा गुटगत भेलाहरू भइसकेका छन् । संस्थापन पक्षीय नेताहरूले बूढानीलकण्ठ पुगेर भावी सभापतिको उम्मेदवार खोजी गरेको आठ दिनपछि इतर समूहको नेतृत्व गर्दै आएका डा। कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणासहित जिल्ला दौडाहामा रहेका नेता कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा फागुन १० गते भेला गरेका हुन् । भेलामा गत महाधिवेशनमा कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका पूर्वमन्त्री डा। मीनेन्द्र रिजाल, सह(महामन्त्री जीवन परियार, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीसँगै केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम, सरिता प्रसाईंलगायत नेताहरू सहभागी थिए । त्यही दिन संस्थापन पक्षीय नेता सिटौलाले पनि आफूनिकट नेताहरूलाई चण्डोलस्थित निवासमा बोलाएर आगामी महाधिवेशनबारे छलफल गरेका थिए । सिटौलानिकट नेताहरूको भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको थियो । भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान सहभागी थिए ।
यस्तै पार्टीका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए । १५औँ महाधिवेशनको तयारीमा केन्द्रित रहेर कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष रञ्जि कर्णले पनि यसबीचमा युवा नेताहरूको भेला गरिसकेका छन् । संविधानसभा सदस्यसमेत रहेका कर्णले फागुन ९ गते भक्तपुरको नगरकोटमा ‘नेविसंघ पूर्व केन्द्रीय समिति (२०६८÷२०७३) को पुनर्मिलन’ नाम दिएर भेला आयोजना गरेका हुन् । दुई दिनसम्म चलेको भेलामा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार खत्री, सुवास पोख्रेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, कांग्रेस कैलालीका सचिव केशव मिश्र लगायत उपस्थित थिए ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल