Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादपछि उत्पन्न परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको नेताहरूले बताएका छन्। सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि यस्तो धारणा सार्वजनिक भएको हो।
देउवा पक्षका नेता प्रकाशशरण महतले अदालतको निर्णय आफूहरूको अपेक्षाअनुसार नआएको बताउँदै अब कानुनी बाटो समाप्त भएको उल्लेख गरे। उनका अनुसार पार्टीभित्रको राजनीतिक समस्या अझै समाधान भइसकेको छैन र यसको समाधान गर्ने जिम्मेवारी अहिलेको नेतृत्वमा आएको छ।
महतले कांग्रेसको एकता अहिलेको मुख्य आवश्यकता भएको भन्दै संवादमार्फत समस्याको निकास खोज्नुपर्ने बताए। उनले आगामी १५औँ महाधिवेशनसम्म सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
यस्तै, शेखर कोइराला निकट नेता जीवन परियारले पनि सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे। उनले सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग छलफल गरेर सबैलाई समेट्ने वातावरण बनाउनुपर्ने बताए।
देशको चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै कांग्रेसलाई एकताबद्ध बनाउने थप जिम्मेवारी थापामा आएको परियारको भनाइ छ। उनले थापाले उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।
यसैबीच, पार्टीको कार्यसम्पादन समितिले पनि पूर्व पदाधिकारीहरूसँग संवाद गर्न सभापति थापालाई जिम्मेवारी दिएको छ। सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार छिट्टै संवाद प्रक्रिया सुरु गरिनेछ र असन्तुष्ट पक्षलाई सम्मानका साथ पार्टीमा समेटिनेछ।
महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरेले अदालतको निर्णयलाई हार वा जितका रूपमा नलिन आग्रह गर्दै पार्टी एकता कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनीहरूले विगतका विवादलाई बिर्सेर आगामी महाधिवेशनलाई एकता र उत्साहका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
करिब तीन महिनासम्म चलेको कानुनी विवादपछि सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन थापा नेतृत्वलाई वैधता दिएको हो। गत पुस अन्त्यमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल