Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा बर्डफ्लू नियन्त्रणका लागि प्राविधिक टोली परिचालन

काठमाडौं,  पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गर्दै रोग नियन्त्रण तथा निगरानीलाई तीव्र बनाएको छ।

विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गर्दै सङ्क्रमणको निगरानी बढाएको जनाएको छ। काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा सङ्क्रमणको जोखिम उच्च देखिएकाले नियन्त्रणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए।

उनका अनुसार करिब तीन महिनाअघि देखिएको बर्डफ्लू सङ्क्रमण हालसम्म ११ जिल्लामा फैलिसकेको छ। हालसम्म करिब एक सय कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमण पुष्टि भएका फार्ममा रहेका पन्छी, अण्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ।

विभागले प्रभावित क्षेत्रका किसानलाई कम्तीमा डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायकलगायत क्षेत्रमा रहेका फार्ममा बर्डफ्लू पुष्टि भएको छ।

बर्डफ्लूको प्रभावकारी उपचार तथा खोप उपलब्ध नभएकाले सङ्क्रमित पन्छी नष्ट गर्नु नै नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको विभागले जनाएको छ। बर्डफ्लू मानिसमा पनि सर्न सक्ने सम्भावना रहेकाले पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सतर्कता अपनाउन महानिर्देशक दाहालले आग्रह गरेका छन्।

बर्डफ्लू नियन्त्रण तथा समन्वयका लागि विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय बर्डफ्लू समन्वय समिति गठन गरिएको छ भने जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समन्वय समिति सक्रिय बनाइएको छ।

  1. नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा सम्बन्धित जिल्लाका समितिले निर्धारण गरेको दररेटअनुसार किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए।