Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट लज्जाजनक रुपमा कमल थापा पराजित बनेका छन् । पराजित बनेपछि सामाजिक सञ्जालमा उनले आफूलाई निर्मल निवासले हराएको भन्दै विष बमन गरेका छन् । कमल थापा त्यस्ता पात्र हुन् जो मरिचमान सिंहको मन्त्रिमण्डलमा रहँदा भारतीय दूतावासलाई मन्त्रिमन्डलको सम्पूर्ण निर्णय सम्प्रेषण गर्ने भारतीय जासुसी निकायका भित्रिया पात्र पनि थिए । पछिल्लो चरणमा रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटालाई समाप्त गर्न पूर्व राजा ज्ञानेन्द्रका सचिवहरू र वरिपरिको सञ्जालले नै थापालाई परिचालन गरेका थिए । पहिलो संविधानसभामा राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका संस्थापक अध्यक्ष रविन्द्रनाथ शर्माले अहिलेको निर्वाचनमा राजतन्त्र विरुद्ध विष वमन गरिएकोले निर्वाचनमा जान उचित नहुने, हिन्दू राष्ट्र र राजतन्त्रको एजेन्डा बाहिर बसेर उठाउने प्रस्ताव गरे । जब भारतीय राजदूत श्याम शरणले कमल थापासँग याक एन्ड यति होटलमा दुई घण्टा वार्तालाप गरे कमल थापा रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटासँग तपाईंहरू आउट डेटेड भइसक्नु भएको छ मलाई छोडिदिनुस्, दरबारको साथ मलाई छ भनेर गए ।
ततपश्चात रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटाले राप्रपा नेपाल छाडिदिए । हजुरबुबा सिपाही, बाबु कर्णेल र दाजु जर्नेल भएका सैनिक पृष्ठभूमिबाट आएका कमल थापालाई पञ्चायतकालमा पनि दरबारको निर्देशनमा चुनाव हार्ने भएपछि बाकसै साटेर जिताएको चर्चा त्यतिबेलाका अनुभवी पुराना पञ्च राजनीतिकर्मीहरू बताउँछन् । दोस्रो संविधानसभामा संसदको चौथो ठूलो शक्ति भएको राप्रपा नेपालको नेतृत्व कमल थापाले त गरे तर उनले संविधान निर्माणका क्रममा क्रिश्चियनहरूको ९ करोड खाएर धर्मनिरपेक्ष संविधानमा हस्ताक्षर गरे । ततपश्चात् एकातर्फ हिन्दू राजा र धर्मको नाम बेच्ने अर्कोतर्फ धर्मनिरपेक्ष संविधानको सपथ खाएर उपप्रधानमन्त्री र यो संविधानलाई संसारको उत्कृष्ट संविधान भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा भाषण गर्दै हिँडे । पञ्चायतकालका कुख्यात मण्डले कमल थापाको असली अनुहार दोस्रो संविधानसभापछि जब सत्तामा गए निर्वस्त्र हुन पुगे । यस घटनापछि राजाप्रति आस्था राख्नेहरू स्वाभाविक रुपमा कमल थापा प्रवृत्तिसँग एकातर्फ चिढिएका थिए भने अर्कोतर्फ राजेश्वर देवकोटा र रविन्द्रनाथ शर्मालाई कमल थापा लगाएर अपमान गरेको अपराधबोध पनि गर्दै थिए ।
यही अवस्थामा गत निर्वाचनमा उनको दल राजेन्द्र लिङ्देनबाहेक सबैले काँग्रेससँग गठबन्धन गरे । तर सर्वनाक पराजित भए । यहाँसम्मकी संसदको चौथो ठूलो पार्टी बनेको राप्रपा नेपाल राष्ट्रिय पार्टी पनि बन्न सकेन । यहाँसम्मकी क्रिश्चियनहरूको पैसा खाएर पछिल्लो चरणमा मकवानपुरमा कमल थापा चर्च उद्घाटन गर्न समेत पुगे । यो कुरा सामाजिक सञ्जालमार्फत् राजा महेन्द्र र वीरेन्द्रको समयमा राष्ट्रिय पञ्चायतमा मनोनित गरिएका पूर्व पञ्च दीर्घराज प्रसाईले सार्वजनिक गरिदिए । यसरी थापाका कर्तुतहरू एकपछि अर्को रुपमा नांगिंदै गएपछि उनी पछिल्लो चरणमा अत्तालिन पुगेका थिए । राप्रपाको वर्तमान महाधिवेशनमा भारत र पश्चिमको समर्थन कमल थापालाई राम्रै थियो । दरबार हत्याकण्डमा दीपेन्द्रकी प्रेमिकाको रुपमा प्रचार गरिएकी देवयानी राणाका बाबु पशुपतिसमशेर राणाले अन्तिम समयमा काँचो नेतृत्वलाई स्वीकार गर्न नसकिने भन्दै कमल थापाको पक्षमा वक्तव्य नै जारी गरे । निरञ्जन थापादेखि दीपक बोहोरासम्मका रअ र भारतसँग निकट रहेका नेताहरू कमल थापाकै पक्षमा थिए । अर्कोतर्फ आफूलाई बाहिर बुद्धिष्ट देखाउने तर काम क्रिश्चियनको गर्ने धादिङका बुद्धिमान तामाङ प्रवृत्तिका नेताहरू पनि कमल थापाकै पक्षमा थिए । यति हुँदाहुँदै पनि कमल थापा पराजित हुनु सामान्य कुरा होइन । अर्कोतर्फ महाधिवेशन उद्घाटनको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो गोत्र एउटै भएको अभिव्यक्ति दिनु धर्म निरपेक्ष संविधान निर्माणमा कमल थापाको महत्वपूर्ण योगदान रहेको कुरालाई पटक पटक उजागर गर्नुले पनि कमल थापाको विपक्षमा जनमत र जनप्रतिनिधिहरूको माहौल बढ्न गयो ।
आफूलाई हराउनेको सूचि तयार गर्दै थापा
एकता महाधिवेशन भनिएको राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनले कमल थापा युगको अत्य गरेपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण आफू पराजित हुनुपरेको निष्कर्ष निकालेका छन् । महाधिवेशनको परिणामपछि होटल याक एन्ड यतिमा भएको आफू पक्षीय केही नेताहरूसँगको बैठकमा थापाले यस्तो निष्कर्ष निकालेका हुन् । थापालाई राप्रपाबाट किनार लगाउन निर्मल निवासबाटै मानिसहरू परिचालित गरिएको निष्कर्षसहित थापाले उनीहरूको सूची नै तयार पारेको बताइन्छ । बैठकमा पराजयका अनेक कारण भए पनि निर्मल निवासका मान्छे नै परिचालित भएर निर्वाचनमा होमिनुलाई मुख्य मानिएको छ । उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रको सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकसमेत थापालाई हराउन लागेका थिए । उनीहरूले महाधिवेशनमै आएर थापालाई हराउने षड्यन्त्रमा संलग्न भएको दाबी ती नेताले गरेका छन् ।
२२७ मतान्तर
