Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस चुनावी तालमेलकै पक्षमा

काठमाडौं । संघ र प्रदेशको चुनावमा पनि काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनलाई सँगै लिएर जाने भएको छ । नेपाली कांग्रेसले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने भएको हो। आगामी प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने निर्णय गरेको हो। पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनका दलहरूसँग संवाद गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
पार्टीलाई आसन्न प्रदेस र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउन गठबन्धनलाई निरन्तरता दिने निर्णय कांग्रेसले गरेको हो। ‘संविधानको रक्षा र लोकतन्त्रलाई थप सुदृढीकरण गर्दै जनताको समुन्नतिका सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ। केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले अहिलेको आवश्यक्तालाई मध्यनजर गरी गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। अधिकांश केन्द्रीय सदस्यहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा धारणा राखेकाले यस्तो निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।