Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं र पोखरामा हिन्दी चलचित्रको प्रदर्शन रोक

काठमाण्डौ । काठमाडौं र पोखरा महानगरमा सोमबारबाट भारतीय चलचित्र प्रदर्शन रोकिएको छ । शुक्रबारबाट प्रदर्शित चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद सच्चाउन दबाबस्वरुप दुईवटा महानगरले सबै हिन्दी चलचित्रको प्रदर्शन रोकेका हुन् । महानगरको आदेशपश्चात् काठमाडौं र पोखराका हल सञ्चालकहरुले ‘आदिपुरुष’सँगै प्रदर्शनरत अर्को हिन्दी फिल्म ‘जरा हटके जरा बचके’लाई पनि उतारेका छन् । यी दुई ठूला शहरबाहेकका सिनेमा हलमा भने भारतीय चलचित्र चलिरहेका छन् ।
काठमाडौं महानगर प्रमुख बालेन शाहले गत बिहीबार फेसबुकमार्फत् चलचित्रको भ्रमपूर्ण संवाद भारतमा तीन दिनभित्र नसच्चाएको खण्डमा काठमाडौं महानगरभित्रका हलमा कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने चेतावनी दिएका थिए । तर, निर्माण कम्पनीले चलचित्रको मूल अंशबाट उक्त संवाद नसच्चाएपछि मेयर शाहले पूर्वचेतावनी अनुसार सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन रोकेका हुन् ।
उनले आइतबार फेसबुकमा लेखेका थिए, ‘चलचित्रवाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै भारतीय चलचित्र प्रदर्शन गर्न भोलि आजदेखि निषेध गरिएको छ ।’ नेपालको संविधानको धारा ५ र ५६ को उपधारा ६ ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बुँदालाई टेकेर बालेनले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका हुन् ।
मेयर शाहले ‘आदिपुरुष’को संवादलाई लिएर सम्पूर्ण हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेपछि आइतबार चलचित्रको निर्माण कम्पनी सुपर कसेट्स इन्डस्ट्रीज लिमिटेडले बालेन र चलचित्र विकास बोर्डलाई पत्र पठाएर चलचित्रमा सीता माताको जन्म स्थानको बारेमा कुनै सन्दर्भ उल्लेख नभएको स्पष्टिकरण दिँदै आम नेपालीको भावनामा ठेस पुगेको भए क्षमा समेत मागेको छ ।
मेयर शाहको सिको गर्दै आइतबार पोखरा महानगरपालिकाले ‘आदिपुरुष’को संवाद नसच्चाएसम्म भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । चलचित्रमा समावेश सीतासम्बन्धी संवाद नसच्चिएसम्म सबै भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै पोखराका मेयर धनराज आचार्यले स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाएका थिए ।