Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको फागुन ७ गतेको चुनावी सभामा प्रमुख वक्ता गगन र विश्वप्रकाश

काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गरेर चुनावी सभाको सुरुवात गर्ने तयारी गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय तय गरेको छ । त्यसबेला हुने सभाहरूका लागि कांग्रेसले वक्ताहरू पनि तय गरेको छ । कांग्रेसमा प्राय निर्वाचन परिचालन समितिको संयोजक प्रमुख वक्ता हुँदै आएका छन् । कांग्रेसले यो निर्वाचनका लागि उपसभापति विश्वप्रकाश शर्मालाई ठुला सभाहरूमा वक्ता बनाउनेछ ।

त्यस्तै यो पटक कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार केन्द्रीय कार्यसमितिबाट घोषणा गरिसकेको छ । तसर्थ सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार थापा र उपसभापति शर्मा निर्वाचन लक्षित सभाका प्रमुख वक्ता हुनेछन् ।

सहमहामन्त्री डा। डिला संग्रौला पन्तले पार्टीले आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार तय गरेकाले सभापति थापा र निर्वाचन परिचालन समितिको संयोजक भएकाले उपसभापति शर्मा चुनावी सभाका प्रमुख वक्ता हुने जानकारी दिइन् ।

भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति र निर्वाचन परिचालन समिति संयोजक उपसभापति चुनावी सभाका प्रमुख वक्ता हुने भन्नेछ, सहमहामन्त्री डा। संग्रौलाले रातोपाटीसँग भनिन्, उपसभापति शर्मा त देशभरका सबै स्थानमा हुने प्रमुख सभामा जाने भन्नेछ । सहमहामन्त्री संग्रौलाले सभापति थापाको माग पनि धेरै स्थानबाट आएको र भ्याएसम्म जाने भन्नेमा रहेको बताइन् ।

कांग्रेसले सभापति थापा र उपसभापति शर्मालाई चुनावी वक्ताका रूपमा देश दौडाहा गराउने तयारी पनि गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालयले त्यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले सभापति र निर्वाचन परिचालन समितिको संयोजकका हैसियतमा उपसभापति प्रमुख चुनावी वक्ताका रूपमा रहने जानकारी दिए । अरु वक्ता हुने स्थान अनुसार फरक–फरक हुनसक्ने चालिसेले बताए ।

सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार एवं निर्वाचन परिचालन समितिका संयोजक निर्वाचन केन्द्रित कार्यक्रमहरूमा प्रमुख वक्ताका रूपमा रहनुहुन्छ, प्रवक्ता चालिसेले भने, बाँकी वक्ता भने स्थान अनुसार फरक–फरक हुन सक्नुहुन्छ ।

ठुला आमसभा र चुनावी समारोहका लागि दलहरूले वक्ता तोक्ने गरेका छन् । कांग्रेसले आयोगले तोकेको प्रचारप्रसारको अवधिमा कति ठुला चुनावी सभा गर्ने र कुन कुन सभामा थापा र शर्मा जाने भन्ने एकिन गरिसकेको छैन । त्यसका लागि तालिका बनाउने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

सभापति थापा आफू सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनी यो पटक नयाँ निर्वाचन क्षेत्रमा पुगेका छन् । २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै जितेका थापा यो पटक त्यो क्षेत्र छोडेर मधेस झरेका छन् । थापाका लागि आफ्नै क्षेत्र नयाँ भएकाले अन्य स्थानका चुनावी सभामा कति जान पाउँछन्, त्यो भने निश्चित छैन ।

थापासँग पुराना सहयात्री तथा २०७९ को निर्वाचनमा कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवार बन्दै जितेका डा। अमरेशकुमार सिंह प्रतिस्पर्धी छन् । डा. सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर त्यही पार्टीबाट उम्मेदवार बनेका छन् ।

उपसभापति शर्मा भने अहिले निर्वाचन लडेका छैनन् । २०७९ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्षतर्फ जितेका शर्माले यो पटक निर्वाचन नलड्ने घोषणा गरेका थिए । शर्माले देशभर चुनाव प्रचारप्रसारमा जाने र पार्टीबाट उठेका उम्मेदवारलाई निर्वाचित गराउन भरपुर रूपमा लाग्ने बताएका छन् ।


सम्बन्धित समाचार

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

२०८२ फाल्गुन २२

ताजा नेपाल