Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काले – काले मिलेर खाउँ भाले सक्नेलाइ पद छैन, श्रीमान र कार्यकर्तालाइ नियुक्ति

१४ पुस, हेटौंडा । बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति दिलाएका छन् ।

नियुक्तिको सूचीमा कांग्रेस नेता एवम् सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीका श्रीमान् समेत छन् । मन्त्री खड्गीका श्रीमान् प्रकाश टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्ष नियुक्त भएका छन् ।

बागमती प्रदेशका १२ अस्पतालहरुमध्ये कांग्रेस(एमालेले ६–६ वटा भागबन्डा गरेका छन् । प्रदेशका स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐन, २०७५ पहिलो संशोधन जारी भएपछि मंसिर २७ गते तथा पुस ८ र ९ गते ११ वटा अस्पतालको अध्यक्षमा नियुक्त गरिसकेको छ ।

कांग्रेसले काठमाडौं, भक्तपुर, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा एमालेले चितवन, धादिङ, काभ्रे, रामेछाप, दोलखा र ललितपुर लिने गरी सहमति गरेका छन् ।

सो सहमति अनुसार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा प्रकाश खड्गी, भक्तपुर अस्पतालमा प्रदेशका पूर्वसांसद शशीजंग थापा, नुवाकोटको त्रिशूली अस्पतालमा उपेन्द्र बुढाथोकी नियुक्त भएका छन् ।

नुवाकोटकै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकार नियुक्त भएका छन् । यसैगरी रसुवा अस्पतालमा विवश श्रेष्ठ र सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरी नियुक्त भएका छन् ।

यसैगरी एमालेको भागमा परेका चितवनको बकुलहर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य, धादिङ अस्पतालमा राधिका सापकोटा र काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाल नियुक्त भएका छन् ।

यसैगरी रामेछाप अस्पतालमा यमकुमार पाख्रिन, दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल र ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरे नियुक्त भएका छन्

११ पुसमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् सीटीईभिटीको प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको थियो । उनी मुख्यमन्त्री लामाको जोडबलमा नियुक्त भएको स्रोतको दाबी छ ।

सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे संयोजकत्वको सिफारिस समितिले सीटीईभीटीको निर्देशक नियुक्तिका लागि नुवाकोटकी लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो । मन्त्री खड्गीले दाहालको पक्ष लिए पनि मुख्यमन्त्री लामाको जिल्लाकी शान्ति लामा नियुक्त भइन् ।

यसअघि मुख्यमन्त्री लामाकै जोडबलमा प्रदेश खेलकुद विकास परिषद्मा पनि नुवाकोटकै दीपक लामा नियुक्त भएका थिए ।

 


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल