Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काजीले बाटो छाडेपछि झक्कुको पल्लाभारी

काठमाडौं । काँग्रेससँगको सत्ता गठबन्धनलाई रातारात एमालेको पोल्टामा पुर्याउने राष्ट्रियसभा अध्यक्षका लागि माओवादीभित्र रस्साकस्सी शुरु भएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा झक्कु सुवेदीलाई अघि सार्ने तयारी गरेको छ। उपाध्यक्ष उर्मिला अर्याल र अर्का सांसद नारायण दाहाल पनि अध्यक्ष बन्ने कसरतमा छन्। तर, अर्याल र दाहाल दुवैको कार्यकाल दुई वर्ष मात्र बाँकी छ। माओवादीले पूरै अवधि भएकालाई उम्मेदवार बनाउन लागिएको बताइन्छ । तीमध्ये सुवेदी प्रमुख दाबेदार हुन्। त्यसो त नुवाकोटका श्रीकृष्ण अधिकारीको नाम पनि चर्चामा छ। नेताहरूले उनको पक्षमा लबिइङ गरिरहेकै छन्। यसबारे शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा पनि छलफल भएको थियो। ६ वर्षे कार्यकाल भएकै व्यक्तिलाई उठाउनुपर्ने धारणा शनिबारको बैठकमा उठेको थियो। सुवेदीलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनेबारे मोटामोटी सहमति भइसकेको बताइएको छ । माघ ११ गतेको चुनावबाट माओवादीका ५ जना ६ वर्षे कार्यकालका लागि जितेर राष्ट्रिय सभामा पुगेका छन्। त्यही भएर स्थायी समिति सदस्य झक्कु सुवेदीलाई उम्मेदवार बनाउने लाइन बलियो बन्दै गएको ती पदाधिकारीको दाबी छ। सुवेदी लुम्बिनीबाट निर्वाचित भएका हुन्। अध्यक्षको चुनाव फागुन २९ गते तय भएको छ। हाल राष्ट्रिय सभामा ५८ सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने विज्ञ एक सिट रिक्त छ। राष्ट्रिय सभामा १८ सांसदसहित पहिलो दल रहेको माओवादी केन्द्रले एमाले–रास्वपा–जसपसहित नयाँ गठबन्धन बनाएपछि अध्यक्ष पाउने सहमति छ। यो गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ।