Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको तीन वर्ष पूरा हुँदैछ । ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित भएका थिए । महाधिवेशनमा डा। शेखर कोइरालालाई पराजित गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका थिए । कोइराला सभापतिमा पराजित भए पनि उनको समूहबाट चुनावी मैदानमा होमिएका धनराज गुरुङ र गगन थापा क्रमशः उपसभापति र महामन्त्रीमा निर्वाचित भएका थिए । तर, महाधविशेनमा एकै समूहबाट प्रतिस्पर्धामा उत्रिएका उनै कोइराला र थापाबीच यतिबेला दूरी बढेको चर्चा कांग्रेसवृत्तमा चुलिएको छ । पछिल्लो समय नेता कोइराला र महामन्त्री थापा सार्वजनिकरुपमा एउटै मञ्चमा उभिएको दृष्य बिरलै देखिन्छ । मंसिर १८ मा इतर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला आयोजना गर्दा महामन्त्री थापा अनुपस्थित थिए । तथापि, थापा शनिबार बिराटनगरमा हुने कोशी प्रदेश सम्मेलनमा सहभागी हुनेछन् । शेखर र गगनलगायतका नेताहरूबीचको सम्बन्ध १४ औँ महाधिवेशन सकिएको एक वर्षसम्म राम्रैैसँग चल्यो । उनीहरूले मिलेरै ०७९ पुस ६ मा संसदीय दलको निर्वाचनमा सभापति देउवाविरुद्ध प्रतिस्पर्धा गरे । भलै, चुनावी परिणाम आफूअनुकूल बनाउन भने सकेनन् । संसदीय दलको नेताका लागि देउवालाई चुनौती दिएका महामन्त्री थापाले कूल खसेको ८९ मतमध्ये २५ मत मात्र पाए । संस्थापन इतर समूहले गरेको अपेक्षाविपरीत चुनावी परिणाम आयोे । किनभने, ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जितेका भनिएका इतर समूहका ३२ सांसदमध्ये ७ जनाले थापाको पक्षमा मतदान नगरेको विश्लेषण तत्कालीन समयमा भएको थियो । तर, संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको परिणाम प्रतिकूल आए पनि इतर समूहले यसबारेमा कहिल्यै समीक्षा गरेन । यहीँबाट कोइरालासँग थापाको मन भाँचिन थालेको कांग्रेस नेताहरु बताउँछन् । संसदीय दलको चुनावमा आफूमाथि अन्तरघात किन भयो र आफ्नै समूहका सांसदले किन मत दिएनन् भन्नेबारे डा. शेखर कोइरालाले समीक्षा गर्नुपर्ने थियो, तर वास्तै नगरेको गुनासो थापानिकट नेताहरुको छ । कतिपय नेताहरू चाहिँ ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणको प्रक्रियाबाटै कोइराला र थापाबीचको सम्बन्ध चिसिन सुरु भएको दाबी गर्छन् । दुई नेताबीच दुरी बढेको भनिए पनि १४ औँ महाधिवेशनमा एकसाथ उभिएका नेता कोइराला र महामन्त्री थापाले आपसी सम्बन्धबारेमा सार्वजनिकरुपमै चाहिँ केही भनिहालेका छैनन् । तर, पछिल्लो समय शेखर कोइरालाले महामन्त्री थापासँगको सम्बन्ध र आगामी सहकार्यका बारेमा एक टेलिभिजनसँगको अन्तर्वार्तामा केही सांकेतिक अभिव्यक्ति दिए ।०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ समीकरण बनेपछि सभापति देउवा प्रधानमन्त्रीबाट बाहिरिनुपरेको थियो । उनी सत्ताबाट बाहिरिएसँगै धुम्बाराही तत्कालीन निजी निवास मा नेता कोइरालाको आउजाउ बढ्न सुरु भयो । ०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणदेखि दुई नेताबीचको भेटवार्ताले तीव्रता पाउन सुरु गरेको नेताहरु बताउँथे । महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवाले पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकहरुमा पनि आमन्त्रण गर्दै आएका छन् । त्यसअघि आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले शीर्षतहका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउँदा कोइराला भने छुट्ने गर्दथे । तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि नेता कोइराला सभापति देउवाकै ‘लाइन’ मा उभिएका थिए । आफ्नै समूहबाट महामन्त्रीमा निर्वाचित थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराए पनि कोइराला विश्वासको मत दिने ‘लाइन’ मा सभापति देउवासँगै उभिए । ०७९ गत माघ ८ गते बत्तिसपुतलीमा बसेको इतर समूहको बैठकमा शेखरले विश्वासको मत दिएर गल्ती गरिएको अभिव्यक्ति दिएको समाचार बाहिरिएको थियो । तर, माघ ९ गते धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कोइरालाले विश्वासको मतबारे आफूले बोल्दै नबोलेको कुरा बाहिर आएको प्रष्टीकरण दिएका थिए । उनले माघ ९ गते देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो नभनेको प्रस्टीकरण नै दिएका थिए । उक्त बैठकपछि नेता कोइरालानिकट मानिने सहमहामन्त्री बद्री पाण्डेले पनि विश्वासको मतबारे सञ्चार माध्यममा आएजस्तो समूहको बैठकमा कुरा नउठेको दाबी गरेका थिए । समूहको बैठकमा भएको छलफलबारे सञ्चार माध्यममा त्यस्तो समाचार आएपछि इतर समूहले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको भोलिपल्ट अर्थात माघ १० का लागि तय गरिएको बैठक अन्तिम समयमा आएर स्थगित गरेको थियो । उक्त बैठक सभापति देउवाको आग्रहमा नेता कोइरालाले स्थगित गरेको चर्चा चलेको थियो ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल