Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस–नेकपा सत्ता सहकार्य अझै अनिश्चित

काठमाडौं । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सम्भावित सत्ता सहकार्यबारे औपचारिक सहमति अझै भएको छैन। नेकपाले कांग्रेस–एमाले गठबन्धन औपचारिक रूपमा अन्त्य भएको निर्णय सार्वजनिक भएपछि मात्रै नयाँ सत्ता समीकरणबारे निर्णायक वार्ता अघि बढाउने संकेत दिएको छ।

तीनदिने श्रीलङ्का भ्रमण सकेर आइतबार स्वदेश फर्किएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति गगन थापाबीच निरन्तर संवाद भइरहेको भए पनि दुवै पक्षले तत्काल कुनै निष्कर्षमा नपुग्ने समझदारी बनाएका छन्।

प्रचण्ड आइतबार अपराह्न ४ बजे नेपाल फर्किएपछि नेताहरूसँग प्रारम्भिक छलफल गरेका थिए। त्यसलगत्तै कांग्रेसलाई एमालेसँगको गठबन्धनबारे औपचारिक निर्णय भएपछि मात्रै विस्तृत वार्ता गर्नुपर्ने सन्देश पठाइएको नेकपा स्रोतले जनाएको छ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार कांग्रेस–एमाले गठबन्धन टुटेको औपचारिक निर्णय नआएसम्म नयाँ सत्ता सहकार्यबारे छलफल अगाडि बढ्ने अवस्था छैन।

उनले भने, “सबैसँग संवाद भइरहेको छ। कांग्रेससँग पनि सामान्य छलफल स्वाभाविक हो। तर गठबन्धन परिवर्तनबारे उहाँहरूले औपचारिक निर्णय गरिसक्नुभएको छैन। त्यसैले हाम्रो तर्फबाट पनि कुनै निष्कर्षमा पुग्ने प्रश्न उठ्दैन।”

आचार्यका अनुसार नेकपाको प्राथमिकता गठबन्धन फुटाउनु नभई दलहरूबीच सहमति कायम गराउनु हो। यदि वर्तमान गठबन्धन टिक्न नसक्ने अवस्था आयो भने मात्रै नयाँ विकल्पबारे छलफल गरिनेछ।

उता कांग्रेसका महामन्त्री गुरु घिमिरेले पनि एमालेसँगको सहकार्यबारे औपचारिक निर्णय हुन बाँकी रहेको बताए। उनका अनुसार लोकतान्त्रिक शक्तिहरूसँग संवाद जारी रहे पनि नयाँ सत्ता समीकरणबारे अन्तिम निर्णय पार्टी बैठकपछि मात्रै हुनेछ।

उनले एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा पार्टी पुगेको दाबी गर्दै नेकपासँग सकारात्मक संवाद भइरहेको बताए। प्रदेश सरकारहरूलाई स्थानीय आवश्यकताअनुसार निर्णय गर्न दिने विकल्पबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे।

माधव नेपालसँगको भेट स्थगित

श्रीलङ्काबाट फर्किएपछि प्रचण्ड र नेकपाका सहसंयोजक माधवकुमार नेपालबीच आइतबार भेट हुने तयारी थियो। तर नेपाल बिरामी परेपछि भेट सोमबारका लागि सरेको छ।

नेकपा स्रोतका अनुसार प्रचण्डले माधव नेपालसँग सत्ता सहकार्यको सम्भावित मोडालिटी, प्रदेश सरकारहरूको अवस्था तथा पार्टीको रणनीतिबारे छलफल गर्ने तयारी गरेका छन्। त्यसपछि मात्रै कांग्रेससँग थप संवाद अघि बढ्नेछ।

नेकपाभित्र भने सत्ता सहकार्यबारे एकमत देखिएको छैन। केही नेताहरूले प्रदेश सरकारहरूलाई स्थानीय आवश्यकता अनुसार निर्णय गर्न स्वतन्त्र छाड्नुपर्ने मत राखेका छन् भने अर्का पक्षले प्रतिपक्षमै बसेर आगामी निर्वाचनको तयारी गर्नुपर्ने धारणा व्यक्त गरिरहेको छ।

नेकपा नेता राजेन्द्र पाण्डेका अनुसार प्रदेश सरकारहरू सञ्चालन गर्नै नसक्ने अवस्था सिर्जना भए मात्रै कांग्रेससँग सहकार्यको विकल्प खुला रहनेछ। प्रचण्डनिकट नेताहरूले पनि तत्काल सरकारमा सहभागी हुनुभन्दा पार्टीलाई सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्।

केन्द्रको निर्णयको प्रतीक्षामा प्रदेश

कोशी, कर्णाली, सुदूरपश्चिमसहित अधिकांश प्रदेशका नेताहरू केन्द्रबाट स्पष्ट राजनीतिक लाइन आउने प्रतीक्षामा छन्। प्रदेश सरकारको भविष्यबारे केन्द्रको निर्णयले नै दिशा तय गर्ने उनीहरूको भनाइ छ।

कोशी प्रदेशका नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोले केन्द्रले स्पष्ट निर्देशन नदिएसम्म प्रदेशहरूले स्वतन्त्र रूपमा निर्णय गर्न कठिन हुने बताए।

कांग्रेस स्रोतका अनुसार एमालेसँगको गठबन्धन औपचारिक रूपमा अन्त्य भए नयाँ सत्ता समीकरणको मोडालिटीमा विस्तृत छलफल हुनेछ। प्रारम्भिक रूपमा नेकपालाई तीन प्रदेश र कांग्रेसलाई चार प्रदेशको नेतृत्व दिने विषयमा अनौपचारिक संवाद भए पनि त्यसबारे कुनै सहमति भएको छैन।

कांग्रेसका नेताहरूका अनुसार सोमबार बस्ने पदाधिकारी बैठकले गठबन्धनबारे औपचारिक निर्णय लिन सक्छ। त्यसपछि मात्रै नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।