साविक अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गरे । चार दिनसम्म चलेको महाधिवेशनले लिङदेनलाई कमाण्ड सुम्पिएको हो । अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकोमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको थियो । ४३१ मत बदर भएको छ । यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नेछन् ।
पाण्डेले ल्याए सर्वाधिक मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भए । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् ।
महामन्त्रीमा रेखा पराजित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापालाई पराजित गरी कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।
प्रसन्न रेखा थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका पराजित रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् । कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ, थापाले भनिन्, म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रुपमा म प्रसन्न छु । राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन् । चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन् । थापाको बुझाई राप्रपा महाधिवेशनमा आफुलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो ।
पदाधिकारीमै अल्पमतमा लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीको हेभी वेट कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी बने । तर, पदाधिकारीमै अध्यक्ष लिङ्देन अल्पमतमा छन् । केन्द्रीय समितिमा पनि कमल थापा पक्षको बलियो उपस्थिति छ । राजेन्द्र लिङ्देनलाई अध्यक्षमा हराउन राप्रपाका हस्तीहरू कमल थापा, पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । त्यो गठजोड यस पटक असफल सावित भयो । पार्टीभित्रको समीकरणले नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई अघि बढ्न त्यति सजिलो देखिँदैन । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कमिटीमा महाधिवेशनले पदाधिकारीसहित १४९ जनालाई निर्वाचित गरेको छ । यसमध्ये कमल थापा पक्षको बलियो उपस्थिति छ । तर, अध्यक्ष लिङ्देनले विधानअनुसार अब ५० जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्न पाउने छन् । अब मनोनीत गर्ने कार्य पूरा भएपछि केन्द्रीय समितिमा लिङ्देन सुविधाजनक बहुमतमा पुग्ने अवस्था आउँछ । विधानअनुसार राप्रपाको उपाध्यक्षमा महिलासहित ४ जना, महामन्त्रीमा महिलासहित ३ जना निर्वाचित हुनेछन् भने बाँकी पदाधिकारी पछि मनोनयन गरिनेछ । अध्यक्षसहित पदाधिकारीको ८ पदमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्रीमा धवल शमशेर राणामात्रै विजयी भएका छन् । दुवै पक्षले आफ्नो प्यानलमा खुलेका विक्रम पाण्डे कता खुल्छन्थाहा छैन । पाण्डे अध्यक्ष लिङ्देनकै पक्षमा खुले पनि पदाधिकारीमा कलम थापा पक्षको बहुमत पुग्छ । पदाधिकारीमा थापा पक्षबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङले विजय हासिल गर्दा महिला उपाध्यक्षमा कमल थापा समूहकै रोशन कार्की विजयी भएका छन् ।
ज्ञानेन्द्रमाथि पराजयको दोष
राप्रपाको अध्यक्षमा आफूलाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाए । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् । ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना’ थापाले हारपछि सामाजिक सञ्जालमा यस्तो लेखेका छन् । थापा अगाडि लेख्छन्, प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु ।
कमलकी छोरी र गणेशका छोरा विजयी
कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले २३औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् । मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् । यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी प्रतिष्ठा एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी कमल थापाकी कान्छी छोरी हुन् । थापाका दुई सन्तानमध्ये जेठी छोरी प्रलिता पनि राजनीतिमा सक्रिय थिइन् । उता, कमल थापाका भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाका गणेश थापाका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन् । अभिषेकले १३२७ भोट ल्याएका छन् ।
राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु
काँग्रेसका उपसभापति तथा सभापतिका दाबेदार विमलेन्द्र निधिले राजनीतिक नेतृत्व पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिँदै निधिले संविधानको सफल कार्यान्वयनमा राप्रपाले सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् । राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पु¥याउनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु, निधिले भनेका छन् ।
राजसंथा र हिन्दू राष्ट्रको पक्षमा लाग्ने प्रतिबद्धता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन् । राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ । र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ । जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ, लिङ्देनले भनेका छन् । उनले राप्रपाको कमिकमजोरी सच्चाएर काँग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने लिङदेनले बताएका छन् । ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा रहेको भन्दै उनले यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल