Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा देउवा समूहको धमाधम जिल्ला अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा अघि बढाएको १५औँ महाधिवेशन प्रक्रिया तीव्र पारेको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा देउवा समूहले जिल्ला अधिवेशनहरू धमाधम गरिरहेको छ।

पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा १५औँ महाधिवेशन तयारी समिति गठन गरेको समूहले जिल्ला संयोजक तोकेर अधिवेशन प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षको निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार १ सय वडामा अधिवेशन सम्पन्न भएको छ। १४३ वडामा अधिवेशन हुन बाँकी रहेको महाधिवेशन तयारी समितिको सचिवालय समन्वय प्रमुख दीपकप्रसाद कुइँकेलले बताए।

त्यस्तै, ७ सय ५३ स्थानीय तहमध्ये ४ सय ९७ वटामा पालिका अधिवेशन सम्पन्न भएको छ। अब २ सय ५६ पालिकामा अधिवेशन हुन बाँकी छ। देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय १६ वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २२ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको कुइँकेलले बताए। बाँकी जिल्लामा अधिवेशन जारी छ। दुई वा सोभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा कात्तिक १५ गते अधिवेशन गर्ने तयारी छ।

‘७७ वटै जिल्लामा अधिवेशनको प्रक्रिया जारी छ। सबैलाई समेटेर लैजाने प्रयास गर्दा केही ठाउँमा अधिवेशन गर्न ढिलाइ भएको हो,’ कुइँकेलले भने। उनका अनुसार अधिवेशनमा उत्साहपूर्ण सहभागिता देखिएको छ। नेतृत्व चयनमा सकेसम्म सर्वसम्मतिलाई प्राथमिकता दिइएको छ।

कांग्रेस संस्थापन पक्षले भने असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गरेर नेतृत्व चयन गरिसकेको छ। संस्थापन पक्षले जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको थियो। देउवा समूहले भने संस्थापन पक्षको महाधिवेशनमा प्रतिनिधिमा पराजित भएका धेरै कार्यकर्ता आफूहरूसँग जोडिएको दाबी गरेको छ।

निर्वाचन समितिका संयोजक एकराज पोखरेलका अनुसार जिल्ला अधिवेशन नहुँदासम्म वडा, पालिका र क्षेत्रीय अधिवेशन जारी रहनेछ। देउवा समूहले प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ।

यस समूहले महाधिवेशन प्रतिनिधि छनोटको व्यवस्थामा पनि विधान संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। खुला, महिला, समावेशी, युवा, अपांगता भएका व्यक्ति, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित, सहिद परिवार, विषयविज्ञ तथा श्रमिकलगायत समूहबाट प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ।

देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट मात्रै ५ हजार ७ सय ७५ प्रतिनिधि आउने पोखरेलले बताए। यसबाहेक विभिन्न तहका सभापति, १४औँ महाधिवेशनका पदाधिकारी तथा केन्द्रीय सदस्य, सांसद र स्थानीय निर्वाचनमा रूख चिह्नबाट विजयी उम्मेदवारसमेत प्रतिनिधि हुने व्यवस्था गरिएको छ। देउवा समूहका अनुसार महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या करिब ७ हजार पुग्नेछ।