Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कानुन सबैलाई बराबर : सरकारका प्रवक्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिवार बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बराबरी लाग्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ । विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शंका नगर्न उनले आग्रह गरे । मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गरे । एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्य संयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरूको नैतिकता कहाँ गयो ? उनले प्रश्न गरे । सुशासनमाथि आक्रमण नगर्न उनले चेतावनीसमेत दिए ।
मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न कांग्रेसलाई सुझाव दिए । हामीले अहिलेसम्म ऋण लिएका छैनौं तर हाम्रो क्षमता ३४ प्रतिशतसम्म लिनसक्ने छ, उनले भने । मन्त्री बाँस्कोटाले उत्पादनको संघर्ष समाजवादतर्फ जाने बाटो भएको बताए । सामाजिक र आर्थिक रुपान्तरणबिना समाजवाद स्थापना हुन सक्दैन, समाजवादमा न्याय प्रणाली वितरणको पनि संघर्ष हुन्छ, उनले भने ।