Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वसँगै पदाधिकारीको संख्या पनि विस्तार गर्ने तयारी भएको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा अघि बढेको कांग्रेसले विशेष महाधिवेशनपछि पार्टीमा समाहित भएका विभिन्न समूहका नेता तथा पदाधिकारीको व्यवस्थापन गर्न विधान संशोधनमार्फत नयाँ पद सिर्जना गर्न लागेको हो।
महाधिवेशनस्थलबाट प्राप्त पछिल्लो विवरणअनुसार कांग्रेसमा हाल रहेका दुई उपसभापतिको संख्या बढाएर चार पुर्याउने प्रस्ताव अघि बढेको छ। चारमध्ये एक जना वरिष्ठ उपसभापति रहने र कम्तीमा एक जना महिला हुने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्याउने तयारी छ।
महामन्त्रीको संख्या भने दुईमै कायम राख्ने प्रस्तावमा सहमति बनेको छ। यसअघि महामन्त्रीको संख्या पनि बढाउनेबारे छलफल भए पनि त्यसमा सहमति जुट्न सकेको छैन। प्रस्तावित संरचना प्रतिनिधिबाट अनुमोदन भएपछि मात्रै नयाँ व्यवस्थाअनुसार पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ।
नयाँ संरचनाअनुसार उपसभापतिमा वरिष्ठ पद सिर्जना गरिने भएकाले वर्तमान उपसभापति विश्वप्रकाश शर्माको व्यवस्थापनको विषय पनि चर्चामा छ। पार्टीभित्र विशेष महाधिवेशनदेखि थापाको नेतृत्वमा रहेका वर्तमान पदाधिकारी तथा त्यसपछि विभिन्न समूहबाट समाहित भएका नेताहरूलाई समेत नयाँ संरचनामा समेट्ने प्रयास भइरहेको कांग्रेस नेताहरू बताउँछन्।
महाधिवेशनमा सहभागी भएका र विभिन्न पदका आकांक्षा राखेका नेताहरूको संख्या बढेपछि नेतृत्वका लागि व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलगायत नेताहरूले पनि उपसभापतिमा दाबी गरिरहेका छन्। आङ्देम्बेले तीन जना उपसभापतिको व्यवस्था भए आफू उक्त पदमा उम्मेदवारी दिने बताएका छन्।
विशेष महाधिवेशनपछि पार्टीमा समाहित भएका नेताहरूलाई पनि पदाधिकारी तथा केन्द्रीय समितिमा समेट्ने तयारी भइरहेको छ। पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सहित विभिन्न समूहका नेताहरूको व्यवस्थापनलाई थापाको नेतृत्वका लागि महत्वपूर्ण विषयका रूपमा हेरिएको छ।
त्यस्तै, महाधिवेशनमा सहभागी नभएका १४औँ महाधिवेशनका केही प्रभावशाली नेताहरू तथा उनीहरूसँग निकट नेताहरूको व्यवस्थापन पनि चुनौतीका रूपमा देखिएको छ। पछिल्लो विवरणअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारीमध्ये नौ जना मात्रै १५औँ महाधिवेशनमा सहभागी भएका छन्।
सहमहामन्त्रीको संख्या बढाएर १३ पुर्याउने प्रस्तावले विशेष महाधिवेशनबाट आएका नेताहरूलाई दोहोर्याउने तथा नयाँ नेताहरूलाई प्रतिस्पर्धामा ल्याउने बाटो खोल्नेछ। कांग्रेसभित्र पदाधिकारीमा आकांक्षीको संख्या बढिरहेका बेला नयाँ संरचनाले व्यवस्थापनमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकारसमेत नयाँ संरचनाअनुसार तय गर्ने तयारी छ। पछिल्लो प्रस्तावअनुसार २३२ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ। ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा महिला र अन्य समावेशी समूहको सहभागिता बढाउने विषय पनि विधान संशोधनमा समेटिएको छ।
पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भए पनि यसपटक विगतमा जस्तो औपचारिक प्यानल बनाएर प्रतिस्पर्धा गर्ने अभ्यास नदोहोर्याउने संकेत कांग्रेसभित्रबाट आएको छ। सभापति थापाले आफूलाई सहयोग गर्ने र पार्टीभित्र विभिन्न धारलाई समेट्न सक्ने गरी टिम निर्माण गर्ने तयारी गरेको नेताहरूको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको हो। करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी महाधिवेशनमा बन्दसत्रमार्फत विधान संशोधन, नीति तथा सांगठनिक विषयमा छलफल हुँदैछ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।
२०८३ आश्विन १९
ताजा नेपाल
२०८३ आश्विन १८
ताजा नेपाल
२०८३ आश्विन १८
ताजा नेपाल