Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति पारित गरेको छ। काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीको धार्मिक नीतिमा परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो।
सम्मेलनबाट पारित निर्णयको तेस्रो बुँदामा नेपालमा सनातनदेखि चलिआएका हिन्दु, बौद्ध, किरात तथा प्राकृत धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने उल्लेख छ।
संविधान संशोधनको बहस अघि बढिरहेका बेला कांग्रेसको इतर समूहले यस्तो नीति अघि सारेको हो। सम्मेलनको चौथो निर्णयमा संविधानमा आवश्यक संशोधन गर्न सम्बन्धित सबै पक्षसँग संवाद गरी संवैधानिक प्रक्रियामार्फत निकास खोज्ने उल्लेख गरिएको छ।
सम्मेलनमा पारित प्रस्ताव तथा प्रतिनिधिबाट प्राप्त सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्न नेता एनपी साउदको संयोजकत्वमा समिति गठन गरिएको छ। साउदका अनुसार अन्तिम दस्तावेजमा धार्मिक स्वतन्त्रता र सनातन धर्मको राष्ट्रिय पहिचानसम्बन्धी विषयलाई थप स्पष्ट पारिनेछ।
साउदले कांग्रेस सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने पक्षमा रहेको स्पष्ट पारे। उनका अनुसार हिन्दु, बौद्ध, किरातलगायत नेपालमा परम्परादेखि चलिआएका धर्मको संरक्षण र संवर्द्धन राज्यले गर्नुपर्नेछ भने अन्य धर्मावलम्बीको धार्मिक स्वतन्त्रता पनि सुनिश्चित हुनुपर्नेछ।
उनले आफूहरू धर्मनिरपेक्षताको वर्तमान अवधारणाको विपक्षमा रहेको समेत बताए। सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषयमा सम्मेलनमा घनिभूत छलफलपछि सहमति बनेको उनको भनाइ छ।
कांग्रेस नेता प्रकाशशरण महतले पनि सभापति शेरबहादुर देउवासहित प्रतिनिधिहरूको सहमतिमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय भएको बताए। उनका अनुसार मुस्लिम, इसाईलगायत सबै धर्मावलम्बीको धार्मिक अधिकार सुरक्षित राख्दै सनातनदेखि चलिआएका धर्मको संरक्षण गर्ने नीति लिइएको हो।
महतले यसलाई कांग्रेसको नयाँ राजनीतिक प्लेटफर्मका रूपमा व्याख्या गर्दै संविधानमा रहेको धर्मनिरपेक्षता र सनातन धर्म संरक्षणको व्यवस्थाबीच देखिएको विरोधाभास हटाउने दिशामा पार्टी अघि बढेको बताए।
राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पारे। उनले आफू हिन्दु परम्पराअनुसार हुर्किएको, व्रतबन्ध र विवाह पनि सोही परम्पराअनुसार भएको तथा पशुपतिनाथको पूजा गर्ने गरेको बताए।
तर आफू हिन्दु भएको भन्नुको अर्थ अन्य धर्ममाथि प्रतिबन्ध लगाउनु नभएको देउवाले स्पष्ट गरे। मुस्लिम, इसाईलगायत सबै धर्म मान्ने व्यक्तिलाई आफ्नो धर्म पालना गर्ने पूर्ण स्वतन्त्रता हुनुपर्ने उनको भनाइ थियो।
देउवाले धार्मिक स्वतन्त्रताको पक्षमा आफू स्पष्ट रहेको बताउँदै प्रत्येक व्यक्तिले आफूले मान्ने धर्मका विषयमा स्वतन्त्र रूपमा धारणा राख्न पाउनुपर्ने बताए।
कांग्रेसले यसअघि भने धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो। २०७५ सालको महासमिति बैठकले धार्मिक स्वतन्त्रता, धार्मिक सहिष्णुता र सबै धर्मप्रति सम्मानको पक्षमा निर्णय गरेको थियो।
त्यस्तै २०८० फागुनमा सम्पन्न महासमिति बैठकले संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयनलाई राष्ट्रिय दायित्वका रूपमा अघि सारेको थियो।
महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा प्रतिनिधिहरूले हस्ताक्षर संकलन गरी दबाब दिए पनि पार्टीले औपचारिक रूपमा उक्त माग स्वीकार गरेको थिएन।
तर अहिले देउवा नेतृत्वको संस्थापन इतर समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेपछि कांग्रेसको धार्मिक नीतिमा महत्वपूर्ण परिवर्तनको संकेत देखिएको छ। पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सम्मेलनका निर्णयलाई तत्काल केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने अवस्था नरहेको र अन्तिम दस्तावेज तयार पार्ने प्रक्रिया अघि बढाइएको नेताहरूले बताएका छन्।
२०८३ भाद्र १
ताजा नेपाल
२०८३ भाद्र १
ताजा नेपाल
२०८३ भाद्र १
ताजा नेपाल