Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षले छुट्टाछुट्टै तयारी अघि बढाएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारीलाई तीव्रता दिँदै चारवटा समिति गठन गरी संयोजक तोकेको छ।
देउवा पक्षबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान मस्यौदा समिति गठन गरेका हुन्।
सचिवालय समन्वय समितिका प्रमुख दीपकप्रसाद कुइँकेलका अनुसार हालसम्म चारवटै समितिका संयोजक तोकिएका छन्।
केन्द्रीय निर्वाचन समितिको संयोजकमा एगराज पोखरेल, सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा, अनुशासन समितिमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईंलाई जिम्मेवारी दिइएको छ।
देउवा पक्षले आफ्नो तयारीअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ। नयाँ क्रियाशील सदस्यता लिनका लागि असोज ९ गतेसम्मको समय तोकिएको छ।
सचिवालय समन्वय समितिका प्रमुख कुइँकेलका अनुसार १४औँ महाधिवेशनमा सहभागी भएका तथा गत पुस १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गरेकाहरूले पनि आगामी अधिवेशनमा सहभागी हुन पाउनेछन्।
देउवा पक्षले वडा तहदेखि नै छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको हो। त्यसका लागि आवश्यक संगठनात्मक तथा व्यवस्थापकीय तयारी अघि बढाइएको जनाएको छ।
देउवा पक्षले केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म गर्ने तयारी गरेको छ। यसका लागि विभिन्न तहमा समिति गठन तथा संगठनात्मक तयारी अघि बढाइएको छ।
यससँगै कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षको तयारी अलग–अलग दिशामा अघि बढेको देखिएको छ।
सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। संस्थापन पक्षको तयारीअनुसार महाधिवेशनको प्रारम्भिक प्रक्रिया असोज ३ र ४ गते वडा अधिवेशनबाट सुरु हुनेछ।
यसरी कांग्रेसभित्र एउटै १५औँ महाधिवेशनका लागि दुई पक्षले फरक–फरक मिति र कार्यतालिकासहित तयारी अघि बढाएपछि पार्टीको आन्तरिक विवाद थप जटिल बन्दै गएको छ।
एकातर्फ देउवा पक्षले मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी संगठनात्मक तयारी अघि बढाएको छ भने अर्कोतर्फ गगन थापा नेतृत्वको पक्षले असोजमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अघि सारेको छ। दुई पक्षबीच सहमतिको प्रयास जारी रहे पनि समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढ्नुले कांग्रेसको विवाद अझै समाधानको दिशामा पुगिनसकेको संकेत गरेको छ।
२०८३ भाद्र ३०
ताजा नेपाल
२०८३ भाद्र ३०
ताजा नेपाल
२०८३ भाद्र २९
ताजा नेपाल