Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कान्तिको लापरबाही रोकिएन, ७ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । मुलुकको एक मात्रै बालबालिकाको उपचार गर्ने सरकारी अस्पताल कान्ति बाल अस्पातालले गरेका लापरबाहीले कलिला बालबालिकाको अकालमा ज्यान जानेक्रम रोकिएको छैन । अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ। उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपचारमा सरोकार राख्दै आएका लक्ष्मण दत्त सुवेदीले जानकारी दिएका छन्। गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ। गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरुको दाबी छ। मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए। तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएका थिए। कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काइँदा बालिकाको अवस्था अझ गम्भीर बनेको उनले बताए। सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ। बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि कान्ति बाल अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै पीआईसीयू बेड नभएका कारण बिरामी फर्काउनुपरेको दाबी गरेको थियो। कान्तिले बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको विरोध भएपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले बिरामीलाई चेकजाँच नगरी फिर्ता पठाउन नमिल्ने बताउँदै उक्त घटनाको छानबिन हुने बताएका छन् ।