Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा युवा देखिँदा जेनजी उत्साहित

काठमाडौं । गगन थापा र विश्वप्रकाश शर्माले विद्रोह गरेर कांग्रेसको नेतृत्व हातमा लिएपछि जेनजी अगुवाहरू उत्साहित भएका छन्। राजनीतिक दलहरूमा नीति र नेतृत्व परिवर्तन हुँदा आफ्नो पुस्तामा आशा पलाएको उनीहरूको भनाइ छ। कांग्रेसको विशेष महाधिवेशनभन्दा केही दिनअघि मात्र केही जेनजी प्रतिनिधिले गगन थापालाई भेटेका थिए। उनीहरूले जेनजीका म्यान्डेटहरूलाई दलले पनि मान्नुपर्ने माग गरेका थिए। आफूहरूले उठान गरेका कुरालाई समेटेर विशेष महाधिवेशनमार्फत गगन–विश्वले अघि बढाएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका हुन्। गगनले आफ्नो राजनीतिक प्रतिवेदनमा दलहरूले भित्र्याएको विकृतिका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै त्यसका सन्देशलाई ग्रहण गर्ने प्रतिबद्धता जनाएका छन्। थापा र शर्माको विद्रोहले पार्टीभित्रको नातावाद र मनपरी अन्त्य गरी सुशासनमा सघाउने उनीहरूको अपेक्षा छ। जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बम गगन थापा र विश्वप्रकाशले उचालेको कदमबाट जेनजीहरू आकर्षित र आशावादी भएको बताउँछिन्। हाम्रो आन्दोलनको माग नै यही थियो, रिफर्म भनिरहन्थ्यौं। हाम्रो आन्दोलनको मर्म बुझेर ठ्याक्कै नेतृत्व परिवर्तन अथवा यथास्थितिवादबाट बाहिर निस्किनको लागि गगन र विश्वले जे गर्नुभयो, यो त एकदमै स्वागतयोग्य हो हाम्रो लागि। हामीले यो कुरालाई एकदम सकारात्मक रुपमा हेरेका छौँ, रक्षाले भनिन्। रक्षा अन्य दलहरूले पनि यस्तै बाटो अपनाऊन् भन्ने चाहन्छिन्। रक्षा भन्छिन्, ‘अहिले कुनै दलभित्र नभएका जेनजी साथीहरूले दल सुध्रिरहेको देखे। भोलिको दिनमा मूलधारको राजनीतिमा आउँदा ती दलहरूसँग सहकार्य गर्दै अगाडि बढ्न सकिन्छ, यदि उहाँहरू सुध्रिएर अगाडि आउनुभयो भने। भोलिका दिनमा थापा र शर्मासँग सहकार्य गर्न आफूलाई गाह्रो नलाग्ने तर राजनीतिक रुपमा सहकार्यको लागि भने कुनै योजना बनाइनसकेको रक्षाले बताइन्। काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ भने गगन–विश्वले अत्यावश्यक विद्रोह गरेको तर्क गर्छन्। भन्छन्, लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको लागि कहिलेकाहीँ विद्रोहहरू आवश्यक पर्छ, जुन कुरा कांग्रेसले देखायो। विशेष महाधिवेशनपछिको परिवर्तनले उपार्जुनको ध्यान खिचेको छ। यसबाट आफू प्रभावित भएको उनी बताउँछन्। कांग्रेसले चालेको कदमले जवाफहीनता, दण्डहीनता, परिवारवाद, नातावाद, अधिनायकवाद, सेटिङ लगायतका विकृति अन्त्य गरेर जवाफदेहिता, आन्तरिक लोकतन्त्र, सुशासनको ढोका खोल्ने आशा उनले व्यक्त गरे। जेनजी आन्दोलनको मर्मलाई सम्मान गर्दै कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्नुभयो। उहाँहरूले पार्टीलाई लतारेरै भए पनि विशेष महाधिवेशनको परिस्थितिमा पुर्‍याउनुभयो, सलाम छ उहाँहरूलाई, उनले भने। जेनजी अभियन्ता भावना राउतले नेपाली कांग्रेसभित्र देखा परेको नयाँ वैचारिक लहर र पुस्तान्तरण अहिलेको आवश्यकता नै भएको बताइन्। पार्टीभित्र हुर्कंदै गरेको लोकतान्त्रिक अभ्यास र नेतृत्वलाई प्रश्न गर्न सक्ने युवाहरूको साहसको उनले प्रशंसा गरिन्। यो लोकतान्त्रिक पार्टी हो, खुलेर नआउनु भएका साथीहरू पनि अब कांग्रेसमा खुलेर आउनु हुन्छ होला, यो राम्रै कुरा हो, भावनाले भनिन्। उनले हाल आफूले सबै दलहरूलाई नजिकबाट नियालिरहेको र सोही अनुसार कुन दलमा जाने भनेर पनि प्रस्ट हुने बताइन्। समावेशिताका मुद्दा, युवा, जेनजीका मर्म लगायतका कुरालाई ध्यानमा राखेको दललाई नै प्राथमिकता दिने भावनाले बताइन्। जेनजी अभियन्ता तनुजा पाण्डे कांग्रेसभित्र आएको नयाँ पुस्ताको नेतृत्व र वैचारिक परिवर्तनले निकै उत्साहित छिन्। यसले कांग्रेस अब कार्यकर्ताको मात्र नभई सम्पूर्ण नागरिकको साझा चौतारी बनेको सामाजिक सञ्जालमार्फत बताएकी छन्। युवा नेताको उदयले जमेको पोखरी नदीमा परिणत भएको भन्दै लोकतन्त्रलाई अझै सुदृढ बनाउने अपेक्षा समेत उनले राखेकी छिन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल