Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन सुध्रिने प्रयास गर्दैनन् प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले आफूले गल्ती गरेको स्वीकार गरेका छन्। उनले पार्टीको महाधिवेशनको बन्द सत्रमा सोमबार वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी शान्ति प्रशियामा आएपछि आफूले मुख्य रुपमा ३ वटा गल्ती गरेको स्वीकार गरेका छन्। प्रतिवेदनमा उनले आफ्नै आत्मसमीक्षा गरेको बताएका छन्। प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि आफ्नो पार्टी चुनाबमा सहभागी हुन तयार भएको बताइएको भए पनि खासमा चुनाबमा जाने भन्ने कुरा तत्कालीन समयमा ‘देखाउने दाँत’ मात्र भएको खुलासा गरेका छन्।
उनले त्यतिबेला आफू ‘मुखमा चुनाव मनमा विद्रोहको नीति लिएर अगाडि बढेको र यो कुरा आफ्नो गल्ती भएको बताएका छन्। उनले प्रतिवेदनमा आफू चुनावलाई मात्र केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने र विद्रोहलाई प्राथमिकता नदिनुपर्ने थियो भनेका छन्। प्रतिवेदनमा प्रचण्डले ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो’ भनेका छन्। प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती भएको स्वीकारेका छन्।
उनले तत्कालीन समयमा सेना समायोजनलाई आफ्नो व्यक्तिगत व्यवसायिक सम्झौता जस्तो गरी लिएर अगाडि बढेको खुलासा गर्दै भनेका छन् ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो।’ प्रचण्डले प्रचण्डपथलाई अकस्मात् स्थगित गर्नुलाई पनि गल्ती भएको स्वीकार गरेका छन्। उनले यसबारेमा पार्टीमा कुनै छलफल नगरिएको स्वीकार गर्दै यसरी एक्लै निर्णय गर्नु गलत भएको स्वीकारेका छन्। उनले पार्टीमा यसबारे छलफल नगरिएको विषयमा भनेका छन् ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपर्थ्यो, विचार थियो भने छलफल गर्नुपर्थ्यो ।’
प्रचण्डले गल्ती स्वीकार त गरेका छन् तर यी गल्ती गरिसकेपछि आफू कसरी सुध्रिने भन्ने विषयमा भनेका छैनन्। यतिसम्म कि प्रचण्डले आफूलाई यी कुराहरु आफूले गरेका गल्ती हुन् भन्ने कहिले महसुस भयो भन्ने समेत उल्लेख गरेका छैनन्। र, यी कुराहरु गल्ती हुन् भन्ने महसुस भइसकेपछि यी गल्तीहरुलाई सुधार गर्नको लागि आफूले अहिलेसम्म के गरे भन्ने विषयमा पनि उल्लेख गरेका छैनन्। उनको प्रतिवेदनमा आफ्ना गल्ती औंल्याइएका छन् तर ‘गल्ती भयो, सकियो’ जस्तो शैलीमा। प्रचण्डले यसरी गल्ती स्वीकार गरेको पहिलो पटक होइन। उनले यसअघि पनि पटक(पटक गल्ती स्वीकार गर्दै आएका छन्। ३ महिनाअघि मात्र पनि प्रचण्डले एक कार्यक्रममा ‘जनता र कार्यकर्ता बिग्रिएका होइनन्, पार्टीका शीर्ष नेता बिग्रिएका हुन्’ भनेका थिए। प्रचण्ड आफैं पार्टीको शीर्ष नेता हुन्, उनी पार्टी अध्यक्ष हुन्। केही वर्षअघि अर्को एक कार्यक्रममा पनि प्रचण्ड जिब्रो चिप्लिएर अलि बढी नै बोलेका थिए।
पछि उनले आफूले ‘मजाक गरेको’ समेत भन्न भ्याए। प्रचण्डले बेलाबेलामा गल्ती गर्ने गरेका छन्। उनले गल्ती गरेको आफैंले पटक(पटक स्वीकार गर्ने गरेकाले पनि उनले गल्ती गरेका थिए भनेर अरुले औंल्याइदिनुपर्ने आवश्यकता छैन। तर, गल्ती गरेको आफैंले महसुस गर्नु भनेको आफू ब्याकफुटमा जानु हो। नेतृत्व र जिम्मेवारीमा रहँदा गल्ती गरेका कारण ब्याकफुटमा जानु भनेको नेतृत्व, जिम्मेवारी वा पद त्याग गर्नु हो। ‘नैतिकताको आधारमा राजीनामा दिनु’ भनेको यही हो। प्रचण्ड स्वयंले कैयौं पटक धेरै जनासँग ‘नैतिकताका आधारमा राजीनामा’ मागेका छन्।
तर, उनी स्वयंमा भने त्यो ‘नैतिकता’ देख्न पाइएको छैन। प्रचण्डले पार्टी प्रमुखको जिम्मेवारी पाएको २०४५ सालमा हो। तत्कालीन नेकपा ९एकता केन्द्र० का महामन्त्री मोहन वैद्य ‘किरण’ ले सशस्त्र विद्रोहको सुरुवात गर्ने प्रयास गरेका थिए। तर, यो प्रयास असफल भएपछि वैद्यलाई तत्कालीन समयमा आफूले गल्ती गरेको महसुस भयो। गल्ती महसुस भएपछि वैद्यले ‘नैतिकताका आधारमा’ राजीनामा दिए। वैद्यको राजीनामापछि नेकपा ९एकता केन्द्र० का महामन्त्री बनेका प्रचण्ड अहिलेसम्म नेतृत्वमा छन्। २०५१ सालमा एकता केन्द्रले राष्ट्रिय सम्मेलनपछि पार्टीको नाम नेकपा ९माओवादी० बनाएको थियो। त्यसयता पार्टी एकता, विभाजन, नाम परिवर्तनका धेरै चरणबाट गुज्रिए पनि प्रचण्डले नेतृत्व त्याग्न चाहेका छैनन्।
वैद्यलाई प्रचण्डका राजनीतिक गुरु मानिन्छ। वैद्यले नैतिकता देखाएकै कारण प्रचण्ड पार्टीको शीर्ष पदमा पुगेका हुन्। भलै केही वर्षपछि प्रचण्ड अन्य तरिकाले नेतृत्वमा पुग्न सक्थे होला। तर, तत्कालीन समयमा वैद्यले आफैं गल्ती गरेर पद त्याग्न नचाहेको भए प्रचण्ड पार्टीको नेतृत्वमा पुग्न अझै कैयौं वर्ष कुर्नुपर्ने थियो। आफ्ना राजनीतिक गुरुले गल्ती महसुस गरेर पछि हटेको इतिहास प्रचण्डको अगाडि साक्षी छ। त्यही कारण आफू पार्टीको शीर्ष पदमा पुगेको प्रचण्डले पक्कै बिर्सिएका छैनन्। तर, प्रचण्ड आफू भने गल्ती महसुस गर्छन् तर सुध्रिन चाहँदैनन्। प्रचण्डका कुराहरु पटक–पटक निकै विरोधाभाषपूर्ण देखिने गरेका छन्। जस्तो कि उनी आफूलाई सर्वहाराको नेता भन्छन्। सर्वहारा वर्गको नेताको जीवनशैली सामान्य हुनुपर्ने हो।
प्रचण्डका अग्रज कम्युनिस्ट नेताहरु मोहन वैद्य, मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे लगायत अझै पनि सामान्य जीवन बाँच्छन्। भलै प्रचण्ड पार्टीको आकार र राजनैतिक भूमिकाका आधारमा शक्तिशाली होलान् तर बरिष्ठताका हिसाबमा हेर्ने हो भने यी नेताहरुको राजनैतिक विरासत कमजोर छैन। प्रचण्ड अग्रजहरुभन्दा फरक छन्। उनी विलासी छन् तर आफूलाई सर्वहाराको नेता भन्न छाड्दैनन्। प्रचण्ड आत्मकेन्द्रित छन्। जनयुद्धकालमा पार्टीभित्र ‘सुप्रिम कमाण्डर’को रुपमा शक्ति अभ्यास गरेर आएका उनी अझै पनि पार्टीभित्र आफूले चाहेजस्तो प्रणाली लागू गर्न खोज्छन्।
उनी पार्टीका निर्णयहरुमा हावी हुने गरेका छन्। अहिलेको प्रतिवेदनमै पनि प्रचण्डले स्वीकार गरेका गल्ती हेर्ने हो भने सबैमा मुख्य कुरा ‘पार्टीमा छलफल नगरेको’ भन्ने पाइन्छ। अर्थात उनी कुनै पनि कुरामा आफ्नो निर्णय लाद्न खोज्छन्, अरुलाई विश्वास गर्दैनन्। प्रचण्ड आफूलाई जे लाग्छ त्यही सही हो भन्ने ठान्छन् र अरुमाथि विश्वास गर्दैनन् भन्ने कुरा उनको आफ्नो सुरक्षाप्रतिको डरबाट पनि प्रस्ट हुन्छ। किनकि, प्रचण्डले राज्यको सुरक्षा प्रणालीमा समेत विश्वास गर्दैनन्। प्रचण्डले आफ्नो सुरक्षाका लागि राज्यले दिएका सुरक्षाकर्मीबाहेक पनि हतियारधारी सुरक्षा दस्ता राखेका छन्। रोचक त के भने देशमा उनी मात्रै पूर्व प्रधानमन्त्री होइनन्। पूर्व प्रधानमन्त्री र पार्टीका अध्यक्ष दुवै भएका अरु पनि नेता छन्। तर, आफ्नो बेग्लै सुरक्षा दस्ता राख्ने प्रचण्ड मात्रै हुन्।